ईपीजीको नवौं संयुक्त बैठक काठमाडौंमा

 असार १५, २०७५ शुक्रवार १२:२७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल भारत प्रबुद्ध व्यक्ति समूह(ईपीजी)को नवौं संयुक्त बैठक काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंमा शुक्रबार सुरु भएको बैठकमा ईपीजीको बैठकमा नेपालको तर्फबाट डाक्टर भेष बहादुर थापा, निलामबर आचार्य, सूर्यनाथ उपाध्याय र डाक्टर राजन भट्टराई तथा भारतबाट भगतसिंह कोस्यारी, महेन्द्र पी लामा, जयन्त प्रसाद र डाक्टर बिसी उप्रेती हुनुहुन्छ । 

सन् १९५० को सन्धिका असमान विषयमा समझदारी जुटाउँदै पुनरावलोकन गर्न यो बैठक निर्णायक मानिएको छ । यसअघि जेठ १८ देखि २० सम्म काठमाडौंमा बैठक बस्ने तय भए पनि नेपालले भारतकै आग्रहमा मिति सारेर ईपीजीलाई दिइएको समयसीमाको अन्त्यतिर बैठक राखेको हो । १९५० को सन्धिका विषयमा नेपालले पेस गरेको सन्धि र सम्झौतामा उल्लेखित दुवै देशका नागरिकले पाउने राष्ट्रिय व्यवहारका विषयमा सहमति जुट्ने बताइएको छ ।

भारतले आफ्नो सुरक्षाबाहेक अन्य विषयमा नेपालले लिने निर्णय स्विकार्ने बताइसकेको भए पनि त्यसमा लिखित सहमति भने जनाएको छैन । नेपालले पनि भारतको संवेदनशीलतालाई ध्यानमा राखेर शान्ति र मैत्रीसन्धिका दफा २, ५, ६ र ७ का विषयमा नेपाललाई समस्या नहुने गरी बीचको बाटो उपयोग गरेको भए पनि अझै टुंगिन सकेको छैन ।

नेपालले राखेका विषयमा भारतले ठूलो आपत्ति नजनाएकाले ईपीजी बैठकले संयुक्त प्रतिवेदन जारी गर्दै आ–आफ्नो मुलुकलाई बुझाउने आशा नेपाली पक्षले राखेका छन् । इपीजीको पहिलो बैठक  २०७३ असार २० र २१ गते काठमाडौंमा बसेको थियो ।
 

अन्तिम अपडेट: भदौ ११, २०७५

तपाईको प्रतिक्रिया