प्रि–क्वार्टरफाइनलबाटै घर फर्किने पालो अर्जेन्टिनाको कि फ्रान्सको ?

 असार १६, २०७५ शनिबार ९:५५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एक दिनको आरामपछि रुसमा जारी २१औँ संस्करणको विश्वकपमा शनिबारदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । 

हेभीवेट टोलीहरु सन् १९९८ को विजेता फ्रान्स र दुई पटकको विश्वविजेता अर्जेन्टिनाबीच शनिबार राति पाैने ८ बजे काजान एरिनामा हुने खेलसँगै प्रिक्वार्टरफाइनल चरण सुरु हुनेछ । आजै पोर्चुगलले पनि दुई पटकको च्याम्पियन उरुग्वेको सामना गर्दैछ ।
 
स्टार डिफेण्डर स्याम्युअल उम्टिटीले समूह चरणमा फ्रान्सको प्रदर्शनबारे भइरहेको आलोचनाको बचाउ गर्दै दावी गरेका छन् कि उनको टोली जित हासिल गर्नका लागि आफ्नो रणनीति जतिबेला पनि बदल्न सक्छ ।
 
समूह सीका तीन खेलमा ७ अंक जोडेर समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगे पनि डिडिएर डेसच्याम्पको टोली फ्रान्सले आफ्नो वास्तविक गति भेट्टाउन सकेको छैन । मंगलबार डेनमार्कविरुद्ध गोलरहित बरारीले डेनमार्क नकआउट चरणमा पुग्दा फ्रान्सेली टोलीको धेरै आलोचना भयो । नकारात्मक समाचारहरुका हेडलाइन नै बने । 

फ्रान्सको अर्को भेट अर्जेन्टिनासँग हुँदैछ र यो विश्वकपको पहिलो सनसनी खेल हो । र, उम्टिटी बार्सिलोनाका आफ्ना टिममेट लियोनल मेस्सीविरुद्ध खेल्न गइरहेका छन् । उम्टिटीले भनिसकेका छन् कि काजान एरिनामा आफ्नो टोली मात्र परिणामका लागि खेल्नेछ ।
 
‘हामी अझै राम्रो खेल्नका लागि सुधार गरिरहेका छौँ, किनभने हामी गर्न सक्छौँ ।’ उम्टिटीले भने, ‘तर, सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामीले जित्नुपर्छ । किनकि यदि हामीले सबै रणनीतिक विकल्पहरुको प्रयोग गर्छौँ भने भलै अधिकांश मानिसहरु हामीसँग खुसी नहोलान्, र पनि सबै खुसी हुन्छन् ।’
 
बिहीबारको पत्रकार सम्मेलनमा अधिकांश समयमा मेस्सीको चर्चा गरिएपछि उम्टिटीले भनेका छन् कि अर्जेन्टिनालाई नकआउट गरेपछि मात्र उनलाई सन्तुष्टि मिल्नेछ ।
 
‘मात्र अर्को चरणमा पुग्नु हाम्रा लागि महत्वपूर्ण छ ।’ उनले भने, ‘हाम्रो बाटोमा चाहे ब्राजिल होस, मेक्सिको होस् या पेरु मतलब छैन । तर, यो चाहिँ सत्य हो कि अर्जेन्टिना जस्तो महान टोलीसँग खेल्न पाउनु र उसलाई नकआउट गर्न पाउनु साँच्चिकै गर्वको क्षण हुनेछ ।’
 
नकआउट चरणमा प्रवेश फ्रान्सको नियमित थियो भने अर्जेन्टिनाको नाटकीय थियो । १–१ गोलको बराबरी उन्मुख नाइजेरियाविरुद्धको खेलमा अन्तिम चार मिनेट बाँकी छँदा मार्कोस रोहो नायक बनेपछि अर्जेन्टिना उपविजेताका रुपमा छनोट भएको हो । रोहोले गरेको शानदार भली गोलको सहयोगमा जर्ज साम्पाओलीको टोली नकआउट चरणमा पुगेको हो ।
 
भाग्यवस नकआउटमा पुगेपछि अर्जेन्टिनाका मिडफिल्डर जियोभानी लो सेल्सोले भनेका छन्, ‘म यसलाई चमत्कार त भन्दिन तर, यो निक्कै कठिन लडाकू योग्यता हो ।’ ‘वास्तवमै हामीमा यसअघि जे बित्यो त्यसले निक्कै निराश बनाएको थियो । तर, हामीले टिमको रुपमा हाम्रा सबै उपकरणको उपयोग गर्यौँ’, उनले भने ।
 
‘हामीले यो उपलब्धि पाउनका लागि ठूलो मिहिनेत गर्यौं र हामी अब फ्रान्सको सामना गर्दा निकै बलियो छौँ ।’

यस्ताे छ इतिहास

– अर्जेन्टिना र फ्रान्स अहिलेसम्म १२ पटक आमनेसामने भएका छन् । जसमा ६ खेल अर्जेन्टिनो जितेको  छ भने फ्रान्सले २ खेल तथा ३ खेल बराबरीमा सकिएको छ ।

– आफू सहभागी भएको १३ विश्वकपमध्ये १२ संस्करणमा अर्जेन्टिनाले समूह चरण पार गरेको छ । सन् २००२ को विश्वकपमा मात्रै उ समूह चरणबाटै बाहिरिएको थियो ।

– पेनाल्टी शुटआउटलाई छाडेर फ्रान्सले विश्वकपको नकआउट चरणमा पछिल्लो ११ मध्ये एक खेलमा मात्र पराजय ब्यहोरेको छ । ८ खेल जितेको छ भने २ खेलमा बारबरी खेलेको छ । उसले पछिल्लो पटक सन् २०१४ मा जर्मनीसँग १–० गोलको पराजय ब्यहोरेको थियो ।

– फ्रान्सले जारी विश्वकपको समूह चरणका तीन खेलमा जम्माजम्मी ५ शट ब्यहोरेको छ । उसले समूहमा मात्र एक गोल खाएको छ ।

– अर्जेन्टिनी स्ट्राइकर  लियोनल मेस्सीले विश्वकपको नकआउट चरणमा अहिलेसम्म गोल गर्न सकेका छैनन् । उनले ६६६ मिनेट खेलेका छन् ।  उनले फ्रान्सविरुद्ध पछिल्लो पटक सन् २००९ को मैत्रीपूर्ण खेलमा गोल गरेका थिए । जुन खेलमा अर्जेन्टिना २–० ले विजयी भएको थियो ।

– ओलिभर जिरोडले फ्रान्सका लागि ठूला प्रतियोगितामा गोल गर्न नसकेको ३५७ मिनेट भयो । पछिल्लो पटक उनले युरो २०१६ मा आइसल्याण्डविरुद्ध खेलेका थिए । जारी विश्वकपमा उनले अहिलेसम्म एउटा शट पनि प्रहार गर्न सकेका छैनन् ।

– डिडियर डेसच्याम्पका लागि फ्रान्सको प्रशिक्षकको रुपमा यो ८०औँ खेल हो । यस खेलपछि उनले पूर्व प्रशिक्षक उनले रेमण्ड डोमेनिकलाई पछि पार्दैछन् ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया