भारतीय लोकसभा चुनाव : दुई लाख मतले पछाडि रहेका कन्हैयाले के भने ?

 जेठ ९, २०७६ बिहिबार १३:३४:५९ | एजेन्सी
unn.prixa.net

भारतीय लोकसभा चुनाव २०१९ को मतगणना जारी छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ । 

सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८० भन्दा बढी सिटमा अगाडि रहेको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ । 

भारतमा मात्रै नभई नेपालमा पनि चर्चित रहेको बिहारको बेगुसरायमा ताजा मतगणना अनुसार, बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंह दुई लाख बढी मतले अगाडि रहेका छन् । 

पछिल्लो परिणामअनुसार गिरिराज सिंहले ३ लाख ५० हजार मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैयाले एक लाख ५० हजार मत प्राप्त गरेका छन् । 

साथै राष्ट्रिय जनता दलबाट तनवीर हसन पनि यसै सिटबाट प्रतिस्पर्धामा रहेका छन् । उनले ९४ हजार मत प्राप्त गरेका छन् । 

जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता कन्हैया कुमारको चुनावी प्रचारप्रसारमा जावेद अख्तर, प्रकाश राजलगायतका चर्चित हस्ती मैदानमा उत्रिएका थिए । 

यसैबीच कन्हैया कुमारले आफूले हारे पनि केही नगुमाउने प्रतिक्रिया दिएका छन् ।

के भने कन्हैयाले ?

‘सबैभन्दा पहिले त अन्तिम नतिजा के आउँछ भन्ने कुरा हो । मतपरिणाममा हामी पछि परे पनि हाम्रा बीचमा थुप्रै आशाका किरणहरु देखा परेका छन् । विकल्प नहुनुको फाइदा बीजेपीलाई प्राप्त भएको छ । बेगुसरायमा १२ लाख १८ हजार भोट खसेको छ । अहिले केवल ५–६ लाख भोट मात्रै गनिएको छ । मैले पहिले पनि भनेको थिए, मलाई गुमाउनु केही छैन । म अहिले हारिसकेको त छैन । तर यो नम्बर परिवर्तन हुन पनि सक्छ ।’
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया