चलचित्रको पोस्टर सार्वजनिक भएसँगै यी निर्देशकले चलचित्रबाट किन हात झिके ?

 जेठ ५, २०७६ आइतबार १९:९:५५ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता अक्षय कुमारको सन् २०१९ मा पनि धेरै चलचित्रहरु आउँदैछन् । तर अहिले 'लक्ष्मी बम' नाम गरेको चलचित्र विशेष चर्चामा छ । अभिनेता अक्षय कुमार यो चलचित्रमा तेस्रोलिङ्गीको भूमिका निर्वाह गर्न गैरहेका छन् । 

यो चलचित्र सन् २०११ मा आएको तमिल चलचित्र 'मुनी : २ कञ्चना' को रिमेक हो । यो चलचित्रमा राघव लरेन्सले मुख्य भूमिका निर्वाह गर्दै निर्देशन पनि गरेका थिए । 

अक्षय कुमारले अभिनय गर्ने चलचित्रमा पनि उनले नै निर्देशन गर्ने भनिएको थियो तर उनले आत्मसम्मानका लागि यो चलचित्र छोडेको बताएका छन् । 
राघवले शनिबार मात्र सामाजिक सञ्जालमा पोस्ट गर्दै यो चलचित्र छोड्ने खबर दिएका थिए ।

 

‘तमिलमा एउटा पुरानो भनाइ छ : तिमी त्यो घरमा कहिले पनि नजाउ जहाँ तिम्रो सम्मान हुँदैन । मैले कञ्चना को हिन्दी रिमेक लक्ष्मी बम बाट हात झिक्नुको पछाडि धेरै कारण छ । मेरो जानकारी बिना नै चलचित्रको फर्स्ट लूक सार्वजनिक गरिनु पनि एउटा कारण हो,’ उनले आफ्नो पोस्टमा लेखेका छन् । 

‘म यो चलचित्रको निर्देशनबाट पछाडि हटे पनि अभिनेता अक्षय कुमारसँग भेट्नेछु र चलचित्रको स्क्रिप्ट दिन्छु । उनले आफूले चाहेको निर्देशक राख्न सक्छन् र मेरो तर्फबाट चलचित्रलाई सफलताको शुभकामना दिन चाहन्छु,’ उनले भने । 

 

गएको १७ मे मा अक्षयले सामाजिक सञ्जालमा आफ्नो आगामी चलचित्र 'लक्ष्मी बम' को फर्स्ट लूक सार्वजनिक गरेका थिए । फर्स्ट लुक सार्वजनिक भएको २४ घण्टाभित्र नै राघव निर्देशनबाट टाढा भएका हुन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया