इलाममा सुविधासम्पन्न ‘मुख्यमन्त्री बहुतले पार्किङ्ग तथा सिनेमा हल’ बन्ने

 जेठ १५, २०७६ बुधबार १४:४२:३७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा सुविधासम्पन्न ‘मुख्यमन्त्री बहुतले पार्किङ्ग तथा सिनेमा हल’ निर्माण हुने भएको छ ।

इलाम नगरपालिका वडा नम्बर-७ऽ को पुरानो बसपार्कमा निर्माण हुन लागेको हलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाे छ । 

९ महिना लगाएर विस्तृत अध्ययन गरी स्ट्रेन्थ इन्जिनियरिङ्ग कम्पनी प्रालि काठमाण्डौले त्याे प्रतिवेदन तयार पारेको इलाम नगरपालिकाको कार्यालय इलामले जानकारी दिएको छ । कम्पनीको प्रतिवेदन (डीपीआर) अनुसार २३ करोड ६१ लाख एक हजार तीन सय ३५ रुपैयाँको लगानीमा चारतले सिनेमा हल सहितको पार्किङ्ग भवन निर्माण हुने भएकाे हाे । 

तीन रोपनी १० आना जमिनमा बन्ने भवनको पहिलो–दोस्रो र तेस्रो तलामा सवारी पार्किङ्ग बन्नेछ । यस्तै चौथो तलामा दुई वटा सिनेमा हल बन्नेछ । जसमा एउटा हल २ सय ५० क्षमताको हन्छ भने अर्को एक सय ६० क्षमताको बन्ने कम्पनीका कार्यक्रम निर्देशक जगन्नाथ आचार्यले बताउनु भयो । भवनमा ४७ साना सवारी र दुई सय मोटरसाइकल पार्किङ्ग गर्न सकिनेछ । 

देशमा नै पहिलो पटक यस प्रकारको सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, प्रदेश नम्बर १ सरकारले सडक सुशासनको नमुना शहर बनाउने घोषणा गरेकाले सुविधा सम्पन्न यस प्रकारको पार्किङ्ग सहितको भवन निर्माणले यसमा कार्यमा समेत सहयोग गर्नेछ । 

भवन निर्माणको कार्य आउँदाे आर्थिक वर्ष २०७६-०७७ बाट सुरु गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाको स्रोतले नपुग्ने भएकाले भवन निर्माणका लागि प्रदेश र संघीय सरकारसँग समेत समन्वय गर्ने नगरप्रमुख बस्नेतले जानकारी दिनुभयो । निर्माण सम्पन्न पछिको ९ वर्षमा लगानी असुल भइसक्ने पनि बताइएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया