परीक्षा दिँदादिँदै सुत्केरी

 बैशाख २५, २०७६ बुधबार १५:४५:५६ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – कक्षा १२ को परीक्षा सञ्चालन भइरहेका बेला बैतडीको शिवनाथ गाँउपालिका वडा नम्बर २ मा रहेको नागार्जुन माध्यमिक विद्यालय शर्मालीमा आज एक परीक्षार्थीले बच्चा जन्माएकी छन् । 

शिवनाथ गाँउपालिका वडा नम्बर ६ कि मिना धनाडीलाई परीक्षा हलमै सुत्केरी व्यथा लागेपछि नजिकै रहेको शर्माली स्वास्थ्य चौकीमा लगेपछि छोरी जन्माएकी हुन् । 

आज परीक्षाको आठौँ दिन ऐच्छीक विषय शैक्षिक मुल्याङकनको परीक्षा दिइरहेकी २४ वर्षीया धनाडी कक्षा १२ अध्ययनरत रहेको शिक्षक गोपालसिंह महताले बताउनुभयो । परीक्षामा ३ वटा प्रश्नको उत्तर लेख्न नपाउँदै धनाडीलाइ सुत्केरी ब्यथाले च्यापेपछि नजिकैको स्वास्थ्यचौकी लैजाँदा करिब ९ बजेतिर छोरी जन्माएको शिक्षक महताले जानकारी दिनुभयो ।

अहिले  आमा र बच्चाको अवस्था राम्रो रहेको शर्माली स्वास्थ्य चौकीका अनमी कृष्णा चौधरीले बताउनुभयो । विद्यालयसँगै स्वास्थ्यचौकी जोडीएको हुनाले कुनै समस्या नभएको र दुवैजनाको हेरविचार स्वास्थ्यचौकीमै भइरहेको उहाँले बताउनुभयो । 

यस्तै छुटेको परीक्षा पछि दिन लगाउने वातावरण निर्माण गर्ने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । छुटेको परीक्षा दिन सक्ने भए व्यवस्था मिलाउने र परीक्षा हलमा समस्या हुने भए स्वास्थ्य चौकीमै परीक्षा दिने वातावरण बनाउने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अवस्थीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १०, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया