डुबानमा परेपछि स्थानीयले भत्काए भारतीय नहर

 असार १९, २०७५ मंगलबार ११:२५:३३ | बृजराज कुशवाह
unn.prixa.net

नवलपरासी – बर्सेनि डुबान र कटानको पीडा भोग्दै आएका गण्डक कमाण्ड क्षेत्रका वासीन्दाहरुले यसवर्ष पनि डुबानमा परेपछि भारतीय गण्डक नहरको बाँध भत्काएर पानीको निकास गराएका छन् ।

अबिरल वर्षाका कारण आएको बाढीको पानी जमेको  दुई दिनभन्दा बढी भएपछि धानबाली कुहिने त्रासले बाँध काटेर भए पनि पानी निकास गराउन बाध्य भएको सुस्ता गाउँपालिका वडा नं २ का वडाध्यक्ष कृष्णलाल मुखियाले बताउनुभयो ।

वडा नम्बर २ मा ३०० विगाहा भन्दा बढी क्षेत्रफलमा रोपिएको डुबानमा परेको थियो । यहाँको पानीको निकासका लागि रानीनगर गण्डक नहरमा साईफन बनाइएको भए पनि साइफनले पूर्ण क्षमतामा पानी तान्न सकेको छैन । 

वडाध्यक्ष मुखियाका अनुसार साइफनको सफाई भारत सरकारले गर्नुपर्छ तर यो वर्ष पनि नाम मात्रको सफाई गरिएको छ । जसले गर्दा साईफनले पानी तान्न सक्दैन र डुबान हुने गर्छ । 

बाढीको पानीले धानबाली डुबानमा परेपछि रानीनगरको पश्चिमतर्फ गण्डक नहरको बाध काटिएको हो । यो क्षेत्रमा गएको वर्ष पनि डुबान भएको थियो । डुबानका कारण धानबाली नष्ट भएको थियो ।

पानीले डुबेपछि गएको वर्ष पनि सुस्ता गाउँपालिका क्षेत्र मै गण्डक नहर भत्काउने प्रयास भएको थियो । यसले गर्दा नेपाली र भारतीय पक्षबीच झगडा पनि भएको थियो ।

नेपाल र भारतबीच सन् १९५९ मा भएको सिंचाई तथा जलविद्युत सम्झौता अनुसार गण्डक कमाण्ड क्षेत्रमा डुबान कटानको प्रभावबाट रक्षात्मक उपाय गर्ने जिम्मेवारी भारतीय पक्षको हुनेछ । तर भारतीय पक्ष उदासिन रहने गरेको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

बृजराज कुशवाह

बृजराज कुशवाह नवलपरासी सुस्ता पश्चिमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

 

तपाईको प्रतिक्रिया