ऐतिहासिक चिसापानी गढीको संरक्षणमा तीनै तहका सरकारको चासो

 जेठ १८, २०७६ शनिबार १०:४५:६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–६, मा रहेको ऐतिहासिक चिसापानी गढीको संरक्षण र पुनर्निर्माणका लागि तीनै तहका सरकार लागिपरेका छन् । गढीको संरक्षणका लागि स्थानीय सरकारको रुपमा भिमफेदी गाउँपालिका, प्रदेश ३ सरकार र संघीय सरकार लागिपरेका हुन् । 

तीनै तहका सरकारले गढीको संरक्षण र भत्किएका स्थानको पुनर्निर्माणका लागि ४६ लाख रुपैयाँ खर्च गर्न लागेका छन् । अहिले गढी संरक्षणका लागि काम भैरहेको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो । भत्किएर भग्नावशेष भएको भवन निर्माण गर्ने, तारजालीले संरक्षण गर्ने, यस क्षेत्र आसपास घुम्नका लागि बाटो निर्माण गर्ने, सरसफाइ गर्नेलगायतका काम भैरहेको अध्यक्ष लामाले बताउनुभयो । 

चिसापानी गढीको इतिहास निकै पुरानो रहेको छ । विक्रम सम्वत १८०१ सालमा मकवानपुरमा राज्य गरेर बसेका सेन राजाको पहलमा नजिकैका महतगाउँका बासिन्दाले गढीको निर्माण गरेको इतिहास छ । त्यसपछि विभिन्न समयमा भत्किएको गढी संरक्षणका काम भए पनि राम्रोसँग हुन सकेको थिएन । अहिले भने यसलाई तीनै तहको सरकारले संरक्षण गर्न लागिएको उहाँले बताउनुभयो । 

चिसापानी गढीको कारणले नै युद्ध गर्न आएका अङ्ग्रेजहरु यस क्षेत्रमा आउन नसकेर सिमभन्ज्याङतर्फ मोडिन बाध्य भएको इतिहास रहेको छ । यसै क्षेत्रमा रहेको बटुक भैरव मन्दिरको पनि निकै लामो इतिहास रहेको छ ।

यस मन्दिर र चिसापानी गढीमा घुम्न र हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु पछिल्लो समयमा निकै बढ्न थालेका छन् । यसको महत्व अझै बढाउने गरी काम थालिएको अध्यक्ष लामा बताउनुहुन्छ । 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया