मोटरसाइकल र फर्निचर दाइजो नल्याएको भन्दै श्रीमानले श्रीमती कुटे

 जेठ १५, २०७६ बुधबार १३:२१:५४ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको मलंगवा नगरपालिका-५, मा मोटरसाइकल र फर्निचर दाइजो नल्याएको भन्दै श्रीमानको कुटाइबाट १८ वर्षीया विनितादेवी यादव गम्भीर घाइते हुनुभएको छ ।

विनितादेवीका श्रीमान २२ वर्षका राजकुमार खिरहरीले दाइजो नल्याएको भन्दै गएकाे शनिबार मरणासन्न हुनेगरी कुटेपछि उहाँको दुई महिनाको गर्भ पनि खेर गएको छ।

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी विनितादेवीको शरीरको विभिन्न भागमा गहिरो चोट लाग्नुका साथै आँखाको नशा चुँडिएको बताइएकाे छ। घाइते भएपछि उहाँलाइ उपचारका लागि माइतीपक्षले सदरमुकाम मलंगवा ल्याएका थिए।

उहाँका माइती पक्ष कुटपिटमा संलग्न श्रीमानलाइ कारबाही गर्नुपर्ने माग गर्दै  जिल्ला प्रहरी  कार्यालय सर्लाही पुगेका थिए। कुटपिटमा संलग्न राजकुमारलाइ प्रहरीले २४ घण्टा नियन्त्रणमा लिएर छोडेको छ । पीडित पक्षले लिखित उजुरी दिन नसकेका कारण छाडिदिएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो।

राजकुमारलाइ श्रीमतीको उपचार गर्ने र अब कहिले पनि श्रीमतीलाइ कुटपिट नगर्ने सर्तमा छाडिएको उहाँले बताउनुभयो। विनिताले अघिल्लाे वर्ष  प्रेम विवाह गर्नु भएको थियो।

शनिबारको घटना भए पनि उपचारको लागि अस्पताल आइपुग्दा मात्र घटना सार्वजनिक भएको हो। गएकाे वर्ष एक लाख दाइजोसहित सामाजिक रुपमै विवाह गरिदिएको माइती पक्षले जानकारी दिए।

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया