के हेरेर बस्छन् राष्ट्रपति, प्रधानमन्त्रीका सल्लाहकार ?

 बैशाख ४, २०७६ बुधबार १८:९:५४ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारी गएको फागुन २३ गते एउटा मन्दिरमा बनेको विद्युतीय भर्‍याङ (लिफ्ट) उद्घाटन गर्न पोखरा पुग्नुभयो । लिफ्ट उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पोखराको धार्मिक पर्यटन प्रबर्द्धनका लागि यो कोशेढुंगा सावित हुने भन्दै प्रशंसा गर्न पनि छुटाउनु भएन । 

हुन्डाई मोटर र लक्ष्मी ग्रुप दुई व्यापारिक घरानाले संयुक्त लगानीमा मन्दिरमा लिफ्ट बनाइदिएका थिए । त्यही व्यापारिक घरानाको निमन्त्रणामा राष्ट्रपति भण्डारी मन्दिरको लिफ्ट उद्घाटन गर्न पोखरा पुग्नुभएको थियो ।  

लिफ्ट उद्घाटन गर्न पनि राष्ट्रपतिलाई लगिएको विषयमा सामाजिक सञ्जाल केही दिन चर्चाको विषय बन्यो । राष्ट्रपतिलाई स–साना कार्यक्रममा लगेर विवादमा पार्न नहुने कतिपयले सुझाव दिए । कतिपयले भने राष्ट्रपतिको सचिवालय तथा सल्लाहकार समूहले के हेरेर बस्छन् भन्दै आलोचना गरे । राष्ट्रपतिकाे राजनीतिक, सामाजिक र मानवअधिकार विज्ञ सुशील प्याकुरेल हुनुहुन्छ भने उहाँसँगै सचिवालय टाेली पनि छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २ गते समता स्कुललाई हस्तान्तरण गरेको  ‘वर्ल्ड बुक अफ् रेकर्ड’ (डब्लुबिआर) प्रमाणपत्र शंकास्पद रहेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।  

प्रधानमन्त्री ओलीसँगै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संयुक्त रुपमा त्यो प्रमाणपत्र समता स्कुलका सञ्चालक उत्तम सञ्जेललाई हस्तान्तरण गर्नुभएको थियो । 

यसअघि २०६७ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकाको एउटा विश्वविद्यालले विभुषित गरेको मानार्थ विद्यावारिधिको उपाधि पनि पछि विवादित बनेको थियो । मानार्थ विद्यावारिधि प्रदान गर्ने विश्वविद्यालय नै नक्कली ठहरिएपछि उपाधि विवादित बन्न पुगेको थियो ।  

देशकै कार्यकारी नेतृत्वलाई समेत युनिफिकेसन चर्चजस्तो कुनै धार्मिक आस्था प्रचारक संस्थाले प्रभावमा पारेर आफ्नो दुनो सोझ्याउन सक्छ भने हाम्रा राष्ट्रिय संस्थागत संरचनामा विचौलियाको बिगबिगी रहेको प्रष्ट पारेको छ ।  

प्रधानमन्त्रीलाई आवश्यक सुझाव दिन विज्ञ समूह छ । मुख्य राजनीतिक साल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई प्रधानमन्त्रीको साथमै हुन्छन् ।  

यो सँगसँगै प्रधानमन्त्रीको सचिवालय छ । उहाँका निजी सचिव छन् । तर पनि प्रधानमन्त्री यस्ता कुरामा बारम्बार चुक्न पुग्नुभएको छ । प्रधानमन्त्री प्रयोगमा आइरहँदा पनि उहाँको सचिवालय र सल्लाहकार टिम के गर्दै थियो भनेर सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका छन् । 

यस्तै गएको मंसिर १४ गतेदेखि तीन दिनसम्म एउटा इसाई धर्म प्रचारक संस्थाले एसिया प्यासिफिक समिट नाम दिएर आयोजना गरेको कार्यक्रममा राज्यको आर्थिक लगानीसहित सम्पूर्ण राष्ट्रिय संयन्त्र परिचालन गर्नुका साथै त्यसको व्यवस्थापन र संरक्षणमा लगाउनुलाई धेरैले विरोध गरे । विपक्षी दल तथा सत्तारुढ पार्टीकै नेता तथा कार्यकर्ताले समेत त्यसको विरोध गरे ।  

सार्वभौम राष्ट्रको प्रधानमन्त्री एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रभावमा परी  सहभागिता जनाउनुले राष्ट्रिय मर्यादामा आँच आउने काम भएको र यसले राष्ट्रिय हितमै सम्झौता गर्नुपरेको जस्तो देखाएको भन्दै धेरैले विरोध गरे ।  

देशकै कार्यकारी नेतृत्वलाई समेत युनिफिकेसन चर्चजस्तो कुनै धार्मिक आस्था प्रचारक संस्थाले प्रभावमा पारेर आफ्नो दुनो सोझ्याउन सक्छ भने हाम्रा राष्ट्रिय संस्थागत संरचनामा विचौलियाको बिगबिगी रहेको प्रष्ट पारेको छ ।  

प्रहरीबाट छानविन हुँदै गरेका व्यक्ति तथा सम्बन्धित विषयमा दक्षता हासिल गर्न नसकेका व्यक्तिले पनि सरकारले प्रदान गर्ने विभूषण प्राप्त गरेपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । 

यस्तै वैशाख १ गते नयाँ वर्षकै दिन सरकारले वितरण गरेको विभूषण पनि विवाद रहित बन्न सकेन । बालुवाटारस्थित सरकारी सम्पत्ति ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले छानबिन गरिरहेका व्यक्तिदेखि नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुत्तीर्ण भएका व्यक्तिलाई चिकित्सकको रुपमा विभूषित गरेपछि विभूषण विवादित बन्न पुगेको हो । 

ललिता निवास जग्गा प्रकरणमा प्रहरीले छानबिन गरिरहेको भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’बाट सुशोभित भए । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण भएका राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भए ।

प्रहरीबाट छानबिन हुँदै गरेका व्यक्ति तथा सम्बन्धित विषयमा दक्षता हासिल गर्न नसकेका व्यक्तिले पनि सरकारले प्रदान गर्ने विभूषण प्राप्त गरेपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । 

गएको वर्ष उमेरका कारण विवादित बन्दै पदच्युत भएका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले विभूषण प्राप्त गर्दा आफ्नो नेतृत्वको सरकारले सिफारिस गरेको नभई पहिलेको सरकारका पालामा सिफारिस भएका व्यक्तिलाई प्रदान गरेको भन्दै वर्तमान सरकार पन्छिने प्रयास गरेको थियो । तर अहिले त्यही सरकारले छनौट गरेर विभूषण पाएका व्यक्तिहरु पनि विवादरहित बन्न सकेनन् । 

विभूषण अहिले आफ्ना छोराछोरी, इष्टमित्र र आफन्तलाई वितरण गर्ने पदक बनेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ । देश निर्माणमा कुनै न कुनै तरिकाले उत्कृष्ट काम गरेकाहरुलाई पदक दिने प्रचलन राजाको पालादेखि चलिआएको भए पनि अहिले यो पदक आफ्ना नजिकका नातेदारहरुले मात्रै पाउने गरेका छन् । 

राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री व्यक्ति मात्र नभई यो राष्ट्रिय संस्थागत संरचना रहेको र  यो पदमा बसेको व्यक्तिले यसको अवमूल्यन हुने काम गर्नु हुँदैन ।

यो त केही उदाहरण मात्रै हो । यस्ता कयौँ घटनामा हाम्रा शासकहरु चिप्लिएका छन् । समाजमा आफ्नो प्रभुत्व देखाउनेहरुले राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीलाई प्रयोग गर्ने र उनीहरु पनि सहजै त्यस्ता व्यक्तिको बोलावटमा पुगिदिने गर्दा राष्ट्रपति, प्रधानमन्त्रीजस्तो सम्मानित पद नै सस्तो देखिएको विश्लेषक उज्ज्वल प्रसाईँ बताउनुहुन्छ । 

सानोभन्दा सानो कुराको पनि उद्घाटन गर्न मन्त्री नै पुग्ने, राष्ट्रपतिलाई पनि लिफ्ट उद्घाटन गराउन लैजाने प्रवृत्तिले यस्ता पदहरुको गरिमा घटेको उहाँको बुझाइ छ । 

‘देशका लागि महत्वपूर्ण र उपलब्धि हुने विषयमा उहाँहरुको ध्यान जानुपर्छ’, उहाँले भन्नुभयो, ‘कसैले सानोतिनो कुरामा बोलाउँदैमा दौडिहाल्ने प्रवृत्ति राख्ने हो भने हाम्रा राष्ट्रिय संस्थागत संरचनाको मूल्य नै रहँदैन ।’ 

राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री व्यक्ति मात्र नभई यो राष्ट्रिय संस्थागत संरचना रहेको र  यो पदमा बसेको व्यक्तिले यसको अवमूल्यन हुने काम गर्न नहुने उहाँ बताउनुहुन्छ । तर हाम्रो देशमा कसैले स्वार्थमा, कसैले आडम्बरमा यस्ता पदहरुको दूरुपयोग गराउने काम गरिरहेका छन् ।

राज्य सञ्चालक लाई यस्ता विषयमा बोध नभएसम्म देश उन्नत व्यवस्थामा जान नसक्ने उहाँको ठम्याइ छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • sadip

    April 17, 2019, 8:05 p.m.

    के राजसंस्था नै ठीक हो त ?

  •  0 Reply

तपाईको प्रतिक्रिया