पहिलोपटक साइपाल गाउँपालिकामा एकीकृत घुम्ती शिविर सञ्चालनमा, स्थानीयले भने ‘बल्ल गाउँमा सिंहदरबार आयो’

 चैत २१, २०७५ बिहिबार १३:३०:४७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – जिल्लाको सबैभन्दा दुर्गम गाँउपालिका साइपाल गाँउपालिकामा पहिलो पटक एकीकृत घुम्ती शिविर सञ्चालन भइरहेको छ । पहिलो पटक शिविर सञ्चालन हुँदा यहाँका स्थानीयबासिन्दा निकै खुसी भएका छन् । 

झण्डै तीन दिनको पैदल यात्रामा पुग्न सकिने साइपाल गाँउपालिका वडा नम्बर ४ को धुलीमा बिहीबारदेखि शिविर सुरु भएको हो । यसअघि नागरिकता मात्रै लिन पनि यहाँका स्थानीयले ६ दिन पैदलयात्रा गरी ३५ हजार रकम खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । 

शिविरबाट नै नागरिकता पाउँदा स्थानीय अहिले निकै खुसी छन् । प्रमुख जिल्ला अधिकारि सुरेश सुनारले पहिलो पटक साइपाल गाँउपालिकामा घुम्ती शिविर सञ्चालनमा ल्याउनुभएको हो । प्रमुख जिल्ला अधिकारी सुनार शिविर सञ्चालनका लागि धुलीमा  पुग्दा स्थानीयले फूलमाला, बाजागाजासहित सम्मान गरेका छन् । आफूले नागरिकता लिँदा ३५ हजार खर्च गरेको बताउँदै साइपाल गाँउपालिका वडा नम्बर ४ का स्थानीय अस्मान रोकायाले अहिले ढोकामा नै शिविर आउँदा निकै खुसी लागेको र अहिले छोराको नागरिकता बनाउन आफूले भोगेजस्तो समस्या भोग्नुनपरेको बताउनुभयो ।

‘छोराको नागरिकता बनाउनका लागि पैसाको जोहो गर्दै थिए नागरिकता शिविर घरमा नै आएपछि अब ढुक्क भएको छु ।’ उहाँले भन्नुभयो । 

सदरमुकाम जाने बाटो पनि त्यति नै जाखिम छ । नागरिकता लिन जाँदा पनि ज्यान नै जाखिममा राखेर जानुपर्छ । केही वर्ष पहिला मात्रै सैन गाउँका कालू बोहराको सदरमुकाम चैनपुरबाट काम सकेर घर फर्किने क्रममा बोङ्च्या भन्ने ठाउँमा भीरबाट लडेर ज्यान पनि गएको थियो । 

‘सदरमुका जानका लागि भिर पाखा पहरा र जंगलको बाटो भएर हिड्नु पर्ने हुन्छ हामी जस्ता महिलाहरूलाई त झन समस्या हुन्छ’ स्थानीय काली देवी रोकायाले भन्नुभयो ‘महिलाहरु त जस्तोसुकै समस्या परे पनि सदरमुकामसम्म जान नै सक्दैनौँ ।’

‘ठूला हाकिमहरू तपाईँका गाउँमा आउँदै छन् भन्ने सुन्दा के आउलान् र भन्ने विश्वास नै लागेको थिएन बेलुक साँच्चै गाँउमा उहाँहरु आइपुग्दा  अचम्म लाग्यो । यहाँका ९० वर्ष भन्दा बढी उमेर भएका बुढापाकाहरूले समेत नागरिकता बनाएको छैन । अब उनीहरूले पनि नागरिकता पाउने भए ।’ उहाँले भन्नुभयो । 

यता प्रमुख जिल्ला अधिकारी सुनारले यस्तो दूर्गम ठाउँ छ भन्ने कल्पनासमेत नगरेको र आफू यहाँ आइपुग्दा निकै नै अचम्म लागेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुनारले भन्नुभयो ‘काम सबैले गर्ने हुन तर आफूलाई फरक तरिकाले काम गर्ने विचार आएको र अहिलेसम्म यो ठाँउमा कोही पनि नगएको भन्ने सुनेपछि पहिलो टार्गेट नै आफूले साइपाल गाँउपालिका बनाएको र यहाँ काम गर्न आएको बताउनुभयो । 

घुम्ती शिविरमा स्वास्थ्य, वन, पशु, फोटासहितको मतदाता नामावली, अपांग परिचय पत्र र विभिन्न सिफारिसहरूलगायत सबै सेवाहरू यहाँ स्थानीय बासिन्दाले पाउने भएका छन् । शिविरमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भुवनराज पन्तसहितको टोलीसमेत साइपाल गाउँपालिकामा पुगेको छ ।

साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामिले आफ्नो ठूलो प्रयास पछि जिल्लाका प्रमुख व्यक्तित्वहरू आफ्नो ठाउँमा ल्याउन सफल भयको बताउनुभयो । यसअघि धेरैलाई हामीले हार–गुहार गरेका थियौँ कसैले पनि मानेनन् ।

प्रमुख जिल्ला अधिकारी सुनारलाई पहिलो पटकको आग्रहमा नै उहाँ आउनुभयो ।  हामीलाई सजिलो भयो  । स्थानीयले बल्लमात्र स्थानीय सरकार आएको र गाउँ गाउँमा सिंहदरबार आएको बताएका छन् । शिविर धुली, काँडा र धलौनमा सञ्चालन हुने छ । शिविर २४ गतेसम्म सञ्चालन हुनेछ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया