प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
सुर्खेत - आर्थिक वर्ष २०७६/७७ को बजेटको लागि कर्णाली प्रदेशको बजेट अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । अधिवेशनको पहिलो दिन शुक्रबार दलको प्रतिनिधित्व गर्दै सांसदहरुले आआफ्नो धाराणा राखेका छन् ।
बैठकको पहिलो दिन सांसदहरुले कर्णालीको समृद्धिका लागि मन्त्रीहरुले व्यक्तिगत रुपमा नीति तथा कार्यक्रम घोषणा गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेकपाका सांसद यामलाल कँडेलले आउँदाे दिनहरुमा यस्तो प्रवृत्तिको अन्य गर्नुपर्ने बताउनुभयो । ‘हामी सबै मिलेर प्रदेश बनाउने हो । हामीले नै बजेट कार्यान्वय गर्ने हो’ उहाँले भन्नुभयो, ‘यसैले मन्त्रीपिच्छे नीति तथा कार्यक्रम घोषणा गर्ने कार्य सच्याउन आवश्यक छ ।’
सबैको योगदानबाट परिवर्तन भएको संरचना स्थापित गर्नका लागि कर्णाली प्रदेश अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सांसद कँडेलले देखिएका समस्यालाई विषयवस्तुमा केन्द्रित भएर छलफल गर्नुेपर्नेमा जोड दिनुभयो । 'सबैले आआफ्नो जिम्मेवारीप्रति हेक्का राख्न सके विकास गर्न सकिन्छ,' उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले गरेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै चर्को आलोचना गर्नुभयो । सरकारले संसदमा एउटा नीति तथा कार्यक्रम पारित गर्ने तर मन्त्रीहरुले क्याबिनेटबाट र व्यक्तिगत रुपमा योजनाहरुलाई मोडिदिने गरेको उहाँको भनाइ छ । ‘हाम्रो सरकारले प्रदेश राजधानी जिल्लाकै विकास गर्न सकेको रहेनछ’, उहाँले भन्नुभयो, ‘अन्य जिल्लाका के विकास भयो होला ? ।’
यस्तै राप्रपाकी सांसद सुशीला शाहीले विगतका जस्तै खल्तीका योजना ल्याइए सुखी कर्णालीको सपना पूरा नहुने बताउनुभयो । ‘अझै पनि विगतका जसरी खल्तीका भरमा आयोजना ल्याउने, बजेट छुट्टाउने हो भने 'सुखी कर्णाली : समृद्ध कर्णाली' को नारा सपनामा मात्र सीमित हुनेछ’ उहाँले भन्नुभयो ।
प्रदेश सभाको अर्को बैठक जेठ १३ गते बस्नेछ । सरकारले नीति तथा कार्यक्रम र बजेटको तयारीलाई तीव्रता दिएको छ । संवैधानिक व्यवस्था अनुसार, असार १ गते प्रदेश सरकारहरुले बजेट ल्याउने पर्ने व्यवस्था रहेको छ ।