मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता नहुने सञ्चारमन्त्रीकाे भनाइ

 जेठ ९, २०७६ बिहिबार १८:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

 

काठमाण्डाै - सरकारले संघीय संसदमा दर्ता गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता नहुने स्पष्ट पारेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिलसम्बन्धी संसदमा दर्ता गरिएको विधेयक फिर्ता नहुने अडान राख्नु भएको हो । बिहीबार  विधेयकका केही प्रावधान तत्काल हटाउन माग गर्दै सत्तारुढ नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालले ज्ञापन पत्र बुझाएपछि उहाँले सञ्चारकर्मीमाझ विधेयक फिर्ता नहुने अडान राख्नुभएको हो ।

मन्त्री बाँस्कोटाले विधेयकलाई समृद्ध बनाउने गरी आएका सुझावलाई भने ग्रहण गरेर अघि बढने पनि बताउनु भयो । उहाँले सरकारको प्रेसलाई संकुचित बनाउने कुनै मनसाय नरहेको पनि स्पष्ट पार्नुभयो । मन्त्री बाँस्कोटाले संविधानले वर्जित गरेका विषयमा लेख्ने काम गरे मात्रै दण्ड जरिवानाको व्यवस्था गर्ने गरी विधेयक ल्याइएको दावी पनि गर्नुभयो ।

मन्त्री बाँस्कोटाले संसद हरेक विधेयकको छलफल गर्ने सबैभन्दा ठूलो निकाय भएकाले त्यसमा व्यापक छलफल गरेर सो विधेयकलाई टुंगोमा पुर्‍याउने योजना पनि अघि सार्नुभयो । प्रेस संगठन नेपालले भने सो विधेयकमा पत्रकारहरुलाई दण्ड सजाय गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै त्यसलाई तत्काल हटाउन माग गरेको थियो ।

प्रेस संगठन नेपालका सह-संयोजक गणेश बस्नेतले विधेयकको बुँदा नम्बर १८ मा रहेको ‘२५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने’ र ‘क्षतिपूर्ति भराउने सम्बन्धी व्यवस्था’ हटाउन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइएको स्पष्ट पार्नुभयो । संगठनले मिडिया काउन्सिललाई सरकार नियन्त्रित नभइ स्वायत्त निकायको रुपमा स्थापित गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रेस संगठन नेपालले मन्त्री बाँस्कोटालाई बुझाएको ज्ञापनपत्रमा सञ्चार क्षेत्रसँग सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला निकायसँग व्यापक छलफल गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया