पाँचथर हत्याकाण्ड : प्रदेश सरकारले बालिकाको उपचार गर्ने, हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याइने

 जेठ ७, २०७६ मंगलबार २०:३९:४१ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटेका धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जना सदस्यको हत्या भएको बारेमा प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीद्धारा  मंगलबार जारी गरिएको विज्ञप्तिमा घटनाका बारेमा सत्यतथ्य र प्रभावकारी अनुसन्धानका लागि प्रदेश प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो तथा सम्बन्धित जिल्लाका सुरक्षा निकायलाई घटनास्थलमा परिचालन गरिसकिएको उल्लेख गरिएको छ ।

घटनास्थलमा अनुसन्धानका लागि सुरक्षा अधिकारीहरु सहितको टोली घटना स्थलमा परिचालन भैसकेको र घटनाको बारेमा अनुसन्धान भैरहेको प्रवक्ता कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ  । ‘घटनापछि मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुका आफन्तजन, नातागोता, इस्टमित्र, गाउँघर र स्थानीय बासिन्दाहरुलाई धैर्यधारण गरी संयमता अपनाउन तथा अनुसन्धानमा आ–आफ्नो ठाउँबाट सहयोगका लागि प्रदेश सरकार अपिल गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै घटनास्थलबाट भाग्न सफल भई ज्यान जोगाएकी १२ वर्षीया घाइते बालिका सीता खजुमको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निजको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले गर्ने तथा घटनामा संलग्न जो कोही अपराधीलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने प्रवक्ता कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया