प्रचण्डको खुलासाले नेकपामा तरङ्ग

 जेठ १७, २०७६ शुक्रबार १९:४३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पार्टी एकीकरणका बेला एक वर्षअघि गरेको गोप्य सहमति बाहिरिएसँगै अहिले सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र तरङ्ग उत्पन्न भएको छ । 

पार्टी एकीकरणका बेला आफू र केपी शर्मा ओलीबीच पाँच बुँदे सहमति भएको र त्यहीअनुरुप सरकार र पार्टी चल्ने भन्दै पुष्पकमल दाहाल (प्रचण्ड) ले सहमति दायाँबायाँ गरे कोही पनि नटिक्ने भनेर प्रतिक्रिया दिएपछि पार्टीभित्र तरङ्ग आएको हो । सहमतिमा आलोपालो सरकार चलाउनेदेखि विचार पद्धतिका बारेमा पनि उल्लेख छ । 

नेकपाकै अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो बजेट ल्याएकै दिन अर्का अध्यक्ष प्रचण्डले प्राइम टेलिभिजनबाट प्रसारित अन्तर्वार्ता कार्यक्रममा आफूहरुबीच भएको सहमतिको स्मरण गर्नुभएको थियो । अहिलेसम्म सहमतिअनुसार नै अघि बढिरहेको र आगामी दिनमा पनि सहमतिअनुसार नै दुवै जना अघि बढ्नेमा आफू आशावादी रहेको पनि उहाँले बताउनुभएको थियो । 

प्रचण्डको अभिव्यक्ति आएकै दिन यसअघि दुई अध्यक्षबीच भएको भनिएको गोप्य सहमति पत्रसमेत सार्वजनिक भएको छ । पार्टी एकीकरणको काम पूर्ण रुपमा नसकिँदै आलोपालो सरकारको नेतृत्व गर्ने कुरा उठान गरेपछि सत्ता बाँडफाँडमा उनीहरुबीच विवाद रहेको खुलेको हो । 

प्रचण्डको अभिव्यक्ति आएको एक दिनपछि अर्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आलोपालो सरकार चलाउने सहमति कुनै नयाँ नभई पुरानै भएको बताउनुभयो । 

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा दिल्लीमा रहनुभएका प्रधानमन्त्री ओलीले सहमतिअनुसार नै अहिलेसम्म आइपुगेकाले आगामी दिनमा पनि सहमतिकै आधारमा आफूहरु अघि बढ्ने बताउनुभयो ।  

यता नेकपाकै एक जना नेता वामदेव गौतमले भने अध्यक्ष प्रचण्डले भने झैँ सरकारको नेतृत्व परिवर्तन हुने संकेत गर्नुभएको छ । सहमतिअनुसार नै सरकार र पार्टी सञ्चालन हुने भन्दै उहाँले अध्यक्षद्वयले सहमति अनुसार नै आलोपालो सरकारको नेतृत्व गर्ने बताउनुभएको हो । 

प्यूठानमा आयोजित पत्रकार सम्मेलन नेता गौतमले सहमतिअनुसार सरकारको नेतृत्व परिवर्तन भए एकता पनि दिगो हुने उहाँले बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले अन्तर्वार्ताका क्रममा केपी ओलीले ‘समय आएपछि सत्ता हस्तान्तरण गर्न अप्ठेरो मान्नुहुन्न, अनि मैले पनि लिन अप्ठेरो मान्दिनँ’ भन्दै सहमति अनुसार अबको एक वर्षपछि आफू प्रधानमन्त्री बन्ने संकेत गर्नुभएको थियो ।  

पार्टी एकीकरणका बेला पनि एक व्यक्ति एक पदको कुरा चर्को रुपमा उठे पनि त्यसले एकीकरणलाई नै अप्ठेरो पार्ने भएपछि एकीकरणलाई सार्थकता दिन पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) दुवै अध्यक्ष रहने गरी पार्टी एकीकरण गरिएको थियो ।  

त्यसपछि पनि पटक–पटक पार्टीभित्र एक व्यक्ति एक पदको कुरा चर्कोसँग उठ्दै आएको थियो । पछिल्लो पटक पार्टीको सचिवालय सदस्यसमेत रहनुभएका नेता वामदेव गौतमले गएको मंसिर २९ गते स्थायी समिति बैठकमा यसबारे लिखित प्रस्ताव नै पेस गर्नुभएको थियो । 

सरकार र पार्टी चलाउने दोहोरो काममा एकै व्यक्ति हुँदा दुवै काम राम्ररी नभएको भन्दै नेता गौतमले सबै एक व्यक्ति एक पदको अवधारणामा प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभएको थियो । यसो गर्न सके पार्टी र सरकारको काम प्रभावकारी रहने उहाँ बताउनुहुन्छ । 

अहिलेसम्म पार्टी एकताले पूर्णता नपाउनु पनि दोहोरो जिम्मेवारीको भारले रहेको भन्दै अब पार्टी एकीकरणलाई पूर्णता दिन र सरकार र पार्टीको काम प्रभावकारी बनाउन एक व्यक्ति एक पदको अवधारणामा जानुको विकल्प नरहने उहाँले बताउनुभयो ।  

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल पनि सरकार र पार्टीको जिम्मेवारीमा एउटै व्यक्ति रहेका कारण सरकारले प्रभावकारी काम गर्न नसकेकोमा सहमत हुनुहुन्छ । तर एक व्यक्ति एक पदको अवधारणामा खुलेर भने लाग्नुभएको छैन । 

सरकार पार्टीले चलाउनु पर्ने र पार्टी र सरकारको नेतृत्व एउटै व्यक्ति हुन नहुनेमा भने उहाँ स्पष्ट हुनुहुन्छ । ‘अहिले सरकार पार्टीले चलाईरहेको छैन’, उहाँले भन्नुभयो, ‘सरकार र पार्टीको नेतृत्वमा एकै व्यक्ति हुँदा दुवैतिरको काम प्रभावकारी भएन त्यसका लागि नेतृत्व गम्भीर भएर समीक्षा गर्नुपर्ने जरुरी भइसकेको छ ।’ 

अध्यक्षको रुपमा रहेका प्रचण्डले पनि प्रधानमन्त्री वा पार्टीको अध्यक्ष एउटा पूर्ण रुपमा चलाउन पाउनुपर्ने खालको अभिव्यक्ति बेलाबेला दिँदै आउनुभएको थियो । यो पटक भने आफूहरुबीच लिखित रुपमा नै आलोपालोको सहमति भएको भन्दै एक वर्षपछि आफू नै प्रधानमन्त्री हुने संकेत गरेपछि कुनै एउटा पद पूर्ण रुपमा चलाउन पाउन प्रचण्डले पार्टीभित्र दवाव बढाएको रुपमा पनि कतिपय नेताले लिएका छन् ।  

अहिले नेकपाले कार्यविभाजनका साथै पोलिटब्यूरो गठनलाई अन्तिम रुप दिने गृहकार्य गरिरहेको छ । आगामी एक साताभित्र पोलिटब्यूरो गठनको काम सक्नेगरी आफूहरुबीच छलफल भइरहेको स्वयं अध्यक्ष प्रचण्ड बताउनुहुन्छ । 

त्यसका साथै केन्द्रीय समितिको कार्यविभाजन पनि हुने छ । यही कार्यविभाजनले अन्तिम रुप लिँदै गर्दा कुनै एक पदमा पूर्ण अधिकारसहित रहनेगरी अध्यक्ष प्रचण्डले सहमतिको कार्ड पुनः स्मरण गरेको हुनसक्ने नेताहरुको बुझाइ छ ।  

पोलिटब्यूरो तथा विभाग गठन गर्ने विषयमा नेकपाको बैठक शनिबारका लागि बोलाइएको भए पनि अन्तिम समयमा आएर सरेको २० गतेका लागि सरेको छ । 
पार्टीका एक जना अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य रहेका वामदेव गौतम एक व्यक्ति एक पदको अवधारणामा सहमत देखिएकाले प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष ओलीले बैठक सार्नु भएको बुझिएको छ ।

यो बैठकमा पनि एक व्यक्ति एक पदको प्रस्ताव आउन सक्ने स्रोतले जनाएको छ । ‘२० गते हुने बैठकमा ओली प्रधानमन्त्री रहने भए पार्टीको अध्यक्ष छाड्नु पर्ने र पार्टी अध्यक्ष रहने भए प्रधानमन्त्री पद छाड्नुपर्ने भन्ने प्रस्ताव आउन सक्छ’, एक नेताले भने । प्रचण्डको अभिव्यक्तिले फेरि एक पटकमा नेकपाभित्र तरङ्ग पैदा गरेको छ ।

पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई दिल्लीमा नेपाल फर्कनुअघि पत्रकारहरुले प्रचण्डको अभिव्यक्तिबारे चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीलाई ‘प्रचण्डको खुलासाअनुसार तपाईँको प्रधानमन्त्री पदको अवधि एक वर्ष मात्रै छ नि’ भन्ने प्रश्न सोध्दा उहाँले हाँस्दै ‘एक वर्ष हैन, चार–पाँच दिन मात्रै छ’ भनेर जवाफ फर्काउनु भएको थियो ।

प्रचण्डले भनेअनुसार नै उहाँले प्रधानमन्त्री ओलीले सत्ता हस्तान्तरण गर्नुहुन्छ वा त्यसका लागि माथापच्ची हुन्छ त्यो भने आउँदो दिनले नै देखाउला ।

बिहीबार दिल्ली जानुभएका प्रधानमन्त्री ओली शुक्रबार साँझ नेपाल फर्किसक्नुभएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया