राष्ट्रपति भण्डारीद्वारा नवदुर्गा नाचको अवलोकन

 बैशाख ७, २०७६ शनिबार २०:३०:२९ | रमेश गिरी
unn.prixa.net

भक्तपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरमा नवदुर्गा भवानीको पूजा अर्थात द्यौ बोयकेगु, नवदुर्गा नाच र मौलिक हस्तकला प्रदर्शनीको अवलोकन गर्नु भएको छ । 

भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर जिल्ला प्रशासन कार्यालय परिषरमा आयोजना गरेको प्रदर्शनीको उहाँले अवलोकन गर्नुभएको हो । नवदुर्गा देवगणले प्रस्तुत गरेको तान्त्रिक विधि एवं शक्तिस्वरुप नवदुर्गा नाच अन्तर्गत मंगलसिद्धि नाच र गणेश नाचको अवलोकन गर्नुभएको हो । 

राष्ट्रपति भण्डारीले स्थानीय हस्तकलाका सामाग्रीहरुको समेत अवलोकन गर्नुभएको थियो । उहाँले त्यसक्रममा भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिर परिषरको समेत अवलोकन गर्नुभएको थियाे । 

उहाँले देवगणलाई दक्षिणा दिनुको साथै नवदुर्गा नाच सञ्चालनका लागि स्थापना गरिएको अक्षय कोषमा जिल्ला समन्वय समितिले उपलब्ध गराएको १५ लाख रुपैयाँ र भक्तपुर उद्योग वाणिजय संघले उपलब्ध गराएको ५ लाख रुपैया गरी कूल २० लाख रुपैयाँ पनि हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रदर्शनीमा राखिएका उत्पादनबारे जानकारी गराउनु भएको थियो । संघका अध्यक्ष रामप्रसाद प्रजापतिले कार्यक्रमका बारेमा तथा इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले नवदुर्गा नाचको शक्ति र महत्वको बारेमा जानकारी गराउनु भएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

रमेश गिरी

भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया