विश्वकप क्रिकेट: ह्याट्रिक लिने यी नाै प्रतिभाशाली बलर

 जेठ १०, २०७६ शुक्रबार ९:१२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटको १२ औं संस्करण ३० मेदेखि इंग्ल्याण्ड र वेल्समा शुरु हुँदैछ । ११ संस्करणमध्ये ५ पटक अस्ट्रेलियाले विश्वकप जित्दा वेस्ट इण्डिज र भारतले दुई-दुई पटक उपाधि जितेका छन् ।

यसैगरी पाकिस्तान र श्रीलंकाले एक-एक पटक विश्वकपको ट्रफी लिएर घर फर्किँँदा दक्षिण अफ्रिका, बंगलादेश र न्यूजिल्याण्डले यस्तो मौका पाएका छैनन् ।

११ वटा विश्वकपमध्ये ९ वटा विश्वकपमा बलरले ह्याट्रिक विकेट लिन सफल भएका छन् । यी हुन् ह्याट्रिक विकेट लिने खेलाडीहरु:

१. चेतन शर्मा - भारत

विश्वकपमा पहिलो ह्याट्रिक विकेट लिने खेलाडी भारतका चेतन शर्मा हुन् । तीव्र गतिका बलर चेतनले १९८७ को विश्वकपमा न्यूजिल्याण्डविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । नागपुरमा भएको खेलमा शर्माले न्यूजिल्याण्डका केन रदरफोर्ड, इयान स्मिथ र एवेन चेटफिल्डलाई बोल्ड आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । यो खेल भारततले ९ विकेटले जितेको थियो भने सुनिल गावस्करले पहिलो शतक बनाएका थिए ।

२. सकलैन मुश्ताक - पाकिस्तान

पहिलो पटक विश्वकपमा ह्याट्रिक भएपछि दोस्रो ह्याट्रिक हुन १२ वर्ष कुर्नुपरेको थियो । १९९९ मा पाकिस्तानका स्पिन बलर सकलैन मुश्ताकले जिम्बावेविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । जसमा पाकिस्तानले १४८ रनले जिम्बावेलाई पराजित गरेको थियो । मुश्ताकले हेनरी ओलोंगालाई स्टम्प आउट गराएका थिए । दोस्रो विकेटको रुपमा एडम हकल र तेस्रो विकेटको रुपमा पमेलेलोलाई आउट गर्दै ह्याट्रिक पूरागरेका थिए ।

३. चामिन्डा भास - श्रीलंका

२००३ को १४ फेब्रुअरीमा बंगलादेशविरुद्ध चामिन्डा भासले ह्याट्रिक लिएका थिए । उनको त्यो ह्याट्रिक विश्व क्रिकेटमा अहिले पनि कसैले तोड्न सकेको छैन । चामिन्डा भासले पहिलो ओभरको शुरुका तीन बलमै विकेट लिँदै ह्याट्रिक लिने कीर्तिमान बनाएका थिए । पहिलो ओभरको पहिलो बलमा हनन सरकारलाई बोल्ड गर्दै विकेट लिन सुरु गरेका भासले त्यसपछि मोहम्मद अशरफुललाई आउट गरे । तेस्रो विकेटको रुपमा एहसानुल हकलाई आउट गर्दै ह्याट्रिक पूरा गरेको खेलमा श्रीलंका १० विकेटले विजयी भएको थियो ।

४. ब्रेट ली - अस्ट्रेलिया

श्रीलंकाका चामिन्डा भासले ह्याट्रिक विकेट लिएको ११ दिनपछि अस्ट्रेलियाका ब्रेट लीले केन्याविरुद्ध ह्याट्रिक गरेका थिए । चौथो ओभरमा केनेडी ओटिएनो, ब्रिजल पटेल र डेविड ओबुयालाई आउट गर्दै उनले ह्याट्रिक पूरा गरेका थिए ।

५. लासिथ मालिंगा - श्रीलंका

लासिथ मालिंगाले विश्वकपमा दुई पटक ह्याट्रिक विकेट लिएका छन् । उनी यस्तो गर्ने एक मात्र खेलाडी हुन् । २००७ मा दक्षिण अफ्रिकाविरुद्ध उनले पहिलो विश्वकपमै ह्याट्रिक लिएका थिए । मालिंगाले ह्याट्रिक मात्रै नभइ लगातार चार विकेट नै हात परे ।

दक्षिण अफ्रिकालाई जित्नका लागि ४ रन आवश्यक परेका बेला उसका ५ विकेट बाँकी थिए । तर मालिंगाले लगातार चार विकेट लिँदै दक्षिण अफ्रिकालाई दबाबमा ल्याएका थिए । मालिंगाले पाँचौँ बलमा शन पोलकलाई आउट गरे । त्यसपछि एन्ड्रू हललाई पेभेलियन पठाएका थिए ।

त्यसपछिको ओभरको पहिलो बलमा ज्याक कालिसलाई शिकार गर्दै ह्याट्रिक पूरा गरे । चौथो विकेटको रुपमा मखाया एन्टिनीलाई आउट गर्दै लगातार चार बलमा चार विकेट लिए । तर दक्षिण अफ्रिकाले यो खेल भने जितेको थियो ।

६. किमार रोच - वेस्ट इण्डिज

२०११ को विश्वकपमा वेस्टइण्डिजका तीव्र गतिका बलर किमार रोचले नेदरल्याण्डसविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । उनी वेस्ट इण्डिजबाट ह्याट्रिक विकेट लिने पहिलो खेलाडी पनि हुन् । रोचले नेदरल्याण्डका पीटर सीलर, बर्नार्ड लुट्स र बेरेड वेस्त्जिक्सलाई आउट गर्दै ह्याट्रिक पूरा गरे ।

७. लासिथ मालिंगा - श्रीलंका

लासिथ मालिंगाले २०११ मा पनि ह्याट्रिक विकेट लिए । केन्याकाविरुद्ध उनले ह्याट्रिक विकेट लिएपछि विश्वकपमा दुई पटक ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका हुन् । उनले केन्याविरुद्ध ह्याट्रिक गर्दा तन्मय मिश्रा, पीटर ओगोन्डो र शेम गोचेलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

८. स्टीवन फिन - इंग्ल्याण्ड

विश्वकप २०१५ मा इंग्ल्याण्डका स्टीवन फिनले ह्याट्रिक विकेट लिएका थिए । उनी ह्याट्रिक विकेट लिने पहिलो इंग्लिस खेलाडी पनि बने । अस्ट्रेलियाविरुद्ध ह्याट्रिक विकेट लिँदा ब्रेड हेडिन, ग्लेन म्याक्सवेल र मिचेल जोनसनलाई पेभेलियन पठाएका थिए ।

९. जेपी डुमिनी - दक्षिण अफ्रिका

विश्वकपको नवौँ ह्याट्रिक २०१५ मा जेपी डुमिनीको नामबाट बन्यो । डुमिनीले क्वार्टरफाइनलमा श्रीलंकाविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । उनले श्रीलंकाका एन्जेलो म्याथ्यूज, नुवान कुलसेकरा र थारिदु कौशललाई आउट गरेका थिए । उनी पछि विश्वकपमा अर्को ह्याट्रिक विकेट लिने बलर छैनन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया