प्रचण्डसँगको सहमतिबारे प्रधानमन्त्री ओली : नयाँ कुरै होइन, अहिले बेलुन बनाएर फुकिरहनुपर्ने कुनै आवश्यकता छैन

 जेठ १८, २०७६ शनिबार ६:५८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग सरकार आलोपालो चलाउने विषयमा भएको सहमति कुनै नौलो नभएको स्पष्ट पार्नु भएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी भएर आउने क्रममा विमानमै उहाँले पत्रकार ऋषि धमलासँग कुरा गर्दै यो कुरा कुनै नौलो विषय नभएको बताउनुभयो । उहाँले आफू विदेश भ्रमणमा रहेका बेला यस्तै चर्चा हुने गरेको बताउँदै भन्नुभयो, ‘यो अहिलेको कुनै विषय नै होइन, जुनबेला म विदेश भ्रमणमा हुन्छु त्यसबेलामा कुनै न कुनै यस प्रकारका कुरा निस्किन्छन् । स्थिरता भनेको नीतिमा हो । स्थिरता भनेको बहुमतको सरकारमा हो । र, स्थिरता भनेको नेताहरुका बीचको सहमति र सहकार्यको कुरा हो । यसलाई अनेक ढंगले टिप्पणी गरिरहनुपर्ने, उछालिरहनुपर्ने यो हाम्राबीचमा के कुरा भएको छ ?’

प्रधानमन्त्री ओलीले यो कुरामा आफूहरुले गएको वर्ष नै सहमति गरेको र सार्वजनिक भएकाले अहिले चर्चा गर्न नपर्ने बताउनुभयो, ‘गत वर्ष हामीले जुन सहमति गर्यौँ । पार्टी एकता गर्यौँ। त्यो कुरा त कुनै नयाँ कुरा होइन । अहिले आएर बेलुन बनाएर फुकिरहनुपर्ने कुनै आवश्यकता नै छैन ।’

प्रधानमन्त्री ओलीले आफूहरुबीचको यो सहमतिलाई अहिले ठूलै समस्या आइपरेजस्तै उचालेर नागरिक र कार्यकर्तामा आशंका र सन्देह पैदा हुने गरी चर्चा गर्न नहुने बताउनुभयो ।

त्यस्तै पत्रकार धमलाको ‘तपाईँलाई जनताले पाँच वर्षका लागि प्रधानमन्त्री बनाएका हुन्, बीचमै छाड्ने सहमति भएको हो र’ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले त्यस विषयमा आफू छलफल गर्न नचाहेको जवाफ दिनुभयो । ‘यतिबेला यो चर्चा गर्ने ? मैले आज बिहान पनि एउटा सञ्चारमाध्यमलाई भनेँ तपाईँहरुलाई खुशी लाग्छ भने म चार पाँच दिनमात्रै हो, चार पाँच दिनपछि हटिहाल्छु भन्दिन्छु ।’ 

त्यस्तै प्रचण्डको पछिल्लो अभिव्यक्तिले तपाईँसँगको सम्बन्धमा चिसोपन आएको हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओली भन्नुहुन्छ, ‘चिसोपन कहाँ आएको छ ? कसैले सोध्यो होला । हाम्रा बीचमा सहमति नभइकन त पार्टी एकता भएको छैन् । एकता गर्दा केही सहमतिका पक्षहरु छन् । त्यसलाई कमजोर पार्ने गरी, एकता खलबलाउने गरी केही चर्चा गर्नुपर्ने आवश्यकत्ता छैन् । जे सहमति भएका छन् । ती सबै आफ्नो बाटोमा र कोर्समा अघि बढ्छन् ।’

याे पनि पढ्नुहाेस् 

प्रचण्डको खुलासाले नेकपामा तरङ्ग

 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया