सगरमाथाबाट ४ हजार किलो फोहोर काठमाण्डौ ल्याइयो, शव संकलनमा अझै समस्या

 जेठ ३, २०७६ शुक्रबार १७:३६:७ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - सगरमाथाको सफाइ गरी ४ हजार किलो फोहोर संकलन गरेर काठमाण्डौ ल्याइएको छ ।

वैशाख १ गतेदेखि लुक्लाबाट खुम्बु पासाङ ल्हामू गाउँपालिकाको नेतृत्वमा सुरु भएको सफाइ अभियानबाट ४ हजार किलो फोहोर  संकलन गरेर काठमाण्डाै ल्याइएको सगरमाथा सफाइ अभियानले जनाएको छ ।

सफाइ टोली  अहिले सफाइ गर्दै सगरमाथा बेसक्याम्प, क्याम्प १, क्याम्प २, क्याम्प ३ र क्याम्प ४ हुँदै साउथपोलसम्म पुगेको छ । यसबीचमा  काठमाण्डौ ल्याइएको मध्ये १ हजार किलो फोहोर  व्यवस्थापनका लागि ब्लू ओष्ट टु भ्यालु संस्थालाई दिइएको छ । ३ हजार केजी फोहोर त्रिभुवन विमानस्थमा रहेकाे नेपाली सेनाको १४ नम्बर वाहिनीमा राखिएको छ । 

यस्तै सगरमाथा संकलन र आरोहणका क्रममा ज्यान गुमाएका शव संकलन गर्न १२ जना शेर्पा खटाइएको छ । उनीहरुले ४५ दिन काम गर्नेछन् ।  अहिलेसम्म केही शव देखिए पनि सगरमाथा चढ्न जानेहरुको भिडका कारण शव संकलन गर्न नसकिएको पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरेले जानकारी दिनुभयो ।अवस्था केही सहज भएपछि शव संकलनको काम अघि बढाईने उहाँले जानकारी दिनुभयो । 

अभियानअन्तर्गत बेस क्याम्प वरपरबाट ५ हजार, साउथ पोलबाट २ हजार र क्याम्प २ र तिनबाट ३ हजार किलो फोहोर संकलनको लक्ष्य राखिएको छ । 

अहिले क्याम्प १ र २ बाट २ हजार किलो र बेसक्याम्प वरपरबाट १९ सय किलो फोहोर संकलन गरिएको छ । यस्तै क्याम्प ४ र साउथ पोलबाट ४११ किलो फोहोर संकलन गरिएको छ । यस्तै गोरप्सेक क्षेत्रबाट संकलन भएको १२३० किलो फोहोर कालापथ्थरमा राखिएको छ । 

संकलन भएको फोहोर सगरमाथा दिवसको दिन जेठ १३ गते नाम्चे र काठमाडौमा प्रदर्शनीमा राखिनेछ । रिसाइकल गर्न मिल्ने फोहोर फेरि प्रयोग गरिनेछ । 

खर्च २ करोड ३२ लाख 

सगरमाथा सफाइको लागि २ करोड ३२ लाख १६ हजार रुपैयाँ खर्च हुने अनुमान छ।  संकलनका लागि पर्यटन मन्त्रालयले ३ लाख, वन मन्त्रालयले ५० लाख, प्रदेश १ को पर्यटन मन्त्राल ले २५ लाख रुपैयाँ दिएका छन् । 

यस्तै खुम्बु पासाङ ल्हामू गाउँपालिकाले ३० लाख, पर्यटन बोर्डले ३० लाख, भिजिट नेपाल २०२० ले २० लाख, नेपाल पर्वतारोहण संघले २० लाख, कोकाकोलाले ४० लाख, बोटलर्स नेपालले १० लाख, डब्ल्यू डब्ल्यू एफबाट २० लाख, प्रभु बैंकले १० लाख, एनसीसी बैंकले १० लाख र नबिल बैंकले ५ लाख रुपैयाँ सहयोग गरेका छन । 

दुर्घटनाको सम्भावित अवस्थालाई ख्याल गरेर रेस्क्यु टोली र हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया