अपराध सर्वेक्षण गर्न पर्वत प्रहरीले बनायो ‘क्राइम म्याप’

 चैत २६, २०७५ मंगलबार ११:४७:५७ | सन्तोष थापा
unn.prixa.net

पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लामा घटेका र घट्न सक्ने घटनाहरुलाई सर्वेक्षण गर्न सर्वसाधारणले समेत हेर्न मिल्ने गरी समग्र जिल्लाको ‘क्राइम म्याप’ अपराध नक्सा तयार पारेको छ । प्रहरीले कुश्मा नगरपालिकाको सहयोगमा जिल्लाका सात वटै स्थानीय तहको सर्वेक्षण गर्न मिल्ने गरी नक्सा बनाएको हो । 

पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय पर्वतमा चोरी, डकैती, लुटपाट, झै–झगडा, ज्यान मार्नेलगायतका घटना दर्ता हुने क्रम बढ्दै गएपछि त्यसको तथ्याङ्क अध्यावधिकसँगै घटना सर्वेक्षण गर्न क्राइम म्याप बनाइएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

धार्मिक तथा पर्यटनको हिसाकले पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको सन्दर्भमा जिल्लाको अपराधिक अवस्थालाई जस्ताको त्यस्तै नक्सामा उतार्नका लागि प्रहरीले नक्सा बनाउने काम अघि बढाएको हो ।

‘नक्सा इन्टरनेटको माध्यमबाट जो सुकैले पनि संसारको जुनसुकै ठाउँबाट हेर्न मिल्ने गरी बनाइएको छ’ प्रहरी नायव उपरीक्षक तिवारीले भन्नुभयो ‘नेपाल भित्र र बाहिर जुनसुकै स्थानबाट पर्वत आउने व्यक्तिले पर्वतको क्राइमको अवस्थाले नक्साबाट हेरेर घुमफिर गर्न सक्छन् ।’

क्राइम नक्सामा पर्वतका सबै स्थानमा विगत तीनवर्ष यतादेखि भएका घटनाहरु अध्यावधिक गरिएको छ । कुन समयमा पर्वतको कुन स्थानमा के घटना घटेको हो भन्ने कुरा नक्साबाट प्रष्ट थाहा पाउने भएकाले क्राइम म्याप प्रभावकारी हुने देखिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । ‘अब सात वटै स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो तहको सुरक्षा सम्बेदनशील क्षेत्र नक्साबाटै हेर्न पाउनेछन्’ उहाँले जनप्रतिनिधिहरुलाई अपराध नियन्त्रणमा क्राइम म्यापले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

क्राइम म्याप निर्माणको आर्थिक तथा प्राविधिक सम्पूर्ण जिम्मा कुश्मा नगरपालिकाले लिएको छ । अहिले नक्सामा घटना अद्यावधिक गर्ने कार्य भइरहेको र एप्लिकेशनमार्फत नै क्राइम म्याप हेर्न सकिने गरी प्राविधिक कार्य भइरहेको कुश्मा नगरपालिकाका सूचना प्रविधि इञ्जिनियर राजिव रिमालले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: असोज ११, २०७६

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया