किम जोङ उन र पुटिनबीच रुसमा पहिलो पटक भेटवार्ता

 बैशाख १२, २०७६ बिहिबार १५:२:१४ | एजेन्सी
unn.prixa.net

उत्तर कोरियाका शीर्ष नेता किम जोङ उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो पटक भेटघाट भएको छ । किम बुधबार ट्रेनबाट रुस पुगेका थिए । यी दुई नेताबीच रुसको बन्दरगाह शहर भ्लादिभोस्ताकनजिक रस्की द्वीपमा भएको थियो । 

यी दुई नेताबीच कोरियाको प्रायद्वीपमा परमाणु समस्यामाथि चर्चा हुने रुसले बताएको छ । तर अमेरिकासँगको वार्ता विफल भएपछि किमले रुससँग सहयोग माग्न सक्ने बताइएको छ । 

 

किम र पुटिनबीचको भेट एक कलेजमा भएको हो । यस दौरान कलेजको पठनपाठन रद्द गरिएको थियो भने केही विद्यार्थीहरु यी दुई नेताहरुलाई हेर्न जम्मा भएका थिए । 

किम र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच यो वर्षको सुरुवातमा भियतनामको राजधानी हनोईमा भेटवार्ता भएको थियो, जहाँ उत्तर कोरियाको परमाणु हतियार कार्यक्रमका बारेमा चर्चा भएको थियो । तर यी दुई नेताबीच भएको दोस्रो भेटघाट बिना कुनै सम्झौता टुङ्गिएको थियो । 

उत्तर कोरियाली नेता किम रुसमा भव्य स्वागत गरिएकाे थियाे । रुसले ब्याण्ड बाजाको साथ किमको स्वागत गरेको थियो । 

यसअघि किमले रुसी टेलिभिजनसँग भनेका थिए, ‘यो यात्रा सफल हुनेमा म ढुक्क छु । आदरणीय राष्ट्रपति पुटिनसँगको भेटवार्तामा कोरियाली प्रायद्वीपसँग जोडिएका मुद्दा र दुई देशबीचको नाता मजबुत गर्नका लागि ठोस चर्चा गर्न सक्छु ।’

रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेसकोवका अनुसार, 'सिक्स पार्टी टक्स'को माध्यमबाट कोरियाली प्रायद्वीपमा परमाणु हतियारसँग जोडिएको मुद्दा सुल्झाउन सकिन्छ, जुन अहिले ठप्प नै छ । सन् २००३ मा सुरु भएको यो टक्समा दुई कोरियाली देशका अलावा चीन, जापान, रुस र अमेरिका सामेल छन् । 
 

यी दुई पक्ष के चाहन्छन् ?

बीबीसीका दक्षिण कोरियाली संवाददाता लारा बिकरले किमको यो भ्रमणलाई उत्तर कोरियाली एक अवसरको रुपमा लिएको बताएका छन् । अमेरिकासँगको वार्ता विफल भए पछि पनि उत्तर कोरिया आफूसँग शक्तिशाली सहयोगी रहेको देखाउन चाहन्छ । उत्तर कोरियाले अमेरिकी विदेशमन्त्री माइक पोम्पियोलाई हनोईको वार्ता विफल हुनुको जिम्मेवारी ठहराएको छ । 

यो महिनाको सुरुवातमा उत्तर कोरियाले पोम्पियोसँग परमाणु वार्ताबाट अलग गर्ने माग गरेको थियो । उत्तर कोरियाले पोम्पियोले ‘बकवास गर्ने’ आरोप लगाएको थियो र उसले पोम्पियोको स्थानमा ‘ज्यादा सतर्क’ व्यक्तिलाई राख्न भनेको थियो । 

यो सम्मेलनबाट उत्तर कोरियाले आर्थिक भविष्यको लागि अमेरिकाको मात्र मुख ताक्न नपर्ने अवस्था देखाउने अवसर पनि छ । 

रुस र उत्तर कोरियाको सम्बन्ध

विश्लेषकहरुका अनुसार, यो सम्मेलनबाट रुसले पनि कोरियाली प्रायद्वीपमा आफ्नो महत्वपूर्ण भूमिका रहेको देखाउने मौका छ । राष्ट्रपति पुटिन पनि पछिल्लो केही समयदेखि उत्तर कोरियाली नेतासँग मिल्न चाहन्थे । तर ट्रम्प र किमको भेटवार्तामा रुस बाईपास भएको थियो । अमेरिका र चीनजस्तै रुस पनि उत्तर कोरिया परमाणु राष्ट्र हुँदा असहज महसुस गरिरहेको छ । 

शीत युद्धको दौरान सोभियत संघको उत्तर कोरियासँग नजिकको सैन्य र व्यापारिक सम्बन्ध थियो । यसको पछि वैचारिक र रणनीतिक कारण थियो । सन् १९९१ मा सोभियत संघ भङ्ग भए पछि रुस र उत्तर कोरियाबीच व्यापारिक सम्बन्ध कमजोर भयो र उत्तर कोरियाले चीनलाई आफ्नो मुख्य सहयोगी बनायो । 

राष्ट्रपति पुटिनको शासनमा रुस आर्थिकरुपमा मजबुत भयो र सन् २०१४ मा उनले उत्तर कोरियाले सोभियत कालमा लिएको धेरै कर्जा माफ गरिदिए । तर अहिले उत्तर कोरियामाथि रुसको कति कर्जा छ भनेर बहस भैरहेको छ ।   
  
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया