समूह चरणका तीनै खेल जितेको उरुग्वेले लयमा रहेका रोनाल्डोलाई रोक्ला त ?

 असार १६, २०७५ शनिबार १४:७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिष्टियानो रोनाल्डो प्रेरित टोली पोर्चुगलले आज क्वार्टरफाइनल प्रवेशका लागि रुसको फिस्ट ओलम्पिक रंगशाला सोचीमा दुई पटकको विश्व विजेता दक्षिण अमेरिकी टोली पोर्चुगलको सामना गर्दैछ ।

समूह विजेता बन्ने क्रममा शतप्रतिशत जित निकालेको उरुग्वले हरेक खेलमा परिस्कृत हुँदै गएको देखिन्छ भने धेरै हदसम्म रियल मड्रिडका सुपरस्टार क्रिष्टियानो रोनाल्डोमा निर्भर रहेको पोर्चुगल औसत प्रदर्शनका साथ समूह बी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

यद्यपि युरो २०१६ च्याम्पियन पोर्चुगलको टिम गेम निकै सुन्दर मानिन्छ । विश्वकपमा पोर्चुगलको रक्षापंक्ति दुई वर्षअघिको तुलनामा खस्किएको देखिन्छ । उरुग्वेले समूह चरणका खेलमा रुसलाई ३–० तथा साउदी अरेबिया र इजिप्टलाई १–० ले हराएको थियो । त्यस्तै पोर्चुगलले स्पेनसँग ३–३ को बराबरी खेलेको थियो । पोर्चुगलले मोरक्कोलाई १–० तथा जितेको थियो भने इरानसँग १–१ को बराबरी खेलेको थियो । 

पोर्चुगलका राइट ब्याक सेडरिक सोरेसले भनेका छन् कि निश्चय नै पोर्चुगलले स्टारहरुले भरिएको उरुग्वेको सामना गर्नु सहज छैन । यद्यपि उनले आफ्ना क्रिष्टियानो रोनाल्डो एक्लै उनीहरुका लागि काफी छन् ।

रुस विश्वकपको समूह चरणमा शतप्रतिशत जित निकाल्ने टोली क्रोएसिया र बेल्जियमपछि उरुग्वे मात्र हो ।

उरुग्वेको सबैभन्दा बलियो पक्ष भनेको अग्रपंक्तिमा लुइस स्वारेज र एडिन्सन काभानी तथा रक्षापंक्तिमा डिएगो गोडिन र जोसे गिमिनेज नै मुख्य हुन् । जसले परिचित प्रतिस्पर्धीको सामना गर्न गइरहेका छन् ।

‘हामीलाई के लाग्छ भने निश्चय नै उनीहरुसँग शानदार खेलाडीहरु छन्, तर, हामीसँग दुनियाँकै सर्वश्रेष्ठ खेलाडी छन्’ सोसेरले फिफा डट कमसँग भनेका छन् । क्रिष्टियानो रोनाल्डो जो विश्वकप र युरोकपमा सबैभन्दा धेरै ३८ खेल खेल्ने युरोपेली खेलाडीका रुपमा जर्मन पूर्वकप्तान बास्टियन स्वाइन्स्टाइगरको कीर्तिमान बराबरी गर्दैछन् ।

रोनाल्डोले शानदार रुपमा विश्वकपको सुरुवात गरेका थिए । स्पेनविरुद्धको उत्कृष्ट फ्रिकिक गोलसँगै ह्याट्रिक पूरा गरेका उनले स्पेनलाई ३–३ गोलको बराबरीमा रोकेका थिए । यही रंगशालामा पोर्चुगलले आज उरुग्वेसँग खेल्दैछ ।

दोस्रो खेलमा उनकै गोलको सहयोगमा मोरक्कोलाई हराएको पोर्चुगलले समूहको अन्तिम खेलमा इरानसँग एक–एक गोलको बराबरी खेलेको थियो । त्यस खेलमा रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए । यसरी हेर्दा पोर्चुगलको प्रदर्शनको ग्राफ क्रमशः ओरालो लागेको देखिन्छ ।

यसको यसको ठिक विपरीत समूह चरणको खेलमा एकपछि अर्को सुधारिएको खेल प्रदर्शन गरिरहेको उरग्वेको पनि सबैभन्दा उत्कृष्ट प्रदर्शन निस्कन बाँकी नै छ ।

सुरुवाति दुई खेलमा गिमिनेज र लुइस स्वारेजको गोलले उरुग्वेको उद्धार भएको हो । रुसविरुद्धको तेस्रो खेलमा भने उसका अग्रपंक्तिका दुई सुपरस्टार स्वारेज र काभानीले नै गोल गर्न सफल भए ।

हामी निक्कै बलियो र शक्तिशाली टिमको सामना गर्न जाँदैछौं । उरुग्वेको मिडफिल्डर म्याटियास भेसिनोले भने, (जो रुस विश्वकपमा उरुग्वेको हरेक खेलमा टिमका सदस्य छन्), यो खेलमा हामीले आफूलाई प्रमाणित गर्न उनीहरुको अग्रपंक्तिलाई सीमित पार्ने प्रयास गर्नेछौं ।

सामान्य मांसपेशीको समस्याका कारण पोर्चुगलका डिफेण्डर राफायल गुरेरो, विंगर गेल्सन मार्टिन र मिडफिल्डर विलियम कार्भाल्होले बिहीबारको प्रशिक्षण सत्रमा आराम लिएका थिए ।

रुसविरुद्धको खेलमा उरुग्वेका गिमिनेज तिघ्राको चोटका कारण बीचैमा निस्किन बाध्य भएका थिए । तर, उनले पोर्चुगलविरुद्ध नियमित टिममा रहनेछन्

प्लेयर्स टु वाच

लुइस स्वारेज -उरुग्वे

इजिप्टबिरुद्धको खेलमा गोल गर्न असफल स्वारेज केही निराश देखिन्थे । तर, मोरक्कोविरुद्धको जितमा एकमात्र गोल उनैले गरेका थिए । सन् २०१० मा घानाविरुद्धको खेलमा हातले बल रोकेपछि र सन् २०१४ मा इटालीका जर्जियो चिलिनीलाई टोकेपछि निकै नै विवादमा आएका स्वारेज बार्सिलोनामा आएपछि भने सुध्रिएका छन् । बार्सिलोना एफसी उनका लागि सुधारगृह नै सावित भयो भन्दा पनि हुन्छ किनकी त्यसयता यस्ता हर्कत उनले गरेका छैनन् ।  

क्रिष्टियानो रोनाल्डो – पोर्चुगल

फर्नाण्डो सान्तोषको टोलीका सबैभन्दा ठूलो प्रेरणा नै रोनाल्डो हुन् । समग्र पोर्चुगलको प्रदर्शन उनकै वरिपरिमात्र घुमेको हुन्छ । समूहको अन्तिम खेलमा केही लफडा र पेनाल्टी मिस भएपछि उनका लागि पनि प्रत्युत्पादक भएको छ । उरुग्वेविरुद्धको खेलमा आफ्नो लयलाई ट्रयाकमा ल्याउनु पोर्चुगिज टोलीका लागि नै अपरिहार्य छ ।

म्याच फ्याक्ट्स

१. लुईस स्वारेजले उरग्वेका लागि विश्वकपमा ७ गोल गरिसकेका छन् । उनी ओस्कार मिगुजभन्दा १ गोलले पछि छन् ।

२. लुइस स्वारेजले विश्वकपको नकआउट चरणमा एउटा खेलमा मात्र २ वा २ भन्दा बढी गोल गरेका छन् । सन् २०१० मा दक्षिण कोरियाविरुद्ध उनले २ गोल गरेका थिए ।

३. क्रिष्टियानो रोनाल्डोले अहिलेसम्म विश्वकपको नकआउट चरणमा गोल गर्न सकेका छैनन् । उनी विश्वकपको नकआउट चरणमा ४२४ मिनेटदेखि गोलविहीन छन् ।

४. पेनाल्टी शुटआउटलाई छाडेर पोर्चुगलले ठूला प्रतियोगिताका पछिल्ला १७ खेलमध्ये एउटामा मात्र पराजित भएको छ । पोर्चुगलले ८ जित र ८ बराबरी खेलेको छ । पोर्चुगल सन् २०१४ को विश्वकपमा जर्मनीसँग ४–० ले पराजित भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया