‘बर्ड फ्लू’ संक्रमण : मासु खान हुन्छ कि हुँदैन ?

 चैत २५, २०७५ सोमबार ११:४९:३७ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डाै – मकवानपुर, मोरङ, सर्लाही, सहित काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा बर्ड फ्लूको संक्रमण पुष्टि भएलगत्तै कुखुराको मासु खान हुन्छ कि हुँदैन भनेर उपभोक्ता अलमलमा परेका छन् । यसअघि ब्रोइलरसँगै टर्की, हाँस, लयर्सलगायत घरपालुवा पन्छीमा देखिँदै आएको यो संक्रमण जंगली पन्छी कागमा समेत पुष्टि भएपछि उपभोक्ताहरु थप सशंकित बनेका हुन् ।

पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म विश्वभर यसको संक्रमणबाट झण्डै ६ सय मानिसले ज्यान गुमाएका छन् । नेपालमा भने अहिलेसम्म त्यस्तो घटना नभएको पशु सेवा विभागका उपमहानिर्देशक सम्झना काफ्लेले बताउनुभयो । जंगली पन्छी कागमा पनि संक्रमण भएको पुष्टि भएकोले थप सजगता भने अपनाउनुपर्ने उहाँको सुझाव छ ।

मासु खाने कि नखाने ?

बर्डफ्लूको भाइरस ७० देखि ७५ डिग्री सेन्टिग्रेडभन्दा माथि बाँच्न सक्दैन । मासुलाई १ सय डिग्री सेल्सियसभन्दा माथि तापक्रममा उमाल्ने भएकोले खाने मान्छेलाई त्यति असर नगर्ने पशु डाक्टरहरुको भनाइ छ । तर, मासु पकाउने, काट्ने, ओसार्ने र फार्ममा काम गर्ने मान्छेलाई यसको संक्रमण हुने गर्छ । 

मासु किन्दा स्वच्छ छ कि छैन भनेर छुट्याउन सकेको खण्डमा यसबाट बच्न सक्ने पशु डाक्टरहरु बताउँछन् । मासु पकाइसकेपछि संक्रमित मासु पनि खान योग्य हुन्छ । भान्सामा कुखुरा वा अन्य जनावरको मासु धोइपखाली नगर्ने तथा पकाउने भाडाकुँडा औजार अचानोहरू अन्य खाले तरकारीजन्य सामग्री तयार गर्न प्रयोग नगर्नु नै वेश हुन्छ । 

मासु कसरी छान्ने ?

संक्रमित मासु र स्वच्छ पशुपन्क्षीको मासु सोझै छुट्याउन सकिन्छ । बर्ड फ्लूले संक्रमित कुखुराको मासुमा रगतका थोप्लाहरु देखिन्छ । त्यस्तै निलो भएका, सिउर र खुट्टामा निलडाम देखिएकालगायत फरक लक्षण भएका कुखुराको मासु उपभोग गर्न नहुने पशु सेवा विभागका उपमहानिर्देशक काफ्लेको सुझाव छ ।

अण्डामा पनि संक्रमण

कुखुराको अण्डाको बाहिरी भागका साथैभित्रको सेतो तथा पहेंँलो भागमा पनि यो भाइरस हुन्छ ।  अण्डाको पहेँलो भाग पनि कडा हुने गरी पकाएको वा उसिनेको खण्डमा भाइरस निस्क्रिय हुो विज्ञहरुको भनाइ छ । तर आधा उमालेको वा काँचै अण्डा भने खान हुँदैन । अण्डाको बाहिरी भाग राम्रोसँग निर्मलीकरण गरेपछि प्रयोग गर्नुपर्ने डाक्टरको सुझाव छ । 

के बजारमा अस्वस्थ मासु छ ?

जहाँ संक्रमण छ, त्यहीँ कुखुरा तथा पन्छी नष्ट गर्ने गरिएकोले बजारमा अस्वस्थ कुखुराको मासु सम्भवत नभएको पशु सेवा विभागको दाबी छ । किसानलाई कुखुरा नष्ट गरेवापत क्षतिपूर्ति समेत उपलब्ध गराईएकोले स्वस्थ कुखुराको मासु मात्रै बजारमा पाइने विभागका उपमहानिर्देशक काफ्लेले बताउनुभयो ।

तर, मासु किन्दा भने स्वस्थ कुखुरा हो या होइन भनेर उपभोक्ताले छुट्याउनु पर्ने उहाँले बताउनुभयो । अहिले संक्रमित ठाउँमा ४२ दिनभित्रसम्म कुखुरा पालन गर्न र त्यससम्बन्धी कारोबारमा गर्न समेत रोक लगाइएको छ । यसले संक्रमण नभएका कुखुराहरु मात्रै बजारमा आउन सहयोग पुग्ने विभागकी उपमहानिर्देशक सम्झना काफ्लेले बताउनुभयो ।

‘डीप फ्रिज’ मा राखेर भाइरस मर्दैन

डाक्टरहरुको भनाइअनुसार ‘डी फ्रिज’ मा राखेको मासु उपभोग गर्न लायक हुन्छ । ‘डीप फ्रिज’ मा राखेको मासुमा चिसोले मर्ने जिवाणु मर्ने र पकाएपछि तातोले मर्ने जिवाणु मर्ने चिकित्सकहरुको तर्क छ । तर, बर्ड फ्लूको भाइरस ‘डीप फ्रिज’ मा राख्दा झन सक्रिय हुने पशु उपमहानिर्देशक काफ्लेको भनाइ छ । धेरै ठाउँमा पछिल्लो समय ‘डीप फ्रिज’ को उपलब्धता भए पनि यो भाइरस चिसोमा झन सक्रिय हुने उहाँले बताउनुभयो ।

कसरी बच्ने ?

सन् १९७८ मा पन्छीमा देखिएको यो भाइरस २० वर्षपछि सन् १९९७ मा मानिसमा पनि देखा परेको थियो । भाइरस सरेपछि सुरुमा रुघाखोकी लाग्छ । त्यसपछि घाँटी र छाती दुख्ने, फोक्सोको तल्लो भागमा असर गरी निमोनिया समेत हुने गर्छ । एच ५ एन १ भाइरस तातो वातावरणप्रति बढी संवेदनशील मानिन्छ । कुखुराको मासुको सबै भाग तथा भित्री भागसम्म ७० डिग्री सेन्टिग्रेड भन्दा धेरै तापक्रम पुग्ने गरी पकाएमा त्यसले स्वास्थ्यमा असर गर्दैन । 

तर नपकाइकन खाइने सलाद, हरियो तरकारीसँग कुखुराको मासु लसपस भएमा मानिसमा पनि संक्रमण फैलने डाक्टरहरु बताउँछन् । कुखुराको काँचो वा मासु काट्ने वा पकाउने मानिसले बढी सजकता अपनाउन पशु सेवा विभागको आग्रह छ । पञ्जा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा रोगले संक्रमण गर्ने सम्भावना कम हुन्छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया