प्रधानमन्त्री ओली स्वदेश फिर्ता

 जेठ १७, २०७६ शुक्रबार १९:१४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ कार्यक्रममा भाग लिन बिहीबार दिल्ली पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कनुभएको छ ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका नेता सुवास नेम्वाङसहित उच्च अधिकारीहरु पुगेका थिए । 

प्रधानमन्त्रीसँगै धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाललगायतको टोली सपथ कार्यक्रममा बिहीबार दिल्ली गएको थियो ।  

प्रधानमन्त्री ओलीले स्वदेश फर्कनुअघि शुक्रबार बिहान हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता पनि गर्नु भएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई रुद्राक्षको माला उपहार दिँदै नेपाल भ्रमणको निम्तो पनि दिनुभएको थियो । 

बिहीबार अपरान्ह दिल्ली जानुभएका प्रधानमन्त्रीसहितको टोली शुक्रबार अपरान्ह स्वदेश फर्केको हो । विदेश भ्रमणबाट फर्कँदा सँधैजसो विमानस्थलमै पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्री ओलीले यस पटक भने पत्रकार सम्मेलन गर्नुभएन । 

भारतमा कुनै सहमति तथा सम्झौताका लागि नभई नवनिर्वाचित प्रधानमन्त्रीको सपथ कार्यक्रममा सहभागी हुन गएको भएर पनि फर्कँदा पत्रकार सम्मेलन नगरिएको नेकपाका नेताहरु बताउँछन् । 

अहिले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वर्षअघि पार्टी एकीकरणका बेला गरिएको सहमति खुलाएपछि त्यसबारे बहस भइरहँदा पत्रकारहरुले त्यसैबारेमा प्रश्न सोध्ने ठानेर पत्रकार सम्मेलन नगरिएको बुझिएको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया