अष्ट्रियाको आठ दिने भ्रमण सम्पन्न गरेर उपराष्ट्रपति नन्दबहादुर पुन स्वेदश फिर्ता

 जेठ १८, २०७६ शनिबार २०:१६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको आठ दिने भ्रमण सम्पन्न गरेर शनिबार अपरान्ह स्वदेश फर्कनुभएको छ । 

उपराष्ट्रपति पुन अष्ट्रियाको भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते त्यसतर्फ जानुभएको थियो । उपराष्ट्रपति पुनले भियनामा रहँदा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग भेट गर्नुका साथै दुई पक्षीय हित र पारस्परिक सहयोगका विषयमा छलफल गर्नुभएको थियो । 

भेटवार्तामा उपराष्ट्रपतिले पुनले यूरोपियन यूनियनले नेपाल वायु सेवा निगमको यूरोपियन गन्तव्यमा हुने उडानमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो । उपराष्ट्रपति पुनले जेठ १४ गते भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनको उच्चतम सत्रमा सम्बोधन गर्नुभएको थियो ।

आफ्नो सम्बोधनमा उपराष्ट्रपति पुनले जलवायु परिवर्तनको विश्वव्यापी प्रभावबाट नेपालले भोगिरहेको समस्या र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकुलनका लागि नेपालले गरिरहेको पहलका बारेमा विश्व समुदायलाई जानकारी गराउनु भएको थियो । 

साथै उपराष्ट्रपति पुनले सन् २०१८ देखि २०२८ सम्मलाई नेपालले ऊर्जा तथा जलस्रोतको दशक घोषणा गरेको र १० वर्षमा जलविद्युत र नवीकरणीय ऊर्जाबाट १५ हजार मेगावाट उर्जा उत्पादन गर्ने गरी देश विकाशको प्रक्रिया अगाडि बढाएको जानकारी गराउनु भएको थियो । 

भ्रमण दलमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत, भियनाको नेपाली राजदूतलगायत उपराष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया