म आवश्यकता पूरा गर्नका लागि मात्र चलचित्रमा काम गर्दिनँ : अनुष्का शर्मा

 जेठ १, २०७६ बुधबार १८:५३:२२ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेत्री अनुष्का शर्माले आवश्यकता पूरा गर्नका लागि मात्र चलचित्रमा सम्झौता नगर्ने बताएकी छिन् । ‘म त्यो स्थानमा पुगिसकेकी छु, जहाँ केवल आवश्यकता पूरा गर्नका लागि मात्रै फिल्महरु साइन गर्न चाहँदिन,’ उनले भनिन् । 

सन् २०१८ मा ‘परी’, ‘सुई धागा’ र ‘जिरो’ लगायत तीन वटा चलचित्रमा मुख्य अभिनेत्रीको रुपमा काम गरिसकेकी अभिनेत्री अनुष्काले पछिल्लो तीन वर्ष आफ्ना लागि निकै व्यस्त भैरहेको बताएकी छिन् । मिडियासँगको अन्तरक्रियामा उनले यो अवधिमा कैयौ राम्रा चलचित्रहरु समेत छोड्नु परेको बताएकी छिन् । 

अनुष्काले भनेकी छिन्, ‘पछिल्लो तीन वर्षदेखि म फेशनमा पनि काम गरिहेकी छु र म निकै नै व्यस्त छु । मलाई जति पनि भूमिकाहरु मिलिरहेका थिए ती सबै निकै डिमाण्डिङ थिए । एक वर्ष मै ‘परी’, ‘सुई धागा’ र ‘जिरो’ जस्ता चलचित्रमा अभिनय गर्नु सजिलो काम थिएन । सबै भूमिका फक फरक थिए जसका लागि निकै नै तयारी गर्नु आवश्यक थियो । अहिले म त्यो स्थानमा छु, जहाँ बसेर म मेरो आवश्यकता पूरा गर्नका लागि मात्रै चलचित्रहरु साइन गर्न सक्दिनँ ।’

अनुष्काले सन् २०१८ मा चलचित्र ‘सञ्जु’ मा पनि विशेष भूमिका निर्वाह गरेकी थिइन् । अनुष्काले सन् २०१७ मा ‘एनएच १०’ जस्तो हिट फिल्म निर्माण गरेकी थिइन् । साथै उनी आफ्नो हाउस प्रोडक्शन ‘क्लीन स्लेट फिल्म्स’ बाट कैयाैं विषयमा काम गरिरहेकी छिन् । उनले भनिन्, ‘हामी डिजिटल प्लेटफर्मका लागि केही शोहरु निर्माण गरिरहेका छौं ।

एउटा फिल्ममा पनि काम चलिरहेको छ । यी कामको लागि पनि मैले समय दिनु जरुरी छ । मानिसहलाई त्यो कामका बारेमा केही थाहा हुँदैन होला, जुन काम म पर्दा पछाडि गरिरहेकी हुन्छु ।’

अनुष्का शर्मा बलिउडकी स्थापित अभिनेत्री मात्रै नभई एक फेशन डिजाइनर र फिल्म निर्माता पनि हुन् । उनका अनुसार, कलाकारका लागि एकै समयमा दुई किसिमका भूमिकाको लागि समय दिनु जरुरी हुन्छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया