निर्मला पन्त हत्याकाण्ड : ९ महिना पूरा, स्थानीयद्वारा हत्यारा पत्ता लगाउन माग

 बैशाख १०, २०७६ मंगलबार १४:३४:५४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना पूरा भएको छ । तर, हालसम्म घटनामा संलग्न दोषी भने पहिचान हुन सकेका छैन । 

यता, घटनाको ९ महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै स्थानीयले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

निर्मलाको न्यायका लागि आन्दोलन गर्दै आएको नागरिक संघर्ष समितिले मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा हत्याकाण्डको ९ महिना बितिसक्दा समेत हत्यारा पत्ता नलागेको र हत्यारा पहिचान गर्न पटक–पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दा समेत बेवास्ता गरिएको उल्लेख गरिएको छ । 

यसैगरी, उच्चस्तरीय छानबिन समितिले दोषी देखाइएका व्यक्तिहरुमाथि थप छानबिन गर्नुपर्ने मागसमेत गरिएको छ ।  उता, स्थानीयले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी वैद्यले ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष बुझाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निर्मलाको न्यायका लागि आम नागरिकले उठाएको आवाज जायज भएको बताउँदै घटनाका विषयमा अनुसन्धान जारी रहेको बताउनुभयो ।

गएको साउन १० गते साथीको घरमा गृहकार्य गरेर फर्किने क्रममा हराएकी निर्मलाको भोलिपल्ट ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा नजिकैको उखुबारीमा शव फेला परेको थियो । 

अनुसन्धानका लागि विभिन्न आयोग गठन भए पनि हालसम्म दोषीको पहिचान हुन सकेको छैन ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया