विश्वकप क्रिकेटको अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानलाई हरायाे

 जेठ ११, २०७६ शनिबार ६:१७:३४ | एजेन्सी
unn.prixa.net

विश्वकप क्रिकेटको अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको छ । ब्रिस्टोलमा पाकिस्तानले दिएको २६३ रनको लक्ष्य अफगानिस्तानले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।

अफगानिस्तानलाई जित दिलाउन हसमतुल्लाह शाहिदी र मोहम्मद नाबीले उत्कृष्ट साझेदारी गरेका थिए । हसमतुल्लाहले नटआउट रहँदै अर्धशतकसहित ७३ रन बनाउँदा नाबीले पनि ३४ रनको योगदान गरे । हजरतुल्लाह जजाइ ४९ रनमा आउट हुँदा रहमत शाहले ३२ रनको योगदान गरे ।

पहिले ब्याटिङ गरेको पाकिस्तान ४७.५ ओभरमा २६२ रन बनाएर अल आउट भएको थियो । पाकिस्तानलाई कम स्कोरमा रोक्ने क्रममा मोहम्मद नाबीले तीन तथा रासिद खान र दाैलत जद्रानले दुई-दुई विकेट लिए । पाकिस्तानका बाबर आजमले शतकीय पारी खेल्दै ११२ रन बनाउँदा शोयब मलिकले ४४ रन जोडे ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया