सांसद प्रेम सुवालको प्रश्न : प्रत्येक नेपालीको टाउकोमा २५ हजार ऋण बोकाउने सरकार कुन–कुन हुन् ?

 असार १५, २०७५ शुक्रवार १४:१४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक २०७५’ बहुमतले पारित गरेको  छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयक २०७५ लाई पारित गरियोस् भनि राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । यसअघि यस विधेयकमाथि सासंदहरुले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

त्यसैगरी शुक्रबारकै बैठकले आर्थिक विधेयक २०७५, राष्ट्र ऋण उठाउने विधेयक २०७५ र ऋण तथा जमानत (२२ औ संशोधन) विधेयक २०७५ लाई स्वीकृत गरेको छ ।

अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक २०७५ लाई विचार गरियोस् भनी गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । त्यही विधेयकको दफाबार छलफलका लागि असार १८ गतेको समय तोकिएको छ ।

त्यसैगरी अर्थमन्त्री खतिवडाले राखेको राष्ट्रऋण उठाउने विधेयक २०७५  र  ऋण तथा जमानत (२२ औ संशोधन) विधेयक २०७५ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

तीन वटै विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद प्रेम सुवालले के का लागि ऋण भन्ने स्पष्ट हुनुपर्ने माग गर्नुभयो । खानेपानी, भूकम्पछिको पुनर्निर्माण र स्वास्थ्य बाहेकका क्षेत्रका लागि ऋण लिन नपाइने भन्दै उहाँले ऋण लिनुपर्ने कारण स्पष्ट आउनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली जनताको प्रत्येकको टाउकोमा २५ हजार ऋण छ । के खाएको छ नेपाली जनताले ? कुन–कुन सरकारले ऋण ल्याएर नेपाली जनतालाई ऋण बोकाएको हो ? ती मन्त्रीहरु कुन–कुन हुन् ? र सबैको घर खेत कति जोड्यो त्यो सबै हिसाबकिताब हुनुपर्छ ? ऋण भूकम्पपछिको पुनर्निर्माणमा प्रयोग गर्ने भनेर आउनुपर्छ, स्वास्थ्यको लागि प्रयोग गर्ने, खानेपानीको लागि भनेर अनि हामीले स्वीकृति दिन मिल्छ । त्यत्तितै ऋण लिने भनेर हुन्छ ?’  

सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटमा एक खर्ब ७२ अर्ब ऋण उठाउने प्रस्ताव गरेको छ ।बैठक आजै साढे २ बजे बस्ने गरी स्थगित गरिएको छ ।

अन्तिम अपडेट: साउन २६, २०७५

तपाईको प्रतिक्रिया