म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले युभेन्टस जाने सम्झाैता गरेकाे खुलासा

 जेठ ८, २०७६ बुधबार २०:१६:४६ | एजेन्सी
unn.prixa.net

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले युभेन्टस जाने सम्झौता गरेको खुलासा भएको छ । स्पेन, जर्मनी र इंग्ल्याण्डका क्लबलाई प्रशिक्षण दिएर सफल बनाइसकेका ग्वार्डिओला चार वर्षका लागि इटालियन क्लब जाने भएका हुन् ।

४८ वर्षे स्पेनिस प्रशिक्षकले म्यानचेस्टर सिटीलाई ऐतिहासिक ट्रिप्पल (प्रिमियर लिग, एफए कप र लिग कप) जिताएका थिए । तर, उनले क्लबलाई च्याम्पियन्स लिग भने जिताउन सकेनन् ।

म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा टोटनह्यामसँग पराजित हुँदै युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।  युभेन्टसका वर्तमान प्रशिक्षक मासिमिलियानो एलिग्रेको प्रतिस्थापनका लागि ग्वार्डिओलालाई नियुक्त गरिन लागेको हो ।

तर ग्वार्डिओलाले भने यो अफवाह हो भनेका छन् । ‘म युभेन्टस वा इटाली जान लागेको हैन । यहाँ (म्यानचेस्टर सिटी) दुई वर्ष अझै बाँकी छ । म यहाँ सन्तुष्ट छु ।अर्को सिजन पनि म म्यानचेस्टर सिटीकै प्रशिक्षकका रुपमा रहनेछु ।’

यस्तो प्रतिक्रिया दिएको दुई दिन पनि बित्न नपाउँदै इटालियन मिडियाले यो ग्वार्डिओलाको यो समाचार बाहिर ल्याएका छन् । उनले युभेन्टसका स्पोर्टिङ डाइरेक्टर फावियो पाराटिकीसँग मंगलबार भेट गरेका थिए ।

सिरी ए च्याम्पियन युभेन्टस विषेशगरी च्याम्पियन्स लिगको भोको रहेको छ । च्याम्पियन्स लिग जित्नका लागि युभेन्टसले अघिल्लो सिजन क्रिष्टियानो रोनाल्डोलाई आबद्ध गरेको थियो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया