नेत्रविक्रम चन्द ‘विप्लव’ आफ्नो पार्टीमा आउने नेकपा अध्यक्ष दाहालकाे दावी

 जेठ १९, २०७६ आइतबार १३:३४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द आफ्नो पार्टीमा आउने दावी गर्नुभएको छ । 

अध्यक्ष दाहालले चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट सही गन्तव्यमा पुग्न नसकिने पनि स्पष्ट पार्नुभयो । चन्द नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य एवम् पूर्वराज्यमन्त्री पदम राईलाई आइतबार काठमाण्डौ पार्टी प्रवेश गराउँदै उहाँले चन्द र अन्य समूहमा रहेका कम्युनिष्ट पार्टीहरु पनि आफ्नो पार्टीमा जोडिनुको विकल्प नरहेको दावी पनि गर्नुभयो ।

‘चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट राष्ट्र र जनतालाई दुःख र क्षति मात्रै हुन्छ ।,’ अध्यक्ष दाहालले भन्नुभयाे,‘हामी सबैले मिलेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न म सबै कम्युनिष्ट घटकहरुलाई पनि आफ्नो पार्टीमा आउन आह्वान गर्दछु ।’

अध्यक्ष दाहालले मुलुकमा समाजवादको आधार तयार पार्नेगरी सरकारले बजेट र नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसैमा समाहित भएर मात्रै पिछडिएका जनतालाई समृद्ध बनाउन सकिने पनि उल्लेख गर्नुभयो । उहाँले राईलाई पार्टीमा प्रवेश गराउँदा आफूलाई घर छाडेर हिँडेको छोरो फेरि घर फर्किएको अनुभूति भएको पनि बताउनु भयो ।

अध्यक्ष दाहालले राईलाई पार्टीभित्र उचित जिम्मेवारी दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा राईले द्वन्द्वबाट देश र जनताको हित नहुने निष्कर्षमा पुगेपछि आफू नेकपामा प्रवेश गरेको बताउनु भयो । ‘म कुनै डर, धाक, धम्कीबाट सुरक्षित हुनका लागि नेकपामा आएको होइन,’ राईले स्पष्ट पार्नुभयो, ‘देश र जनताको हितमा केही गर्न सकिन्छ भनेर नेकपामा प्रवेश गरेको हूँ ।’

राईले पार्टीभित्र आफूले देश र जनताको हितका लागि सकेको योगदान दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया