नेपाली समर्थकलाई मेस्सीको सम्बोधन !

 असार १६, २०७५ शनिबार ८:१२:३१ | मिलन तिमिल्सिना
unn.prixa.net

विश्वकप सुरु हुनु पहिलेदेखि नै मेस्सी मेस्सी भनेर उफ्रिरहेका मेरा नेपाली समर्थकहरु । तपाईंहरुको हराउनै लागेको चुरीफुरी र फुरफुर फेरि ब्युँतिएकोमा बधाई छ ।

तपाईँहरुकै करकाप र जोडबलले जारी विश्वकपमा मुश्किलले एउटा गोल हानेर इज्जत राख्न र तपाईंहरुको निराशा हटाउन सफल भएको छु । आशा छ, तपाईँहरु फेरि मेस्सी मेस्सी भनेर अझै बुरुकबुरुक गरिरहनुभएको छ ।

तपाईँहरुले मबाट धेरै नै आशा गर्नुभयो । भनेजस्तो हुन सक्ने, जतिखेर पनि गोल मात्रै गर्न सक्ने खुबी भएको भए त्यो आशा पनि स्वभाविक नै हो । तर मैदान सधैँ उस्तै हुँदैन, कहिले गोल हुँदैन कि भनेर हान्दा पनि भकुण्डो जालीमा छिर्छ, कहिले गोल गर्छु भनेर हान्दा पनि विपक्षीको गोलकिपरले छेक्छ । 

यसपल्ट यस्तै भयो । सुरुका दुई खेलमा जादू देखाउन सकिन । त्यसो त म जादूगर पनि होइन नि । मेस्सीले जादू देखाएनन् भनेर तपाईंहरु आत्तिनुभयो । जर्सी च्यातेर फाल्नुभयो । कतिपयले टिम नै फेर्नुभयो । मलाई गाली गर्नुभयो । तपाईँका केही नेताले समेत मलाई खिसीटिउरी गरे । 

ओलीजीले समर्थन फिर्ता लिएको घोषणा गर्नुभयो । मलाई कांग्रेसको देउवासँग तुलना गर्नुभयो ।  मेस्सी र मेरो हालत उस्तै भयो भनेर देउवाजी मख्ख पर्नुभयो । प्रचण्डजीले रोनाल्डोसँग एकता गर्न सल्लाह दिनुभयो । भट्टराईजीले नयाँशक्तिमा आउन भन्नुभयो । यी सबै ममाथि गरिएका अविश्वास र अपमान हुन् ।

ओलीले मेस्सीको साथ छोडे, देउवाको दह्रो समर्थन !

सुरुवातका दुई खेल गाह्रो भएकै हो । गोल गर्न नसकेकै हो । सधैँ  आफूले भनेजस्तो नहुनेरैछ । आइसल्याण्डविरुद्धको पेनाल्टीमा त गोल गर्छु जस्तै लागेको थियो । तर उताका गोलकिपरलाई छलाउन सकिएन, उनले समाइदिए । गोलकिपरलाई छलाउन सकेको भए त गोल भैहाल्थ्यो नि । पेनाल्टीमा सधैँ गोल हान्न सकिँदैन भन्ने त रोनाल्डोजीले पनि पुष्टि गरेर देखाइदिसक्नुभएको छ ।

आइसल्याण्डले भन्दा बढ्दा क्रोएसियाले सातो खुवाएकै हो । त्यो खेलले त हामीलाई भेन्टिलेटरमा पुर्‍यायो । भेन्टिलेटरमा पुगेपछि पुनर्जीवन पाइन्छ भन्ने आश कमैलाई हुन्छ । हामीलाई त्यस्तै भयो, तपाईँहरुलाई पनि भयो । तर कहिलेकाहीँ चमत्कार हुँदो रहेछ । 

विश्वकपमा चारतारा जर्सी भएको इटाली छनोट चरणबाटै बाहिरियो । चारवटै तारा भएको जर्मनी समूह चरणबाट पाखा लाग्यो । नेपालमा चारतारा र विश्वकपमा चारतारा फाप्ने रहेनछ भन्ने हामीलाई पनि लाग्न थालेको छ ।

आफूलेभन्दा अरुले राम्रो खेलेपछि मरिसकेको हाम्रो आश तँग्रिएर आयो । आइसल्याण्डलाई हराएर नाइजेरियाले हामीलाई गुन लगायो । त्यही गुन लगाउने नाइजेरियालाई मुश्किलले जितेर हामी तँग्रियौं । सँगसँगै तपाईं नेपाली समर्थक तँग्रिनुभयो । बेहोस भएकाहरु जर्याकजुरुक उठ्नुभयो । मिल्काइसकेको जर्सी टिपेर लगाउनुभयो । बसिसकेको स्वर चर्काएर फेरि मेस्सी मेस्सी भनेर उफ्रन थाल्नुभयो । आफ्नै देशको झण्डा यति धेरैपटक छुनुभएको छैन होला । तर हाम्रो जर्सी पटकपटक तन्काउँदै उफ्रिरहनुभएको छ ।

साँच्चै भन्ने हो भने पछिल्लो यो खेलमा मैले आफ्नो लागि होइन, तपाईँहरुको लागि खेलेको हो । मैले यो खेल पनि झुर खेलेको भए तपाईँहरुले सडकमा विरोध प्रदर्शन गर्नुहुन्थ्यो । अर्जेन्टिनामाथिको हार फिर्ता गर भन्दै नेपाल बन्द गर्न सक्नुहुन्थ्यो । नेपाल बन्दको सबै दोष मेरो थाप्लोमा आइलाग्थ्यो । यसअघि मेरो खेल देखेर रिसाएका ओलीजी झनै रिसाउन सक्नुहुन्थ्यो । त्यसैले मैले तपाईँहरुको हितमै अन्तिमपटक यस्तो कदम चालेको हो ।

अर्को कुरा नेपालमा गएको मंसिरमा भएको चुनावी परिणाम र वर्तमान सरकारले चालेका केही अभियान सुहाउँदो क्रियाकलाप अहिलेको विश्वकपमा देखिन थालेको छ । यसपटक चुनावमा तपाईंहरुले चार तारा झण्डा भएको पार्टीलाई अघिल्लो चरणमा जान दिनुभएन । विश्वकपमा चारतारा जर्सी भएको इटाली छनोट चरणबाटै बाहिरियो । चारवटै तारा भएको जर्मनी समूह चरणबाट पाखा लाग्यो । नेपालमा चारतारा र विश्वकपमा चारतारा फाप्ने रहेनछ भन्ने हामीलाई पनि लाग्न थालेको छ ।

नेपालमै थालिएको अर्को अभियानलाई पनि विश्वकपमा लागू गर्न खोज्दैछौं । तपाईंहरुको सरकारले सिन्डिकेट हटाउने अभियान थालेको छ । तर प्रभावकारी बनाउन सकेको छैन । यो अभियानलाई हामी पनि साथ दिएर प्रभावकारी बनाउनुपर्छ भन्ने सन्देश दिन खोज्दैछौं । सधैं उही टिम र उही अनुहार अगाडि आउनुपर्छ भन्ने सोचाई त्याग्नुपर्छ । त्यसको छनक तपाईंहरुले पाइसक्नुभएको छ ।

अर्को एउटा सत्य कुरा तपाईंहरुले पनि के बुझ्नुपर्यो भने विश्वकपमा केही वर्षयता विजेता टोली अर्कोपटक समूह चरणबाट बाहिरिने परम्परा बसेको छ । यसपाली पनि यो परम्परालाई निरन्तरता दिने हाम्रो सोचाई हो । तपाईंहरुले अर्जेन्टिनाले जिते हुन्थ्यो भन्ने कामना गर्नुभएको छ । तर यसपटक जित्दा अर्कोपटक समूह चरणबाट बाहिरिनुपर्छ । त्यो बेला तपाईंहरुलाई झन् नमज्जा लाग्ने हो कि भनेर त्यो नमज्जा लाग्ने बानी अहिलेदेखि नै लागोस् भनेर म र हाम्रो टिमले सोचिरहेको छ । अबको खेल यसअघिका दुईखेल जस्तै भयो भने हाम्रो सोच पूरा हुन्छ । 

र, अत्यमा नेपाली समर्थकलाई मैले विशेष एउटा कुरा भन्नु छ । त्यो हो तपाईंहरु हामीजस्ता विदेशी टोलीको समर्थनमा चाहिनेभन्दा बढी फुरफुर र बुरुकबुरुक नगर्नुहोला । विश्वकप खेल्ने हामी, जर्सी बनाउने भारत र चीन, अनि जर्सी तन्काएर तेरो टिम यस्तो, मेरो टिम यस्तो भनेर उफ्रने चाहिँ तपाईंहरु ? 

आफ्नो देश विश्वकपमा पुगेको दिन खुशी हुनुहोस् । आफ्नै देशको जर्सी लगाएर उफ्रने दिनको कामना गर्नुहोस् । आफ्नै देशको झण्डा समातेर दौडनुहोस् । हाम्रो समर्थनमा उफ्रन थाल्नुभयो भने एकदिन निराश हुनुपर्छ । एकपटक निराश भैसक्नुभएको छ ।

अहिले केही दिनको लागि मात्रै मैले खुशी दिन सफल भएको हो । तपाईं समर्थकको अनुहारमा सधैँ खुशी ल्याउन म सक्दिन । धेरै मेरो मात्रै भर पर्न थाल्नुभयो भने तपाईं सबै समर्थक डिप्रेशनको बिरामी पर्न सक्नुहुन्छ । अहिलेदेखि नै ख्याल गर्नुहोला ।   

अन्तिम अपडेट: चैत १०, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

6 Comments

  • Siddha Raj Ojha

    July 2, 2018, 8:16 a.m.

    Wwaa,,!!! ekdam dammi lagyo sir, samaya sandarvik xa

  •  0 Reply
  • Janam malla

    June 30, 2018, 10:40 p.m.

    हजुर्को यो लेख धेरै राम्रो छ ।

  •  0 Reply
  • Suwas

    June 30, 2018, 3:42 p.m.

    झुर, कहिलेकाहीं वर्ल्डकप भन्दा बढी फुटबल हेर्ने गर्नुस... कुनै कुरामा कलम चलाउनु अघि त्यो आफ्नो क्षेत्र हो वा होइन, आँफुले लेखेको कुरामा आफ्नो दख्खल छ वा छैन बुझ्नुस..... अरु त के भनेर समय खेर फालम, ऐले लाई यत्तिनै

  •  0 Reply
  • Debel Thapa

    June 30, 2018, 2:59 p.m.

    Mad Writer.

  •  0 Reply
  • Sanjeev magar

    June 30, 2018, 2:15 p.m.

    Sarai ramro sajesan Messi (milan timalsena) g .

  •  0 Reply
  • Durga bahadur khadka

    June 30, 2018, 8:36 a.m.

    100% Sahi ho .aslai sabaile aatmasath garna saknu parxa .

  •  0 Reply

तपाईको प्रतिक्रिया