कर्णाली सरकारले बाढी पहिरो पीडितलाई घर बनाउन प्रति परिवार ३ लाख रुपैयाँ दिने

 चैत २७, २०७५ बुधबार १५:४२:४२ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेश सरकारले प्रदेशका बाढीपहिरो पीडितलाई घर निर्माणका लागि प्रति परिवार तीन लाख रुपैयाँ दिने भएको छ ।

२०७१ सालमा सुर्खेतमा आएको बाढीबाट प्रभावित पीडित र जाजरकोट,  सल्यानलगायतका जिल्लाका बाढीपीडितलाई घर निर्माणका लागि प्रतिपरिवार तीन लाख दिने भएको हो । 

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रति परिवार तीन लाख उपलब्ध गराउने निर्णय गरेको सरकारी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिनुभयो । जग्गा भएकाहरुको हकमा तीन लाख उपलब्ध गराउने र जग्गा नभएकाको हकमा जग्गा व्यवस्थापन गरेर  एकीकृत बस्ती विकासको रुपमा काम गर्ने उहाँले बताउनुभयो ।

‘बाढीपहिरो पीडितका लागि प्रति परिवार तीन लाख उपलब्ध गराउने निर्णय गरेका छौँ । त्यसमा पनि जग्गा भएको पीडितहरुको लागि तत्तकाल किस्तामा पैसा दिएर घर बनाउन काम सुरु गर्ने र नभएकाको हकमा जमिनको व्यवस्थाका लागि सरकारले पहल गर्छ र त्यसलाई एकीकृत बस्ती विकासको रुपमा व्यवस्था गर्ने योजना बनाएका छौँ,’ उहाँले भन्नुभयो, ‘७१ सालको बाढीपीडितसँगै त्यसपछिका बाढीपीडितहरुका लागि पनि तीन लाख उपलब्ध गराउने गरी निर्णय गरेका छौँ ।’

२०७१ साउन अन्तिम साता आएको बाढीले सुर्खेतमा  एक हजार ४५ पीडित परिवारको संख्या भएको उहाँले जानकारी दिनुभयो । जस मध्ये ५ सय १४ परिवारको जग्गा मात्र भएर घर क्षति भएको र  ५ सय ३१ परिवार पूर्ण क्षति भएका छन् । 

कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितहरुको पुर्नस्थापनाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वमा ११ सदस्यीय समित गठन गरेको थियो । उक्त समितिले बाढीपीडितहरुको पहिचान गरेको थियो ।  सुर्खेतका बाढीपीडितका लागि  प्रदेश सरकारले ३१ करोड ३५ लाख रुपैँया बजेटको अनुमान गरेको छ । अन्य जिल्लाको तथ्याङ्क संकलन भइरहेकोे मन्त्री केसीले जानकारी दिनुभयो ।

उहाँले बाढीपीडितहरुको समस्या समधान गर्न आफुहरु संवेदनशील भएको भन्दै संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।

जनताको आधारभुत आवश्यकता पुरा गर्नु राज्यको दायित्व हो  । संघ र स्थानीय सरकारले पनि सहयोग गर्ने बचन दिनुभएको छ । त्यसैले हामीले जतिसक्दो चाँडो आवासको व्यवस्था गर्नमा ध्यान दिएका छौँ’,  उहाँले भन्नुभयो, ‘हामीले आगामी असारसम्म घरहरु बनाइसक्ने गरी काम सुरु गछौँ । जग्गा भएको पीडितहरुको असारसम्म घर बनिसक्छन् ।’  उहाँले स्थानीय सरकार मार्फत काम गर्ने जानकारी दिनुभयो । 

यस्तै मन्त्रीपरिषद बैठकले हालै हावाहुरी र असिना पीडितका लागि २ करोड बजेट छुट्टाउने निर्णय गरेको छ । दैलेखलगायतका ठाउँमा आएको असिना र हावाहुरीले कृषकहरुको बालिमा क्षति पु¥याएको भन्दै राहत स्वरुप सुरुमा २ करोड छुट्टाइएको मन्त्री केसीले जानकारी दिनुभयो ।

उहाँले १५ दिन भित्र पीडितहरुको लगत संकलन गरी स्थानीय विपत व्यवस्थापन समिति मार्फत कार्यविधि र मापदण्ड नबाएर रकम उपलब्ध गराउने जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया