भियतनाम भ्रमण अत्यन्तै सफल : प्रधानमन्त्री

 बैशाख ३०, २०७६ सोमबार ८:५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमण अत्यन्तै सफल भएकाे बताउनुभएकाे छ । पाँचदिने भियतनाम भ्रमण सकी साेमबार बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण फलदायी रहेकाे बताउनुभएकाे हाे । 

भ्रमणका बेला दुई पक्षीय महत्वपूर्ण सम्झौताहरु भएकाे र त्याे सम्झौता छिट्टै कार्यान्वयनमा आउने उहाँले बताउनुभयाे । सम्झाैता कार्यान्वनका लागि परराष्ट्र सचिवस्तरको संयन्त्र बनेको र यसले आजबाटै काम सुरु गरेको पनि उहाँले बताउनुभयाे ।  

भ्रमणका बेला भएका सम्झाैताले अब नेपाल र भियतनामबीच कूटनीतिक र व्यापारिक सम्बन्धलाई अगाडि बढाउन झनै मद्दत मिलेकाे भन्दै यसले दुई देशबीचकाे सम्बन्धलाई पनि मजबुद पार्ने काम गरेकाे बताउनुभयाे । 

भियतनामसँग कूटनीतिक सम्बन्ध स्थापित भएको करिब चार दशक भइसक्दा प्रधानमन्त्रीको स्तरमा भएकाे यो भ्रमण पहिलो रहेकाले पनि आफ्नाे भ्रमण सफल रहेकाे उहाँले बताउनुभयाे ।

भ्रमणका क्रममा विभिन्न पक्षसँग घनिभूत छलफल गर्नुका साथै अब कूटनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुनेमा विश्वास पनि व्यक्त गर्नुभयाे । करीब दश करोड जनसङ्ख्या भएको देशमा नेपाली उत्पादनको निर्यात बढाउने तर्फ भ्रमणले विशेष महत्व राख्ने उहाँले बताउनुभयाे ।  

साथै आफूले आगामी वर्ष वैशाख दिवसकाे कार्यक्रम नेपालकाे लुम्बिनीमा गर्न संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग छलफल गरेको र त्यसलाई जसरी पनि सफल बनाउन केही आन्तरिक तयारी पनि भइरहेकाे उहाँले बताउनुभयाे । 

प्रधानमन्त्री ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी साेमबार बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६ गते त्याहाँ जानुभएकाे थियाे ।  

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गर्नुभएको थियो ।

   

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया