१३ वर्षीय बालकको पिठ्युँमा ५० किलोको भारी

 बैशाख १६, २०७६ सोमबार ८:५:३२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीको सिगास गाँउपालिका - ३ लगनका १३ वर्षीय भानसिंह साउद कक्षा ४ मा अध्ययन गर्नुहुन्छ । उहाँको तौल ३४ किलोग्राम छ तर पढाई खर्च जुटाउन पिठ्युँमा ५० किलोको सिमेन्टको बाेरा बोक्नुहुन्छ । 

भानसिंह दैनिक २ बाेरा सिमेन्ट गाँउपालिकाको चमडेखर्क भन्ने ठाउँमा पुर्‍याउनुहुन्छ । त्यसबापत उहाँले तीन सय रुपैयाँ कमाउँदै आउनुभएको छ । उहाँका बुबा भारतमा मजदुरी गर्नुहुन्छ ।

घरमा भानसिंहसँगै आमा र भाइबहिनी पनि हुनुहुन्छ । दैनिक खान लाउन समस्या भएकोले मजदुरी गर्नुपरेको उहाँले बताउनुभयो । हरेक दिन २ बाेरा सिमेन्ट बोकेर कमाएको तीन सय रुपयाँ भानसिंहले आमालाई नै दिने गरेको बताउनुभयो । 

आफूले कमाएको पैसाबाट पढाई खर्च र कापी कलम किन्न सजिलो भएको भानसिंहले बताउनुभयो । यसका साथै घरमा पैसाको आवश्यकता पर्दा काम चलाउन सजिलो भएको उहाँले बताउनुभयो । बैतडीको दुर्गम ग्रामिण क्षेत्रका अधिकांश बालबालिकाहरु विद्यालय बन्द भएपछि यस्तै काम गरिरहेको अवस्थामा भेटिन्छन् । 

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बैतडीका अध्यक्ष देवराम लोहारले गाउँघरका थुप्रै बालबालिकाहरु बाध्यताले गर्दा आफ्नो तौलभन्दा बढी किलोग्रामको भारी बोकिरहेको अवस्थामा भेटिने गरेको बताउनुभयो । ‘अहिले गाँउघरमा भैरहेका विकास निर्माणका अधिकांश योजनाहरुमा बालबालिकाले मजदुरी गरिरहेका छन्,’ लोहारले भन्नुभयो ।  

घरमा आर्थिक समस्याले पिरोलिएका कारण बालबालिकाहरु मजदुरी गरिरहेको सिगास गाँउपालिका–७ का सुरेन्द्र साउदले बताउनुभयो । केही बालबालिकाहरु विद्यालय बिदाको समयमा यस्ता मजदुरी गर्ने गर्दछन् भने केही बालबालिकाहरु विद्यालय सञ्चालन भैरहेको समयमा पनि यस्ता काम गर्न जाने गरेका छन् ।

धेरै बालबालिकाहरु गरिबी र अशिक्षाका कारण काम गर्न बाध्य छन् । उनीहरुका अभिभावकहरुलाई आफ्ना बालबालिकालाई राम्रो शिक्षादिक्षा दिनुपर्छ भन्ने ज्ञान नहुँदा पनि बालबालिकाहरु श्रम गर्न बाध्य भएको स्थानीय जानकारहरु बताउँछन् ।

अझै पनि धेरैजसो बालबालिकाहरुको दैनिकी भारी बोक्ने, दाउरा चिर्ने, बाटो खन्नेलगायतका काम भएको छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुले कहिलेसम्म आफ्नो तौलभन्दा बढी भारी बोक्ने भन्ने कुराको जवाफ न त स्थानीय सरकारसँग छ, न त केन्द्र सरकारसँग नै छ । 

सरकारले यस्ता बालबालिकाहरुको सुनौलो भविष्यको लागि कार्यक्रमहरु ल्याएर अभिभावकत्व ग्रहण गर्ने हो भने भानसिंहजस्ता बालबालिकाहरुले आफ्नो तौलभन्दा बढीको भारी बोक्ने दिनको अन्त्य हुने थियाे । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया