नकआउट चरणमा पुगिसकेका इंग्ल्याण्ड र बेल्जियमकाे वास्तविक परीक्षा अाज

 असार १४, २०७५ बिहिबार १९:५३:० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको समूह जी बाट इंग्ल्याण्ड र बेल्जियम नकआउट चरणमा पुगिसकेका छन् । 

यो समूहबाट पानामा र ट्युनिसिया बाहिरिइसकेका छन् । समूहमा आफ्नो २ खेल जितेका इंग्ल्याण्ड र बेल्जियम समूह विजेताका लागि आज किलिनिङगार्ड रंगशालामा आमनेसामने हुँदैछन् ।
 
ग्यारेथ साउथगेटको टोली इंग्ल्याण्ड आफ्नो लय जारी राख्न बेल्जियमविरुद्धको आजको खेलमा आत्मसमर्पण गर्ने मनसायमा छैन ।

पानामा र ट्युनिसियालाई हराउँदै दुवै टोलीले ६ अंक जोडेका छन् । दुवैले समूहका २ खेलमा ८ गोल गरेका छन् र समान २ गोल खाएका छन् ।
 
यसको मतलब यो हुन्छ कि बराबरीको नतिजा आएको खण्डमा समूह विजेताको निर्धारण फेयर प्ले रेकर्डले गरिनेछ । 

जहाँ बेल्जियमको भन्दा इंग्ल्याण्डले एउटा पहेंलाे कार्ड बढी खाएको छ । 

यदि बेल्जियमले यही प्रदर्शनलाई निरन्तरता दिएको अवस्थामा बराबरीको नतिजाले पनि बेल्जियम समूह विजेता बन्नेछ ।
 
इंग्लिस गोलरक्षक जोर्डन पिकफोर्डले भने आफूहरुको प्रतिस्पर्धी जो भएपनि जित्नका लागि खेल्ने बताए ।
 
‘हामी हाम्रो जितको यात्रा कायम राख्न चाहन्छौं, हाम्रो टार्गेट भनेकै हरेक खेल जित्नु हो ।’ उनले भने ।
 
हामी सिर्फ जितिरहन चाहन्छौं, यसले हामीलाई राम्रो गर्नेछ, हाम्रो प्रतिस्पर्धी को हुनेछ भन्नेले हामीलाई केही फरक पार्दैन, किनभने उपाधि जित्ने क्रममा हामीले यस्तै बलिया प्रतिस्पर्धीलाई परास्त गर्नुपर्छ ।’


 
दुवै टिमले आजको खेलका लागि केहि परिवर्तन गर्नेछन् । पाँच गोलसहित शीर्ष स्थानमा रहेका इंग्लिस स्ट्राइकर ह्यारी केन र उनीभन्दा एक गोल कम गरेका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु दुवै मंगलबार प्रशिक्षण सत्रमा उपस्थित थिएनन् ।
 
‘म लामो समयदेखि त्यहाँ छु, मलाई थाहा छ कि प्रिमियर लिग र त्यसका खेलाडी उत्कृष्ट छन् ।’ म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर मारोउनी फेलानीले पत्रकारहरुसँग भनेका छन् ।
 
‘म के भन्छु भने यो निक्कै सुन्दर खेल हुन गइरहेको छ । भिन्सेन्ट कोम्प्यानी, म लागायत धेरै खेलाडीहरुले प्रिमियर लिग खेलेका छौं र त्यहाँबाट धेरै कुरा सिकेका छौं ।’
 

प्लेयर्स टू वाच
 
मार्कस रासफोर्ड, इंग्ल्याण्ड


 म्यान्चेस्टर युनाइटेडका यी फरवार्डलाई राष्ट्रिय टोलीबाट ठूला प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्नका लागि राम्रो अवसर छ । 

जसले कोष्टारिकाको विरुद्ध विश्वकपअघिको अभ्यास खेलमा शानदार गोलसहित उत्कृष्ट प्रदर्शन गरेका थिए ।

रासफोर्डको घुँडाको चोट पूर्ण रुपमा निको भइसकेको छैन । तर, समूहचरणका यसअघिका दुई खेलमा गोल गर्न असफल हुनुका कारण तेस्रो खेलमा रासफोर्डले मौका पाउन सक्छन् ।


 मिची बात्सुआयी, बेल्जियम


ट्युनिसियाविरुद्धको खेलमा ५–२ को जितका क्रममा अन्तिम गोल गरेका उनले इंग्ल्याण्डविरुद्धको खेलमा उनी प्लेइङ ११ मा पर्ने सम्भावना छ । 

२४ वर्षीय स्ट्राइकर बात्सुआयी चेल्सीबाट गत सिजन बोरसिया डर्टमण्डमा बिताएका थिए ।

तर, चोटका कारण मध्य सिजनमा उनी फर्किएका थिए । सन् २०१५ यता उनले बेल्जियन टोलीका लागि १७ खेलमा ८ गोल गरेका थिए ।
 

म्याच फ्याक्ट्स

 
– विश्वकपमा बेल्जियम र इंग्ल्याण्डको को तेस्रो भेट हो । यसअघि सन् १९५४ मा दुईले ४–४ गोलको बराबरी खेलेका थिए भने सन् १९९० मा इंगल्याण्डले १–० को जित हात पारेको थियो ।
 
– बेल्जियमले इंग्ल्याण्डविरुद्धको समग्र २१ भेटमा मात्र एउटा जित हासिल गरेको छ । १५ हार र ५ बराबरी खेलेको छ । सन् १९३६ मा बेल्जियम ३–२ गोलले विजयी भएको थियो ।
 
– बेल्जियमले जारी विश्वकपमा दुई खेल तीन गोलअन्तरले जितेको छ । विश्वकपमा कुनै पनि टोलीले अहिलेसम्म लगातार तीन खेल तीन वा त्योभन्दा बढी गोलअन्तरमा जितेको छैन ।
 
– इंग्ल्याण्डले जारी विश्वकपमा ८ गोल गरिसकेको छ । उसले एकै प्रतियोगितामा धेरै गोलको कीर्तिमान सन् १९६६ मा बनाएको थियो, विजेता बनेको त्यस विश्वकपमा उसले ११ गोल गरेको मध्ये ४ गोल फाइनलमा सम्भव भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया