मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने

 बैशाख ३, २०७६ मंगलबार ८:४२:५४ | रासस
unn.prixa.net

चितवन – इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । 

निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका अनुसार रेलिङ, फुटपाथ र वायरिङको काम मात्र बाँकी रहेको छ । शर्माले भन्नुभयो, “९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ, अब बाँकी काम भनेको रेलिङ, फुटपाथ र वायरिङको मात्र रहेको छ, वैशाखभित्रै पुल निर्माण सम्पन्न गरी जिम्मा लगाउनेछौँ ।” 

नयाँ प्रकृतिको काम, नदीमा पानीको बहाव ठूलो हुनु र नारायणगढ–मुग्लिन सडक स्तरोन्नतिको समयमा सडक अवरुद्ध भई सामान ढुवानीमा समस्या हुँदा निर्धारित समयमा पुल निर्माण सम्पन्न हुननसकेको शर्माको भनाइ छ । मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो ।

चीनमा पढेर आएका नेपाली इञ्जिनियरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा परीक्षणका रूपमा निर्माण गरिएको छ । यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइनभन्दा फरक भएको निमार्णकर्ताको दावी छ ।

मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवगमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो । एक सय ६० मिटर लामो पुल ११ मिटर चौडाइको हुनेछ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया