जहाजको सयरभन्दा ठेलागाडाकै व्यापार फलिफाप

‘त्यतिबेला विदेश किन आएछु जस्तो लाग्यो’

 जेठ १९, २०७६ आइतबार १३:४६:३२ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डाै – ठेलागाडाको व्यापार छाडेर जहाजमा मलेसिया उड्ने बेला केशवको दिमागमा ठूल्ठूला सपना थिए । राम्रो काम, भनेजस्तै दाम, अनि स्वदेश फर्किएपछि सुखसयल र आराम । तर जहाजमा सयर गर्दा बुनेका कुनै पनि सपना पूरा भएनन् ।

विदेशबाट फर्किएर फेरि ठेलागाडा नै धकेल्न थालेपछि सन्तुष्टि मिलेको छ, गुजारा चलेको छ । धेरै कमाउने सपना बुन्दै जहाज चढेर विदेश जानुभन्दा ठेलागाडा धकेलेरै जिन्दगी कटाउन सजिलो रहेछ भन्ने केशवलाई लागेको छ ।  

२७ वर्षअघि फुपूको हात समातेर धादिङको मैदीबाट काठमाण्डौ आउँदा केशव अर्याल १३ वर्षको हुनुहुन्थ्यो । उहाँले गरिबीको कारण राम्रोसँग पढ्न पाउनुभएन । किताबको झोला आँगनमै बिसाएर उहाँ फुपूसँगै काठमाण्डौ आउनुभएको थियो । 

काठमाण्डौ आएर फुपूसँगै फलफूल बेच्ने काममा लाग्नुभयो । फुपूले कालिमाटीबाट फलफूल ल्याएर जावलाखेलमा बेच्नुहुन्थ्यो । त्यतिबेला एक किलो तरबुजा दुई रुपैयाँमा बेचेको सम्झिनुहुन्छ, केशव ।

प्रतिकिलो दुई रुपैयाँबाट तरबुजाको मूल्य बढेर ५० रुपैयाँ पुगिसक्यो । वर्षौं पहिले किनेको ठेलागाडा पनि पुरानो भइसक्यो । तर त्यही पुरानो ठेलागाडा धकेलेर उहाँले नयाँ अनुभव र सन्तुष्टि फेला पार्दै हुनुहुन्छ ।

भनेजस्तो भएन विदेशमा

वि.सं. २०६३ सालतिरको कुरा हो, साथीहरु सबै विदेश गए । केशवलाई पनि विदेश जान रहर लाग्यो । ठेलागाडा धकेलेर जिन्दगीको लक्ष्यमा पुग्न सकिँदैन भन्ने भयो ।

गाउँ गएर पासपोर्ट बनाउनुभयो । आफूसँग पैसा थिएन । साथीभाइ र आफन्तसँग पैसाको जोहो गरेपछि जाने पक्का भयो ।

गन्तव्य बन्यो मलेसिया । यताको ठेलाको व्यापार थाती राखेर केशव मलेसिया हानिनुभयो । सबै युवाहरुले सपना संगालेझैँ उहासँग पनि सपना थिए । राम्रो कमाइ गरेर आफ्नै देशमा फर्किने र कुनै राम्रो व्यवसाय गर्ने ।

उहाँ मलेसियामा इलेक्ट्रिोनिक पाटपुर्जा बनाउने कम्पनीमा काम गर्नुहुन्थ्यो । त्यहाँ उहाँले दुःख सँगसँगै केही नयाँ कुराको ज्ञान पनि बटुल्नुभयो । केशवलाई बिस्तारै इलेक्ट्रोनिक इञ्जिनियरिङबारे आधारभूत जानकारी भयो । 

तर केशवको मन मलेसियामा धेरै टिक्न सकेन । यताबाट पठाउँदा सम्झौता भए अनुसारको तलब मिलेन, काम पनि चित्तबुझ्दो थिएन । अर्को ठाउँमा काम गर्छु नि भन्दा त्यो पनि नपाइने । त्यसपछि दिक्क लागेर उहाँ दुई वर्षमै स्वदेश फर्कनुभयो ।

‘विदेशमा के के न होला जस्तो लाग्थ्यो, त्यही भएर गइयो । त्यहाँ झन् यहाँको भन्दा धेरै दुःख गर्नुपर्ने, अर्काको गाली सुन्नुपर्ने’, उहाँले पुराना दिन सम्झिँदै भन्नुभयो, ‘त्यतिबेला त विदेश किन आइयो होलाजस्तो लाग्यो ।’ 

त्यतिबेला मलेसिया जाँदा केशवले म्यानपावर कम्पनीलाई ७० हजार रुपैयाँ दिनुभएकोे थियो । २३ महिनामा कमाएको पैसा मलेसिया जाँदा लगेको ऋण तिर्नमै ठिक्क भयो । 

फर्किएर ठेलागाडाकै भर

मलेसिया जाँदा केशवले जति सपना सजाउनुभएको थियो, फर्किंँदा रित्तो हुनुभयो । ‘केही व्यवसाय गरौँ’ भने आफूसँग पैसा छैन । खाली बसेर पनि त भएन ।’ केशवको नजर आफ्नो उही पुरानो ठेलागाडामा पर्‍याे । मनमा आशाको दियो बल्यो । ‘पहिले त फलफूल मात्र बेच्थेँ, अब त बदाम पनि बेच्छु’ भन्ने सोच फुर्‍याे । 

भारतबाट काँचो बदाम ल्याउने र भुटेर बेच्ने । अनि दिनभरी आफ्नो फलफूलको ठेलागाडा चलाउने । उहाँले पहिले गरेको कामलाई केही नयाँपन दिनुभयो ।

केशव राति बदाम भुटेर बिहानसम्म खुद्रा व्यापारीलाई बेचिसक्नुहुन्छ । अनि दिनभर ठेलागाडा गुडाएर जाउलाखेल चोक पुग्नुहुन्छ । चिडियाखाना घुम्न आउने र जाउलाखेलको चौरमा खेल खेल्न आउने खेलाडी केशवका नियमित ग्राहक हुन् ।

केशव आफू मात्र ठेलागाडा चलाउनुहुन्न, श्रीमती पनि यही काम गर्नुहुन्छ । श्रीमतीको अलग्गै ठेलागाडा छ, चटपटे र पानीपुरीको । ‘एउटाको कमाइले मात्र शहरमा गुजारा चलाउन सकिँदैन नि’, केशवले मुस्कुराउँदै भन्नुभयो, ‘श्रीमतीले पनि ठेलागाडाको व्यापार गर्छु भनिन्, मैले हुन्छ भनेँ ।’

मेहनतको फल मीठो

‘कमाइ ठिकै छ, दिनको एक हजार रुपैयाँ जति बचत हुन्छ’ केशवले भन्नुभयो, ‘चार हजार जतिको बिक्री भयो भने एक, डेढ हजारजति कमाइ हुन्छ ।’ त्यसो त दिनभरीको घाम, पानी, धुवाँ र धुलो सहेर काम गर्न सजिलो कहाँ छ र ? ‘सानोमा पढ्न पाइएन, हातमा अरु सीप छैन’ उहाँले भन्नुभयो, ‘मलेसिया गएर जुन सीप सिकेको थिएँ, त्यसको नेपालमा प्रयोग नै छैन ।’

तर पनि उहाँ ठेलागाडाको व्यापारमा सन्तुष्ट हुनुहुन्छ । दुई जनाको कमाइले काठमाण्डौमा राम्रो गुजारा चलिरहेको छ । दुई छोरी स्कुल पढ्छन्, छोरा सानै छ । आफूले राम्रोसँग पढ्न नपाउँदा दुःख भोग्नुपरेकाले छोराछोरीलाई राम्रो शिक्षा दिने केशवले अठोट लिनुभएको छ । 

विदेशबाट फर्केर नेपाल आएपछि पनि उहाँको साथीहरुले फेरि विदेश जानुपर्छ भने । साथीहरु गए पनि । तर केशवलाई स–साना छोराछोरी र एक्ली श्रीमतीलाई छाडेर विदेश जान मन लागेन ।

‘विदेश भनेपछि मेरो मन भरिइसकेको थियो, जस्तो भए नि विदेश भन्दा स्वदेश नै राम्रो’, भावुक हुँदै उहाँले भन्नुभयो, ‘विदेशमा गएर चार पैसा बढी कमाउनु भनेको परिवारको माया बेचेर कमाएजस्तै त हो नि !’

अहिले परिवारसँगै  ठेलागाडाको व्यापारमै रमाउनुभएको छ, केशव । ‘जे छ चलिरहेको छ । पछिको पछि नै थाहा हुन्छ । तर केटाकेटीलाई धेरै पढाउनुछ’ उहाँले आफ्नो सन्तुष्टि र भविष्यको योजनासँगै सुनाउनुभयो ।

अन्तिम अपडेट: असोज २५, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया