‘गर्भपतनलाई कानुनी मान्यता दिनु ठिक हो, तर जथाभावी गर्भपतन गराउनु हुँदैन’

 चैत २४, २०७५ आइतबार १७:५:४ | विना न्याैपाने
unn.prixa.net

जथाभावी गर्भपतनले समस्या बढाउँदै लगेको छ । गर्भपतनको लागि निश्चित कानुनी मापदण्ड छ । तर कानुन विपरीत र कानुनी मापदण्डको गलत फाइदा उठाउँदै गर्भपतन गर्ने प्रवृत्ति बढ्न थालेको छ ।

जथाभावी गर्भपतन र यसको जोखिमबारे साथी विना न्यौपानेले जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीसँग कुराकानी गर्नुभएको छ:

१८ वर्षअघि गर्भपतनसम्बन्धी कानुन आयो । यसले फाइदा गरेको छ कि बेफाइदा ?

महिलाहरुमा आफ्नो शरीरमा आफ्नै अधिकार हुनुपर्छ भनेर म र मेरा साथीले १८ वर्ष पहिला पहल गरेका थियौ‍ँ । गर्भपतनले कानुनी मान्यता पनि पायो । त्यसको अर्थ थियो, अब महिलालाई नचाहिएको गर्भ फाल्नुपर्ने अवस्थामा सजिलो होस् । तर अहिले त्यही प्रकृया गलपासो बनेको छ । अहिले किशोरीहरुले जथाभावी गर्भपतनको बाटो रोजेका छन् ।

परिवार नियोजनका अरु अस्थायी साधनको प्रयोग नगरी गर्भपतनलाई नै सजिलो उपाय बनाएका छन् । त्यसले महिलाको स्वास्थ्यमा ठूलो समस्या ल्याउन सक्छ । गर्भपतन भैसकेपछि महिलाहरुमा शरीरमा आफ्नो अधिकार हुन्छ भन्ने  बुझाउन सक्यौँ, तर आफ्नो शरीरप्रतिको जिम्मेवारी के हुन्छ भनेर बुझाउन नसकेको  हो कि जस्तो लाग्दैछ । त्यसले कति असर गर्छ भन्ने कुरा बुझाउन सकेनौँ । गर्भपतनलाई कानुनी मान्यता दिनु ठिक हो, तर गर्भपतनलाई जथाभावी प्रयोग गर्न दिनुहुँदैन भन्ने मेरो मान्यता हो । 

के कारणले गर्दा यस्तो विकृति बढिरहेको छ ? 

अहिले गर्भपतनलाई सहज रुपले कानुनी मान्यता दिइएपछि धेरै किशोरीहरुले  अब मैले कसैसँग सम्बन्ध राखेँ भने पनि सहज रुपमा नै पतन गराउन पाउँछु भन्ने गलत बुझाइ भयो ।

अर्को कुरा सरकारले जताततै सहज र सर्वसुलभ गरेका छौँ भनेको छ । त्यसमा सहजता भए पनि जथाभावी रुपमा गर्नु हुँदैन भनेर सरकारले भन्न सकेन । हामीहरु जस्तो डाक्टर नर्सहरुले पनि जनचेतना जगाउन सकेनौँ । 

अर्को कुरा अहिले जुन नौ हप्ताभन्दा कम उमेरको गर्भपतन गराउन विभिन्न खालको औषधिको सेवन गर्छन्, हो औषधिको सेवनले तुहिन्छ । तर यसले असर के गर्याे भन्दा किशोरीहरुले गर्भपतनको लागि सामान्य रुपमा लिन थाले । यो सामान्य नभएर  जटिल रुपमा पुग्यो। औषधि पसलमा गएर सिधै मेरो आठ हप्ताको गर्भ छ भनेर औषधि खाने प्रवृत्ति धेरै बढ्दै गएको छ । 

तर कतिपयलाई थाहा नै हुँदैन कि आफ्नो गर्भ कति हप्ताको छ भनेर। यसले गर्दा उनीहरुमा समस्या बढेको छ। अर्काे कुरा अहिले किशोर किशोरीबीचको प्रेम सम्बन्धमा पनि विकृति देखिएको छ । आज भेट्यो, भोलि भेट्यो, पर्सि भेट्दा यौन सम्पर्क हुन्छ  । 

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती

१५, १६ वर्षका किशोरीको शरीर यौन सम्बन्ध राख्नको लागि उपयुत्त हुँदैन। त्यतिबेला कसैले सुझाव दिँदैन । आफ्नो शरीरमाथि आफ्नो अधिकार हुनु ठिक कुरा हो । तर त्यो शरीरप्रतिको जिम्मेवारी पनि त्यतिकै हुनुपर्छ भन्ने मार्गदर्शन घर तथा स्कुलमा हुँँदैन । अनि, जथाभावी रुपमा यौन सम्बन्ध राख्ने, गर्भपतन गर्ने प्रवृत्ति बढेको छ ।

त्यसमाथि आकषर्क विज्ञापनले गर्दा पनि गर्भपतन बढेको छ। इमर्जेन्सी पिल्सको विज्ञापनले गर्भ रहे पनि केही हुन्न पिल्स छ भन्ने मानसिकता हुन्छ । तर त्यस्ता पिल्स बारम्बार चक्लेट जस्तै खाँदा हर्माेनल ब्यालेन्सलाई कति असर गर्छ भनेर थाहा हुँदैन ।

कहिलेकाहीँ गर्भपतनको औषधि खाँदाखाँदै पनि यदि तीन महिनाको गर्भ छ भने धेरै रगत बग्ने गर्छ। म आफैंले पनि यस्तो पीडा भोगेको छु ।
२५ वर्षअघि मलाई पनि गर्भपतन गराउने अवस्था आयो। एकजना डाक्टरले मेरो गर्भपतन गराइन्। त्यतिबेला गर्भपतन गर्न पाइने नियम थिएन, तर सुरक्षित रुपमा डाक्टरले मेरो गर्भपतन गराइन् ।

त्यो गर्भपतन गरेको दुई महिनासम्म पनि महिनावारी भएन। एक दिन सहनै नसक्नेगरी पेट दुख्यो। म बेहोस भएँ, अस्पताल लगियो । त्यसपछि थाहा भयो मेरो गर्भपतन गराएको बच्चा पाठेघर बाहिर बसेको रहेछ । त्यसैले गर्दा मेरो शरीरबाट दुई लिटर जति रगत बग्यो ।

म आफू डाक्टर भएको र समयमा नै अस्पताल पुगेको हुनाले बाँच्न सकें । यो त गर्भपतनको असरको कुरा भयो । ध्यान दिनुपर्ने कुरा के हो भने  गर्भपतन जथाभावी गर्नु हुँदैन । जथाभावी यौन सम्पर्क राख्दा नैतिकता अनौतिकता भन्दा पनि आफ्नो शरीरप्रतिको जिम्मेवारी बोध नगरेको हो । 

जथाभावी रुपमा गर्भपतन गराउँदा या धेरै मात्रामा पिल्स खाँदा पछि गएर बाँझोपना गराउँछ भन्ने धेरै अनुसन्धान भएको छ। तर नेपाल सरकारले तथा स्वास्थ्य मन्त्रालयले यो विषयमा केही बोलेको छैन। यसले गर्दा धेरैमा पिल्सले केही असर गर्दैन भन्ने छाप परेको छ । 

आफू पनि सचेत नभएर यस्तो समस्या बढेको छ भन्न मिल्छ ? 

सुरुमा त विभिन्न खालको औषधिको जथाभावी प्रयोग गर्दा के हुन्छ भनेर जानकारी नभएर हो।अर्काे पक्ष किशोरकिशोरीलाई मार्गदर्शन नभएर पनि बढेको छ। घरमा आमाबाबुले नसम्झाएर पनि होला बढेकोे । 

मैले नै आफ्ना दुई छोरीलाई बारम्बार सम्झाउने गर्छु।यस्तो अवस्थामा आफ्नो शरीरप्रतिको जिम्मेवारी बोध हुनुपर्छ।यस्तो अवस्थामा गर्भपतन गराउन पर्‍याे भने कहिलेकाहीँ सुरक्षित रुपमा नै गरेको गर्भपतनले पनि ठूलो समस्या निम्त्याएको हुन्छ।त्यसैले म पहिले गर्भपतन गराउन पाउनुपर्छ भनेर लडें, तर अहिले भन्छु गर्भपतन गर्नुपर्ने अवस्था आउनै दिनु हुँदैन । 

यति भन्दाभन्दै पनि कहिलेकाहीँ आमाको ज्यान जोखिममा पर्ने अवस्था आउन सक्छ। जथाभावी रुपमा गर्भपतन गराउँदा शरीरमा हर्माेनको सन्तुलन बिगारिदिन्छ । 
जथाभावी रुपमा गर्भपतन गराउँदा रगत नरोकिएर पाठेघर नै निकाल्नु परेको उदाहरण पनि छ। त्यसैले डाक्टर, नर्स, जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिनुपर्छ ।

पहिलो पटक गर्भपतन गराउँदा कस्तो असर गर्छ  ? 

पहिलो पटकको गर्भ सकेसम्म पतन गराउनु हुँदैन।आमाको स्वास्थ्यमा असर परेको वा गर्भ फाल्नैपर्ने विशेष परिस्थितिमा मात्रै हो, नभए सकेसम्म पहिलो गर्भपतन गर्नुहुँदैन । त्यसले गर्दा पछि गएर ५ प्रतिशत महिलामा बाँझोपना हुन्छ। त्यसमा जो पनि पर्न सक्ने भयो। तत्कालीन रुपमा अनेक खालका रोगको संक्रमण हुन सक्छ ।  पाठेघरमा घाउ हुन सक्छ। रगत धेरै बग्न सक्छ ।  

दीर्घकालीन रुपमा शरीरको हर्माेन मिल्दैन, त्यसपछि महिनावारी गडबडी हुन्छ।‍ पाठेघरमा संक्रमण हुन्छ।अहिले बढेको महिनावारी रोक्ने भनौं या पर सार्ने औषधिले पनि हर्माेनहरुकाे गडबडी बढाएको हुन्छ। त्यसैले यो अवस्था आउनै दिनुहुँदैन। 

दीर्घकालिन रुपमा  हर्माेनल गडबडी हुन्छ  । 

अहिले जोखिम मोलेरै भए पनि धेरै हप्ताको गर्भपतन गर्ने गरिएको छ, यस्ले कस्तो असर गर्छ  ? 

यसलाई गर्भपतन भन्ने कि बच्चा हत्या के भन्ने?पछि त बच्चा नै बनिसकेको हुन्छ।अहिले सरकारले २८ हप्तासम्मको गर्भपतन गराउन पाउने भनेर प्रजनन स्वास्थ्यको अधिकारमा  राखेको छ भन्ने सुनेको छु। यदि त्यो हो भने सरासर गलत काम हो।गर्भपतनलाई मैले पापसँग जोडेको होइन, तर २८ हप्ता भनेको त झण्डै ७ महिना पुग्न लागेको हुन्छ, त्यो भनेको त पूर्ण बच्चा नै  हुन्छ ।

म आफैं गर्भपतनको अधिकारका लागि लडेको मान्छे हूँ। तर यो नियमको विरोध म आफैं गर्छु । यस्तो व्यवस्था राख्नु हुँदैन।अहिले साना मेडिकलमा समेत गर्भपतन गराउने गरिन्छ ।

खासमा कस्तो डाक्टरले गर्भपतन गर्न पाउने हो ? 

मेडिकलमा गर्भपतन गर्न पाउने नै होइन।औषधि बेच्न पाउने हो, त्यो पनि सरकारी मान्यता प्राप्त मेडिकलले । तर गर्भपतन गर्न पाउँदैनन् । 

गर्भपतन गराउन राम्रोसँग तालिम लिएपछि नर्सहरुले पनि सक्छन्। डाक्टरहरुले अनि स्त्रीरोग विशेषज्ञले त सक्ने नै भए । तर त्यसको लागि छुट्टै तालिम लिएको हुनुपर्छ । पहिला डाक्टरले मात्रै गर्न पाउने व्यवस्था थियो। पछि हामीले नै नर्सलाई पनि दिनुपर्छ भनेर नियम ल्याएको हो । 

अब यो जथाभावी रुपमा औषधि बेच्ने प्रणलीको अन्त्य भनौं या रोक्ने काम गर्नको लागि ढिला भै सकेको छ।औषधिकै कारण कतिपय महिलाको ज्यान जोखिममा परेको छ भने कतिपयको बच्चा १२ हप्ता कटेको छ भने बच्चा खेर नगए अनि अपांग हुने हुन्छ। सरकारले यति महिलाको गर्भपतन गरियो भनेर भन्नुको कुनै औचित्य हुँदैन । जबकि गाउँमा बाहिर नआएका तथ्यांक धेरै छन्  ।

म आफू पनि डाक्टर भएर बाँचेको हो । म जस्तै पाठेघर बाहिर बच्चा बसेर जोखिम मोलेका धेरै छन् । त्यसैले गर्भपतनको अधिकार हुनुपर्छ, तर जथाभावी रुपमा गर्नु हुँदैन  ।

यसलाई नियन्त्रण गर्न के गर्न सकिन्छ  ? 

सबैभन्दा पहिला त किशोरीहरुमा चक्लेट जसरी खाने होइन, यसले यस्तो नकारात्मक असर गर्छ भनेर चेतना फैलाउन सक्नु पर्छ। सरकारले आर्कषक विज्ञापनलाई रोक्नुपर्छ। स्वास्थ्य मन्त्रालयले दिने विज्ञापन भनेपछि सबैले साँचो हो भन्ने मानेका हुन्छन्, त्यसैले सरकारले यो कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।  

सरकारले यति महिलाको सुरक्षित गर्भपतन गर्‍याे भन्छ, तर  जथाभावी रुपमा प्रयोग गरिने औषधि तथा गर्भपतनले कति असर गर्छ भनेर बोलेको छैन।असुरक्षित रुपमा गर्भपतन गराएर मृत्यु भएको कुरा त कतै पनि आएको छैन। सुरुमा पञ्चायतकालमा हामीले गर्भपतनको माग गर्दा यो दिनुहुन्न भन्नेहरु धैरै थिए।अब हामीले छलफल चलाउनुपर्छ । 

त्यसपछि नेपालमा आमा बन्ने क्रममा ज्यान गुमाउने महिलामध्ये ५० प्रतिशत महिला असुरक्षित गर्भपतनले मर्ने रहेछन् भन्ने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। बल्ल गर्भपतनलाई मान्यता प्राप्त भयो।तर गर्भपतन अधिकार हो, यसलाई सुरक्षित बनाउनु पर्छ भन्नेमा सबैले ध्यान दिनुपर्छ।सरकार अझै सजग रहनुपर्छ ।


 

अन्तिम अपडेट: जेठ २४, २०७६

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया