राम्राे प्रदर्शनका बाबजुद विश्वकप क्रिकेटको टिममा स्थान बनाउन नसकेका यी खेलाडी

 जेठ ९, २०७६ बिहिबार १९:१९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

खेलाडीलाई आफूले खेल्ने खेलको विश्वकप खेल्ने चाहना हुनु स्वभाविकै हाे । कतिले यो चाहना चाँडै पूरा गर्छन् त कतिले यसका लागि धैर्य गर्नुपर्ने हुन्छ । आईसीसी विश्वकप क्रिकेटको माहोलमा टिममा स्थान बनाउन नसकेका ६ खेलाडी यस्ता छन् ।

६. ऋषभ पन्त - भारत

विश्वकपका लागि चुनिएको १५ सदस्यीय टिममा विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्तले स्थान बनाउन सकेनन् । सुरुमा उनको चर्चा महेन्द्रसिंह धोनीलाई रिप्लेस गर्ने खेलाडीको रुपमा गरिएको थियो । उनले भारतका लागि ९ टेस्ट, ५ एक दिवसीय र १५ टी–२० खेलेका छन् । ऋषभले स्थान नपाएपछि ब्याकअप विकेटकिपरको रुपमा दिनेश कार्तिकलाई टिममा राखिएको छ । तर धोनी फिट हुँदासम्म कार्तिकले मौका भने पाउने छैनन् ।

५. पिटर ह्याण्डसकम्ब - अस्ट्रेलिया

अस्ट्रेलियाको टिममा पिटर ह्याण्डसकम्बले स्थान बनाउन सकेनन् । उनी पनि विकेटकिपर ब्याट्सम्यान हुन् । उनको चयन हुने सम्भावना हुँदा-हुँदै अस्ट्रेलियाले विकेटकिपरको रुपमा एलेक्स क्यारीलाई मात्रै छनोट गरेको छ । उनको विकल्प को हुने भन्ने अहिलेसम्म तय छैन । ह्याण्डसकम्ब तीव्र गतिको बल सामना गर्ने मात्रै नभई स्पिनसँग पनि राम्रो खेल्ने ब्याट्सम्यानमा पर्छन् । अस्ट्रेलियाले भारतीय भूमिमा सिरिज जित्दा उनले राम्रो प्रदर्शन गरेका थिए । ११ खेलमा उनले ४७९ रन बनाएका छन् । तर उनी उत्कृष्ट फर्ममा हुँदा-हुँदै पनि टिममा स्थान बनाउन भने असफल भए ।

४. एलेक्स हेल्स - इंग्ल्याण्ड

एलेक्स हेल्स प्रारम्भिक सूचीमा रहे पनि अन्तिम सूचीमा अलराउण्डर जोफ्रा आर्चरलाई ल्याएर उनलाई बाहिर पठाइएको छ ।

३. दिनेश चाण्डिमल - श्रीलंका

श्रीलंकाका दिनेश चाण्डिमलले १४६ एक दिवसीय क्रिकेट खेलिसकेका छन् । उनले ३ हजार ५ सय ९९ रन बनाउँदा मध्यक्रममा टिमको पारी राम्रोसँग सम्हाल्दै आएका थिए । श्रीलंकाको सबैभन्दा कम उमेर कप्तान बन्ने रेकर्ड बनाएका चाण्डिमलले आसन्न विश्वकपमा भने स्थान बनाउन सकेनन् । पछिल्लो फर्मका कारण उनी टिम बाहिर भएका हुन् ।

२. टिम साइफर्ट - न्यूजिल्याण्ड

न्यूजिल्याण्डले टिम घोषण गर्दा ब्याट्सम्यान भन्दा पनि विकेटकिपरको जरुरी रहेको बताएका थिए । त्यसका लागि न्यूजिल्याण्डले ब्याकअप विकेटकिपर छान्नु परेको थियो । शानदार फर्ममा रहेका साइफर्ट उत्कृष्ट विकेटकिपर हुँदा-हुँदै पनि उनले टिममा स्थान बनाउन सकेनन् । साइफर्टको साटो न्यूजिल्याण्डले टम ब्लण्डललाई लिएको छ ।

१. कायरन पोलार्ड - वेस्ट इण्डिज

वेस्ट इण्डिजले छानेको १५ सदस्यीय क्रिकेट टिममा पोलार्डले स्थान बनाउन सकेनन् । ट्रिनिडाड एण्ड टाेबागाेका अलराउण्डर कायरन पोलार्डले १५ सदस्यीय टिममा स्थान बनाउन नसके पनि ब्याकअप खेलाडीको रुपमा भने वेस्ट इण्डिजले उनीसँगै १० खेलाडीको नाम सार्वजनिक गरेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया