प्राकृतिक विपत्ति र दुर्घटनाकाे वर्ष २०७५ : हवाई दुर्घटनादेखि पहिलो पटक नेपालमा टाेर्नाडोसम्म

 चैत ३०, २०७५ शनिबार १३:३८:४८ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ –  विक्रम सम्बत् २०७५ साल प्राकृतिक विपत्तिका कारण पनि दुःखद् वर्षको रुपमा रह्यो । नेपालमै पहिलो पटक आएको भूमरीसहितको हावाहुरी (टोर्नाडो) जस्ता प्राकृतिक विपत्तिले कयौँलाई घरबारविहिन बनायो भने कयौँले आफन्त गुमाए । यस्तै बाढी, पहिरो, चट्याङ जस्ता विपत्तिबाट पनि धेरैले ज्यान गुमाएका छन् । नेपाली आकाशमा यो वर्ष दुई वटा हेलिकप्टर दुर्घटना भयो । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कयौँले ज्यान गुमाए । 

नेपालमा पहिलो पटक टोर्नाडो

नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ले २८ जनाको ज्यान लियो । वर्षको अन्तिम महिना चैत १७ गते साँझ आएको टार्नाडोले बारा पर्सामा झण्डै १ हजार २ सयभन्दा बढी घर पूर्ण रुपमा ध्वस्त बनायो । १ हजार ३ सय भन्दा बढी घरहरु आंशिक रुपमा क्षति भए । झण्डै १ हजार १ सय ५५ जनाभन्दा बढी घाइते भए ।

घाइते भएकामध्ये केहीको अझै पनि उपचार भइरहेको छ । हावाहुरीबाट ११ पुरुष, ११ महिला, २ जना बालक र ४ जना बालिकाले ज्यान गुमाएको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

भूमरीसहितको हावाहुरीले घर, बस, ट्रक तथा गाडिएका ट्युबेल समेत उडाइदियो । हावाहुरीसँगै कतिका सपना उडे, कतिका घरबार ।  नेपालमा योभन्दा अघि यस्तोखाले हावाहुरी आएको थिएन । 

बाढी पहिरो, चट्याङ 

वर्ष २०७५ मा बाढी पहिरोका कारण ८८ जनाले ज्यान गुमाएका छन् । देशका विभिन्न भागमा आएको बाढी पहिरोले यस्तो क्षति पुर्याएको हो । वस्ती माथिबाट आउने पहिरोले घर पुरिँदा मानवीय क्षति हुने गरेको छ ।  यस्तै यो वर्ष चट्याङले पनि ६७ जनाको ज्यान लिएको छ । चट्याङका कारण ३ सय ९७ जना घाइते भए । 

चट्याङबाट सबैभन्दा धेरै मकवानपुरमा ७ जनाले ज्यान गुमाए, डडेलधुरा ४, उदयपुर, प्युठान र अर्घखाँचिमा ३÷३ जना, अछाम २ र दाङ १ जनाले ज्यान गुमाएका छन् ।  यस वर्ष आगलागी परेर ८७ जनाले ज्यान गुमाउनु पर्‍यो भने अन्य प्राकृतिक विपत्तिमा ३२ जनाले ज्यान गुमाएको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

३ वटा हवाइ दुर्घटना 

यो वर्ष हेलिकप्टर दुर्घटनामा देशले महत्वपूर्ण व्यक्तिहरु गुमाएको छ । २ जेठ २०७५ मा मकालु एयरको कार्गाे विमान हुम्लाको बाहुनखर्क भन्ने स्थानमा दुर्घटना भयो । विमानमा अन्य यात्रु नहुँदा विमानका पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको मृत्यु भयो । 

यस्तै भदौ २३ गते गोरखाको सामागाउँमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भयो । यो दुर्घटनामा ५ जनाको मृत्यु भयो भने १ जना बाँच्न सफल भए ।

फागुन १५ गते भएको हेलिकप्टर दुर्घटनामा भने देशले बहालवाला मन्त्री र अन्य विशिष्ट व्यक्तिहरु गुमाउन पुग्यो । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री  रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भयो ।

दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्र्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो । 

अन्तिम अपडेट: चैत ५, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया