लगातारको वर्षाका कारण कपिलवस्तुमा ७ सय बिगाहा खेत डुबानमा

 असार १९, २०७५ मंगलबार २०:१५:९ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – दुई दिनको लगातारको वर्षापछि मायादेवी गाउँपालिका वडा नं. ८ बिजुवाको जमुनी, हरिवंशापुर, बिजुवा र बरकुल गाउँको खेतीयोग्य जमिन जलमग्न भएको छ । 

आइतबारबाट अविरल रुपमा वर्षा सुरु भएपछि यहाँको झण्डै ७ सय बिगाहा खेती योग्य जमिन डुबानमा परेको हो । धान रोप्न तयार भएको खेत जलमग्न हुँदा किसानहरु चिन्तित बनेका छन् । बिजुवाको जमुनी, हरिवंशापुर, बिजुवा र बरकुल गाउँको विचमा रहेको धान खेत जलमग्न भएपछि रोपाइँ भएको करिब ३ सय बिगाहा धान खेती बाढीले बगाएको छ । 

बिजुवा दक्षिण भारतको सीमानामा पर्ने सिसवा र मझौली सागरमा भारत सरकारले सिंचाइको लागि फाटक लगाई पानी थुनिदिएकाले यस्तो समस्या आएको छ । भारत सरकारले आफ्नो सीमा क्षेत्रभित्र सिंचाइको लागि बनाएको अग्लो तटबन्ध र फाटकले यस्तो समस्य वर्षौँदेखि आइरहेको वडाध्यक्ष कृष्णनारायण तिवारीले बताउनुभयो । 

विगतमा तटबन्ध निर्माणको लागि स्थानीयहरु पहिले जिल्ला विकास समिति कपिलवस्तु तथा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय भैरहवामा समेत योजनाहरु माग गर्दै आएका थिए । तर कतैबाट बाढी नियन्त्रणको योजना नपाएको स्थानीयका गुनासो छ । डुबान समस्याको बारेमा अनगुगमन गर्दै यो समस्या समाधानका लागि प्रदेश सभामा आवाज उठाउने प्रदेशसभा सदस्य सहसराम यादवले बताउनुभयो । 

बिजुवाको डुबान क्षेत्र मात्रै हैन, मायादेवी गाउँपालिकाको पिपरामा रहेको तुल्सीडिहवा तालले पनि खेतीयोग्य जमिन डुबानमा पारेको मायादेवी गाउँपालिकाका प्रमुख बजरंगी प्रसाद चौधरीले बताउनुभयो ।

समस्या समाधानका लागि स्थानीय सरकारले प्रदेश सरकार र केन्द्र सरकारसँग सहयोग लिएर पहल गर्ने गाउँपालिका प्रमुख चौधरीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया