प्रदेश तीनको बजेट बहुमतले पारित

 असार १९, २०७५ मंगलबार २०:३७:२१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – तीन नम्बर प्रदेश सरकारले ल्याएकोे आर्थिक वर्ष २०७५–२०७६ को बजेट बहुमतले पारित भएको छ । 

आउँदो आर्थिक वर्षका लागि ल्याइएको राजस्व र खर्चको अनुमानित बजेट आजको संसद बैठकले बहुमतले पारित गरेको हो । आउँदो आर्थिक वर्षका लागि सरकारले ल्याएको विनियोजित विधेयक पनि बहुमतले पारित गरिएको सभामुख सानुकुमार श्रेष्ठले संसदमा घोषणा गर्नुभयो । 

दुवै विधेयकलाई पारित गर्नका लागि तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको प्रस्तावको पक्षमा नेकपाका सांसदहरु देखिएका थिए । कांग्रेससहितका अरु दलका सांसदले भने खर्च कटौती प्रस्ताव पेश गरेका थिए । तर ती सबै प्रस्ताव असफल भएका छन् ।

प्रदेश सरकारले गत असार १ गते प्रदेशसभाको बैठकमा आव २०७५÷७६ का लागि रु ३५ अर्ब ६१ करोड २६ लाखको आयव्ययको अनुमानित बजेट सार्वजनिक गरेको थियो । 

बजेटमा प्रदेशका १३ जिल्लामा राष्ट्रिय गौरवको आयोजनाको निर्माण क्रममा सर्वे गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटकीय स्थल, उद्योगको विस्तार एवम् प्रादेशिक लोक सेवा आयोगको स्थापना गर्ने विषयमा बजेटले समेटेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जोड दिएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया