यात्रुको हुलिया हेरेर भाडामा बार्गेनिङ : ट्याक्सीको ठगी रोक्न ‘हाउ मच’ अभियान

 असार २०, २०७५ बुधबार ११:५५:२७ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – बाराको कोल्हवीबाट काठमाडौं आएका सञ्जय यादवले सुन्धारा चोकमा रोकिराखेको ट्याक्सीका चालकलाई बागबजारसम्म जाने हो भनेर सोध्नुभयो । झोला बोकेको सोझो युवा देखेपछि चालकले भने ‘जाने हो कति दिनुहुन्छ ?’ यादवले मिटरमा जान आग्रह गर्नुभयो । तर चालकले मिटरमा नजाने भनेपछि यादवले फेरि सोध्नुभयो, ‘कति लिनुहुन्छ?’ चालकले हाँस्दै भने ‘१ सय ५० मात्र ।’

मिटरमै जाने हो भने पनि सुन्धारादेखि बागबजारसम्मको ट्याक्सी भाडा ७० रुपैयाँ भन्दा बढी पर्दैन । सुन्धाराबाट बागबजारसम्म हिँडेरै १५ मिनेटमा पुगिन्छ । तर बागबजार पुग्न हतारोमा रहेका यादव चालकले भनेजति नै तिरेर ट्याक्सी चढ्न बाध्य हुनुभयो ।  

काठमाडौं आउँदा सधैंजसो सार्वजनिक यातायातमा यात्रा गर्ने यादवले यसपटक भने अति आवश्यक परेर ट्याक्सी चढ्नुपरेको सुनाउनु भयो ।

चाबहिलबाट थापाथलीको प्रसुति गृह जान लागेकी मंगली तामाङले पनि यस्तै समस्या भोग्नुभयो । उहाँले ट्याक्सी चालकलाई थापाथलीसम्म जाने भनेर सोध्नु भयो । 

सुरुमा त्यहाँ जाने बाटोमा जाम पर्छ भन्दै चालक तर्के जस्तो गरे । पछि कति दिनुहुन्छ भन्दै सोधे । अस्पतालमा बिरामी भेट्ने हतारोमा रहेकी तामाङले २ सयसम्म दिन सक्ने बताउनुभयो । तर चालकले ३ सय रुपैयाँ नदिए नजाने बताए । 
मिटरको बारेमा त्यति जानकारी नभएकी तामाङले चालकले भनेकै पैसा तिरेर थापाथलीसम्म आउनुभयो । 

चाबहिलबाट थापाथलीसम्म मिटरमा जाँदा जाम नै परे पनि २ सय २० रुपैयाँभन्दा  बढी उठ्दैन । तर ट्याक्सी चालकले यात्रुसँग मनपरी भाडा असुल्ने गर्छन् ।

सरकारले निर्धारण गरेको भाडादर 

यातायात व्यवस्था विभागले निर्धारण गरेको भाडादर अनुसार ट्याक्सीमा यात्रु चढ्ने बित्तिकै १४ रुपैयाँबाट मिटर सुरु हुन्छ । त्यसपछि प्रति किलोमिटर ३५ रुपैयाँका दरले भाडा लिन पाइन्छ । रातको समयमा भने दिनको तुलनामा डेढ गुना बढी भाडा निर्धारण गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संचालन हुने पर्यटक ट्याक्सीको हकमा भने ५ किलोमिटरसम्मको यात्रा गर्दा ४८१ रुपैयाँ मात्रै भाडादर तोकिएको छ । चढ्ने वित्तिकै सुरु हुने १४ रुपैयाँ पनि जोड्ने हो भने ४९५ रुपैयाँमा ५ किलोमिटर यात्रा गर्न सकिन्छ ।

तर, यो भाडादरमा अहिले ट्यक्सी पाउन यात्रुलाई निकै सकस छ । विमानस्थलबाट निस्कने यात्रुले त यसको दुई गुनासम्म तिर्नु पर्ने बाध्यता छ ।

यात्रुको हुलिया हेरेर बार्गेनिङ 

चालकले पहिला सरसर्ती यात्रुको हुलिया हेर्छन् । सुकिलोमुकिलो र सेना प्रहरी जस्तो देखिने मान्छेसँग मिटरमा जान राजी हुन्छन् । तर त्यस्तो नदेखे आफूखुसी भाडा दर भन्छन् । नमिले नजाने जवाफ फर्काइदिन्छन् । भाडादर र मिटरकाबारे जानकारी नभएकाहरु चालकले भनेकै भाडा तिरेर भनेको ठाउँसम्म पुग्न बाध्य हुन्छन् ।

यति मात्रै होइन, मिटरमै जान राजी हुने चालकहरुले मिटर बिगारेर सुरुमै बढी पैसा उठ्ने बनाएर यात्रुलाई ठगेको गुनासो बारम्बार प्रहरीकोमा पुगिरहन्छ । रातको समयमा लगाइने डेढीको मिटरलाई केही चालकले समय मिलाएर दिउँसो पनि डेढी नै लाग्ने गरी बनाउने गरेको भेटिएको छ ।

बिरामी भएको समयमा आत्तिएका र हतारमा रहेका बिरामी र आफन्तको समवेदनाको ट्याक्सी चालकहरुले झनै बढी फाइदा उठाउने गरेका छन् । 

भनेको ठाउँमै जाँदैन 

अहिले धेरै ट्याक्सी आफूलाई राम्रो कमाइ हुने ठाउँ नपाएसम्म चल्न मान्दैनन् । जान खोजेको गन्तव्यमा उनीहरु जाँदैनन् । 

जस्तै सुन्धाराबाट बिजुलीबजार, नयाँ बानेश्वरबाट तीनकुने जान ट्याक्सी खोज्दा मुश्किलले मात्रै पाइन्छ । आकश्मिक अवस्थामा गइहाले पनि मागेजति भाडा दिनुपर्ने बाध्यता छ ।

हतार हुँदा छोटो दूरीमा पनि ट्याक्सी चढ्नुपर्ने बाध्यतामा रहेका यात्रुले चालकले भनेजति दिए मात्रै जान पाउँछन् । मिटरमा उठेको रकम दिन्छु भन्दा ट्याक्सीवालाहरु जानै खोज्दैनन् ।

आफूखुसी भाडा

ट्याक्सी चालकले आफूखुसी भाडा तोक्न पाउँदैनन् । उनीहरुले सरकारले निर्धारण गरेको भाडामा नै ट्याक्सी चलाउनु पर्छ । न त उनीहरु मिटरमा जान्न भन्न नै पाउँछन् । नजिकैको ठाउँमा पनि जान्न भनेर भन्न पाउँदैनन् । ‘उनीहरु सेवा दिन बसेका हुन्’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले भन्नुभयो, ‘त्यसैले भनेको ठाउँमा यात्रुलाई पुर्याउनु उनीहरुको दायित्व हो ।’

तर यात्रुको वाध्यताको फाइदा उठाउँदै ट्याक्सी चालकहरुले मनोमानी रुपमा भाडा असुली गर्दैै यात्रुलाई ठगी रहेका छन् ।

सिनामंगलबाट ट्याक्सी चढ्नुभएकी स्मृति पौडेल अनामनगरमा ओर्लदाँ मिटरमा १२० उठ्यो । तर खुद्रा नभएर १५० रुपैयाँ दिनुभएकी पौडेलको बाँकी पैसा चालकले फिर्ता नदिइ अघि बढ्न खोजे । मिटरमा १२० रुपैयाँ मात्रै उठेकाले उठेको पैसा काटेर बाँकी पैसा फिर्ता दिन पौडेलले चालकसँग भन्नुभयो । तर चालकले अहिले पेट्रोलको मूल्य बढेकाले मिलाईदिनुस भनेर आफूसँग बढी पैसा लिएको पौडेलले सुनाउनुभयो । ‘फिर्ता माग्दा पनि नदिएपछि के गर्नु, पुगोस भनेर छाडिदिएँ’ उहाँले भन्नुभयो ।

ठगी रोक्न अभियान

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सी मिटरमा गुडे नगुडेको र यात्रुलाई ठगे नठगेको बारेमा अनुगमन गर्न ‘हाउ मच’ अभियान नै चलाइरहेको छ । महाशाखाका प्रवक्ता मैनालीले सादा पोसाकमा मुख्य मुख्य ठाउँहरुमा टोली खटाएको बताउनुभयो ।

ट्याक्सीभित्र समेत नम्बर प्लेट राख्ने, मिटर र प्रिन्टर नजोडेकालाई तत्काल जोडेर मात्र चलाउन लगाउने जस्ता काम गरिरहेको उहाँले बताउनुभयो । विशेष अभियान अन्तर्गत महाशाखाबाट दैनिक ८/१० जना सादा पोसाकका ट्राफिक प्रहरी ट्याक्सीको अनुगमनमा निस्कन्छन्। अनुगमनका क्रममा हरेक दिन औषतमा १०/१५ जना चालक मनोमानी भाडा लिने अभियोगमा दिनहुँजसो कारबाहीमा पर्ने गरेको प्रवक्ता मैनालीले बताउनुभयो ।

यस्तै महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले पनि ट्याक्सी मिटरमा गुडे नगुडेकोबारे अनुगमन गर्न बिहीबारदेखि नक्कली कपाल ‘विग’ लगाएको ट्राफिक प्रहरीको टोली नै परिचालन गरेको छ । 

उपत्यकामा चल्ने करिब १० हजार ७ सय ट्याक्सीमध्ये ५० प्रतिशत ट्याक्सीहरुले मिटर चलाएर हिँड्न नमान्ने र ‘कति दिने’ भनेर बार्गेनिङ गर्ने गरेको गुनासो आएपछि छड्के गर्न टोली परिचालन गरेको महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रहरी निरीक्षक सीताराम हाछेथुले बताउनुभयो ।

अभियान थालेकै दिनमा बिहीबार १२ वटा ट्याक्सी कारबाहीमा परे । भनेको ठाउँमा जान नमान्ने, बार्गेनिङ गर्ने गरेको भेटिएपछि कारवाही गरिएको हाछेथुले बताउनुभयो । 

शुक्रबार पनि केही ट्याक्सी अनुगमन टोलीको कारबाहीमा परेको उहाँले बताउनुभयो ।

५ हजारसम्म जरिवाना

यात्री ठग्ने त्यस्ता चालकलाई बढी भाडा लिने दफा अनुसार कारवाही गर्न यातायात व्यवस्था विभागमा पठाउने गरिएको छ । मिटरमा हिँड्न नमान्ने र भनेको ठाउँमा नजाने ट्याक्सीलाई यातायात ऐन अन्तर्गत ३ देखि ५ हजार रुपैयाँ जरीवाना हुने व्यवस्था छ । विभागले यात्रुसँग बढी भाडा लिने ती सबै चालकलाई ३/३ हजार जरीवाना लिँदै आइरहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता मैनालीका अनुसार कारबाहीका लागि नियन्त्रणमा लिइएको चालक र ट्याक्सीलाई परिसरको कार्यालयमा लगिन्छ । त्यसपछि महाशाखाबाट विभागलाई कारवाहीमा परेको चालक र ट्याक्सीको विवरण लेखेर पत्र पठाइन्छ। पत्रका आधारमा चालकले विभागमा जरीवाना तिरेपछि मात्र कागजपत्र र सवारी साधन लिएर जान पाउँछन् ।

अस्पताल, एयरपोर्ट, बसपार्क, बिवाह–ब्रतबन्ध जस्ता स्थानमा आकश्मिक अवस्थामा रहेका र असहज अवस्थामा परेका यात्रीलाई ट्याक्सी चालकले धेरै नै भाडा लिएर ठगी गर्ने गरेका छन् ।

कारबाहीमा पर्ने क्रम बढेपछि ट्याक्सी चालकहरु सचेत देखिए पनि सोझा सिधा यात्रु देख्ने बित्तिकै ठग्न खोज्ने प्रवृत्ति उस्तै रहेको ट्राफिक प्रहरीको भनाई छ ।

मिटरमा नजाने, अत्याधिक भाडा उठाउने र ट्याक्सी खाली भए पनि जान नमान्ने ट्याक्सीमाथि जोकोहीले पनि उजुरी गर्न सक्ने व्यवस्था महाशाखाले गरेको छ । यस्ता चालक र ट्याक्सीका बारेमा १०३ मा वा नजिकैको ट्राफिक प्रहरीलाई उजुरी गरे तत्कालै कारबाही गरिने प्रवक्ता मैनालीले बताउनुभयो ।

महाशाखा र ललितपुर ट्राफिक प्रहरीले हरेक दिन उपत्यका भित्रिने प्रमुख नाका, चोकहरु, बसपार्क, एयरपोर्ट, व्यापारीक मल, ठमेल लगायतका क्षेत्रका साथै विवाह व्रतबन्ध स्थलहरुमा चल्ने ट्याक्सीलाई निगरानी बढाइरहेको छ । ट्राफिक महाशाखा र ट्राफिक प्रहरी परिसर ललितपुरले यो अभियानलाई निरन्तरता दिने जनाएको छ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया