नारायणगढ–मुग्लिन सडकमा १२ घण्टा अलपत्र पर्दा...

 असार १४, २०७५ बिहिबार ८:५९:७ | भावुक योगी
unn.prixa.net

असार १२ गते मंगलबार बिहानसम्म पोखरा पुग्नुपर्ने थियो । बर्दियाको भुरीगाउँबाट अघिल्लो दिन दिउँसो ३ बजे पोखराका लागि गाडी छुट्यो । कोहलपुरबाट ५ बजेतिर सुर्खेत सहकर्मी मुना हमाल पनि त्यही बसमा चढ्नुभयो । पोखराका लागि हिँडेको बस १२ गते बिहान ४ बजे नारायणगढबाट पार भयो । मुग्लिन नजिकै पुग्न लाग्दा बस जाममा रोकियो ।

बसका चालक मुग्लिन पुग्न ५ किलोमिटर मात्र बाँकी छ भन्दै थिए । हामीभन्दा अघि रहेका गाडी लाइनमा थिए । एकैछिनको जाम त होला भन्दै थिए बसका चालक । त्यत्तिकैमा चालकले बिहान २ बजेतिर ठूलो पहिरो गएको छ, बाटो खुल्न समय लाग्छ भनेपछि सबै यात्रु बसबाट ओर्लिए ।

बिहानको ५ बज्यो, ६ बज्यो, ७ बज्यो । बाटो खुल्ने पत्तो भएन । म र साथी मुना बसबाट ओर्लियौँ जाम खुल्ने समय पत्ता लगाउन । न दिसापिसाब गर्ने ठाउँको टुंगो छ, न पिउने पानी र खाजा खाने ठाउँ । सडकभरी मान्छे । महिला, केटाकेटी, बिरामी, ज्येष्ठ नागरिक, जन्तीदेखि सबै यात्रु सडकमै अलपत्र । 

जामको बीचमा साइरन बजाउँदै रोकिएको एम्बुलेन्सभित्र बिरामी छटपटाइरहेका देखिन्थे । बिरामीका आफन्त सडक कहिले खुल्छ भनेर सोधीखोजी गर्ने, अनि खुइय सुस्केरा हालेर भगवान पुकार्दै एम्बुलेन्सबाट झर्ने र चढ्ने गर्दै थिए । जन्ती हिँडेकाहरु पनि कुनबेला जाम खुल्छ र पुगिन्छ भन्दै थिए ।

बैदेशिक रोजगारीका लागि घरबाट हिँडेकाहरु जहाज छुट्ने भयो भनेर आतिँदै थिए । सबैका आ–आफ्नै समस्या, बेलैमा गन्तव्यमा पुग्नुपर्ने बाध्यता । तर छिटै अगाडि बढ्ने ठाउँ थिएन ।

हामी चढेको बस रोकिएको ठाउँबाट झण्डै १५ मिनेटको हिँडाईपछि अलि पर सडक छेउमा केही पसलहरु देखिए । कोही चिया र चना खाँदै थिए, कोही अण्डा र चाउचाउ । हामी पनि पसलभित्र गयौँ । चना, चाउचाउ के छ खाउँ न भन्दै शौचालय कता छ भनेर सोध्यौँ । पसलेले शौचालय देखाए, तर पालो पाईने सम्भावना देखिएन ।

पुरुषभन्दा महिलाहरु धेरै थिए लाईनमा । मुनाजी केहीबेर पर्खिनु भयो, तर पालो पाइएन । ५, ७ वटा पसल चाहार्दा पनि शौचालय पस्न पाइएन ।

त्यसपछि पानी किनेर फेरि पहिरो खसेको ठाउँतर्फ फर्कियौं । झण्डै आधाघण्टाको हिँडाईपछि अर्को ठाउँमा पसलहरु भेटिए । पसलमा गएर पानी खायौँ । चाउचाउ पकाउन भन्यौँ । शौचालय गयौं । शौचालय गएको २० रुपैँयासहित चाउचाउ र पानीको २ सय रुपैँया तिरेर फेरि पहिरो भएको ठाउँतर्फ लम्कियौं ।

पहिरो खसेको ठाउँमा बिहान ९ बजेतिर पुग्दा दुईवटा स्काभेटर निकै गतिमा पहिरो पन्छाउँदै थिए । पैदल ओहोरदाहोर समेत भएको थिएन । पहिरो खसेको झण्डै ५० मिटर यतै ठूलो भिड थियो । साना गाडी, मोटरसाइकल र सयौं यात्रु पहिरो खसेको नजिकमा थिए । बसबाट ओर्लिएका यात्रुलाई नजिक नआउन र भिडभाड नगर्न प्रहरीले आग्रह गर्दै थिए । सडकको पहिरो पन्छाउन भन्दै आएका सरकारी कर्मचारी पनि यात्रुलाई नजिक नआउन हर्कादै थिए । कि कुनै अप्रिय घटना नहोस् भन्नका लागि ।

‘मेरो मान्छे सिकिस्त छ एकापट्टिबाट भएपनि बाटो खुलाईदिएर यम्बुलेन्स जानदिए हुन्थ्यो नि’ एक महिलाले प्रहरीसँग आग्रह गर्दै थिइन् ।

‘मेरो साढे दुईबजे विदेशको प्लेन टिकट छ सकिन्छ एकतर्फी गाडी पठाईदिनुस, सकिंदैन पैदल भए पनि जान दिनुस् न,’ निलो कोट लगाएका झण्डै २८ देखि ३० वर्ष उमेरका हातमा ठूलो झोला बोकेका एक युवाले प्रहरीसँग आग्रह गरे ।

सेतो टिसर्ट निलो जिन्स पाईन्ट लगाएकी गहुँगोरी अर्की एक युवतीले ‘मेरो कलेज छ आज परीक्षा पनि छ जान दिनुस न’ भनिन् । तर प्रहरीले दिन सक्ने जवाफ नै थिएन । 

त्यहाँ रहेका प्रहरी र पहिरो हटाउन पुगेका सडकका कर्मचारी कसैले पनि यतिबेलासम्म सडक खुल्छ भन्न सकेनन् । सुख्खा पहिरो देख्दा लाग्थ्यो, अबको दुई घण्टाभित्र सडक खुल्छ । ११ बजेभित्र पहिरो पन्छिन्छ र गन्तब्य पुगिन्छ भन्ने आश बोकेर फर्कियौँ ।

बस रोकिएको ठाउँसम्म फर्किँदा १० बजेको थियो । भोक लागेपनि पसलमा खानेकुरा पाइएन । बालबालिका, वृद्धवृद्धा र महिलाहरु सडक किनारमा पल्टिरहेका, धार्मिक भ्रमणमा हिँडेकाहरु दाउराको जोहो गरेर खाना पकाईरहेका, ट्रक चालकहरु पनि ट्रक मुनी स्टोभ बालेर खाना पकाईरहेका देखिन्थे । कोही सडकमै तास खेलेर अनि कोही त्रिशूली नदीको वारिबाट पारितिर ढुंगा फाल्ने प्रतियोगिता गरेर पनि रमाईरहेका थिए ।

सडकका दायाँबायाँ किनारभरी आँपका बोक्रा, चाउचाउ र बिस्कुटका खोल । खाली बोतलले गर्दा फोहोरै फोहोर, गाडीको लामो लाईन मान्छको भिड, कुनबेला खुल्छ हे भगवान भन्नेहरु मात्रै सडकभरी ।

बस भएको ठाउँमा पुगेलगत्तै बसका चालकले भने — तपाईँहरु पत्रकार हुनुहुँदो रैछ, पहिरो हटाउन काठमाडौँमा ठूला नेता या प्रहरीका ठूला मान्छेलाई फोन गरेर भनिदिनुहोस् न, त्यो पहिरो हटाउन त ठेकेदारको लापरवाहीले गर्दा यति ढिलो भएको रे । हैन भने हामीलाई साथ दिनुस् सबै बसका चालक र यात्रुहरु गएर दबाब दिउँ ।

तर भोकभोकै हिँडेर दबाब दिन कसैले आँट गरेनन् । कोही बसभित्रै सुत्छन्, फेरि उठेर गफ गर्छन् । कोही मोबाईलमा फोन गर्दै अझै जाममा छौँ भनेर आफन्त र साथीभाइलाई खबर गर्दै थिए ।

बिहान २ बजे खसेको पहिरो पन्छाउन दिउँसो साढे ४ बजेसम्म लाग्यो । सडक खुलेपछि हामी चढेको बस साढे ५ बजेतिर मुग्लिन हुँदै पोखरातर्फ गुड्यो ।

भर्खरै नयाँ बनेको चौडा सडक । तर पहाडबाट कुनबेला पहिरो झर्छ भन्ने पत्तो नहुँदो रहेछ । कहिलेकाहीँको यात्रामा हिँडेका हामीले एकदिन मात्रै भोगेको पीडा हो योे । काठमाडौंलाई जोड्ने मुख्य राजमार्गमा हरेक दिनजसो खस्ने पहिरोका कारण यस्तो पीडा भोग्ने कति होलान् ? 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया