पत्रकारलाई गालीगलाैज गर्ने एक जना पक्राउ

 जेठ १५, २०७६ बुधबार १९:५०:४८ | मुना हमाल
unn.prixa.net

सुर्खेत - पत्रकारलाई जथाभावी गालीगलौज गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार वीरेन्द्रनगर खुल्लामञ्चबाट ज्ञानेन्द्र शाही नाम गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । गएकाे वैशाखमा आफ्नो कार्यक्रममा कोही पनि पत्रकार सहभागी नभएको भन्दै उनले सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरी गालिगलैज गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

शाहीविरुद्ध नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले प्रहरीमा उजुरी दिएको थियो ।

पक्राउ गर्ने क्रममा सुर्खेतका पाँच जना प्रहरी घाइतेसमेत भएका छन् । घाइते हुनेमा प्रहरी निरिक्षक निरञ्जन घिमिरे, हवल्दार रामसागर बर्मा, प्रहरी जवान प्रकाश बुढा, जीतबहादुर बोहोरा र हस्त सिंह रहेका छन् । घाइते प्रहरीहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

वीरेन्द्रनगर खुल्ला मञ्चबाट शाहीलाई पक्राउ गर्दा अन्य व्यक्तिहरुले पनि प्रहरीमाथि ढुङ्गामुढा गरेकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रहरीले शाहीलाई पक्राउ गर्दा सहयोग गर्ने अन्य ६ जना पनि पक्राउ परेका छन् । बुधबार खुल्लामञ्चमा नागरिक समाजले गरेको कार्यक्रममा सहभागी भएको बेलामा पक्राउ गरिएको हो । आज त्यहाँ  देउडा मेला समेत लागेको थियो ।

‘शाहीलाई त्यहाँबाट पक्राउ गर्दा केही मान्छेले शाहीलाई सहयोग गरेर प्रहरीमाथि जाइलागे’, उहाँले भन्नुभयो, ‘हामीले पाँच/छ जना पक्राउ गरेका छौँ । शाहीलाई पक्राउ गरेर काठमाण्डौ पठाउने तयारी गरेका छाैँ ।’

शाही भष्टाचारविरुद्ध विभिन्न ठाउँमा अभियान सञ्चालन गर्दै आएका शाहीलाई साइबर क्राइम अन्तरगत कारबाहीका लागि काठमाण्डौ पठाइने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया