आउँदाे आर्थिक वर्षको कूल बजेटकाे दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई: स्वास्थ्यमन्त्री यादव

 जेठ २, २०७६ बिहिबार १७:१६:१२ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डाै - उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कूल बजेट मध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न पहल गरिरहेको बताउनुभएको छ । 

यसअघिको बजेटमा स्वास्थ्यतर्फ कूल बजेटको जम्मा ४.४ प्रतिशत छुट्टयाइएको भन्दै त्यो बजेटलाई आगामी वर्ष दश प्रतिशत पुर्‍याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गरेको बताउनुभयो । कान्तिबाल अस्पतालमा बिहीबार आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो,‘कुल बजेटको सबैभन्दा बढी बजेट स्वास्थ्य र शिक्षामा विनियोजन हुनु पर्ने हो । तर स्वास्थ्यलाई जम्मा ४.४ प्रतिशत छुट्टयाइयो । देशको स्वास्थ्य सेवा सुधार गर्न बजेटको यो अनुपात अत्यन्तै थोरै हो । त्यसलाई कम्तिमा दश प्रतिशत पुर्‍याउन मैले प्रधानमन्त्रीज्यूसँग र योजना आयोगमा कुरा गरेको छु ।’

थाइल्याण्डमा कूल बजेटको २१ प्रतिशत विनियोगन हुने गरेको उदाहरण दिँदै मन्त्री यादवले स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । कान्ति बाल अस्पतालको व्यवस्थापनलाई मन्त्री यादवले उपलब्ध स्रोत र साधन प्रयोग गरी बिरामीलाई अधिकतम गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन समेत दिनुभयाे ।  

कर्मचारी समायोजन सम्पन्न भएलगत्तै देशभरको स्वास्थ्य जनशक्ति, अस्पतालको भौतिक तथा प्राविधिक अवस्था र मेडिकल उपकरणको उपलब्धता लगायतको समग्र अवलोकन एवं तथ्यांक संकलन गरी आवश्यक जनशक्ति र उपकरण देशैभरका अस्पतालमा पुर्‍याउन पहल गर्ने मन्त्री यादवले जानकारी दिनुभयो  । 

टेकुमा रहेकाे परिवार स्वास्थ्य महाशाखाले झण्डै ८० लाख मूल्यको उपकरण बिहीबार कान्ति बाल अस्पताललाई उपलब्ध गराएको छ ।
 

अन्तिम अपडेट: चैत २, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया