आफ्नो कारणले उडान ढिला भएको भन्दै मेक्सिकन मन्त्रीले दिइन् राजीनामा

 जेठ १२, २०७६ आइतबार १५:३६:२३ | एजेन्सी
unn.prixa.net

नेपालमा भीआईपी र भीभीआईपीका सवारीलाई संस्कृतिका रुपमै विकास गर्दै लगिएको छ । भीभीआईपीको सवारी हुँदा बाटो मात्रै होइन, आकाश नै पनि एक दुई घण्टा खाली गर्ने चलन बढ्दो छ । कतिपय घटनामा त नागरिकले भीभीआईपी सवारी अवज्ञासमेत गर्नु परेको छ । 

यस्तो अवस्थामा आफ्नो कारणले अरु उडानमा अवरोध पुगेको भन्दै मेक्सिकोका वातावरण मन्त्रीले राजीनामा दिएको समाचार सार्वजनिक भएको छ । मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोञ्जालेज ब्लान्कोले आफूले गर्दा फ्लाइट डिले भएको भन्दै राष्ट्रिपतिसमक्ष राजीनामा दिएकी छिन् । उनलाई पर्खँदा उडान ढिला भएको भन्दै सामाजिक सञ्जालमा मन्त्रीको चर्को आलोचना भएपछि उनले राजीनामा दिएकी हुन् । 

गएको डिसेम्बर १ देखि मेक्सिकोको सत्ता सम्हालेका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले भ्रष्टाचारमुक्त सरकारको वाचा गरेका छन् । राष्ट्रपतिसमक्ष राजीनामा बुझाएकी मन्त्रीले लेखेकी छिन्, ‘यसमा कुनै सफाइ आवश्यक नै छैन । एकजनाको फाइदाका लागि धेरैलाई समस्यामा पार्नु गलत कुरा हो । मेक्सिकोको रुपान्तरणका लागि साँचो अर्थमा समानता र न्यायको कुरा लागु हुनुपर्छ ।’ मन्त्रीका कारण उडानमा आधा घण्टा ढिला भएको थियो । 

चार दिनअघि मात्रै मेक्सिकन सोसल सेक्युरिटी इन्स्टिच्यूटका प्रमुख जर्मन मार्टिनेज काजारेसले राजीनामा दिएका थिए । उनले स्वास्थ्य खर्चमा कटौती गरेको भन्दै आलोचना भएको थियो । 

मेक्सिकोकी वातावारण मन्त्रीले आफूले पदीय जिम्मेवारी र जवाफदेहिताको कारण देखाउँदै राजीनामा दिएको बताएकी छिन् । यसअघि चर्को आलोचना भए पनि जवाफदेहिताका लागि भन्दै राजीनामा दिएपछि भने सर्वत्र उनको प्रशंसा भैरहेको छ । 
 

 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया