बहराइनमा चार तलाबाट खस्दा बाँचेका तिलक

 असार २०, २०७५ बुधबार १६:३९:५६ | मोहन पौडेल

काठमाडौंं –  ‘त्यो दिन मलाई अरु केही भएकै थिएन । टाउको दुखेको थिएन । रिंगटा पनि लागेको थिएन । चार तलामाथि काम गर्नुपर्ने थियो । सुरक्षाका लागि लगाउनुपर्ने सेफ्टी बेल्टसँगै सबै कुरा लगाएँ तर हुक गर्न (अड्काउन) बिर्सिएछु । काम गर्दागर्दै चिप्लिएर चार तलाबाट खसें । मेरै गल्ती भयो ।’

यही गल्तीले तिलकलाई सधैंका लागि अपाङ्ग बनाइदियो । खोटाङको सोल्माका तिलक राई २८ वर्षको पुग्नुभयो । उमेरले जवान तिलकलाई पाइला चाल्न लौरोको सहारा चाहिन्छ । बोल्न निक्कै गाह्रो पर्छ ।

 

कामगर्दा सुरक्षाका लागि बाँधिने सेफ्टी बेल्ट लगाएका तिलक त्यो बेल्ट हुक नगर्दा  (नअड्काउँदा) दुर्घटनामा पर्नुभयो । ‘लडेको देख्ने कसैले पनि बाँच्छ भनेका सोचेका थिएनन रे’ तिलकले भन्नुभयो ‘मेरो भाग्य रैछ बाँचे ।’

तिलक दुर्घटनामा परेको खबर घरमा आइपुग्यो । बुढेसकाल लागिसकेका सर्वधनलाई दुर्घटनामा परेको खबरले गलायो । दुर्घटनाको खबरसँगै परिवारको एक जना बहराइन जानुपर्ने खबर आएपछि उहाँले बुहारी गंगालाई पठाइदिनुभयो । बुहारी १० महिना बसेर श्रीमानको स्याहार गरेर गंगा घर फर्किनुभयो । 

तिलकलाई त्यसको केही समयमा कम्पनीले नेपाल पठाइदियो । तर उहाँ ठिक हुनुभएको थिएन । उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल भर्ना गरियो । चिकित्सकले उहाँलाई औषधी भन्दापनि एक्सरसाइज (व्यायाम) मा जोड दिए । त्यसले उहाँलाई बहराइनबाट फर्किंदाको भन्दा केही राहत दियो ।

तर हिँड्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो । त्यो भन्दा धेरै उपचार सम्भव नभएको भन्दै अस्पतालले व्यायाम नै गर्न सुझाव दिएर घर पठाइदियो । दह्रो ज्यान लिएर कमाउँछु भन्दै गएको छोरो उठ्न बस्नै साहरा चाहिने भएर फर्किंएको दिन सम्झिँदा सर्वधनको बोली अहिले पनि रोकिन्छ । 

केहीमहिना अघि अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणले चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारमा गएका कामदारमध्ये कार्यस्थलमा दुर्घटनाबाट ४४ जनाको ज्यान गएको देखाउँछ । तिलक पनि कार्यस्थलमै भएको दुर्घटनामा घाइते हुनुभयो । 

सर्वधनले उहाँलाई विदेश नजान आग्रह पनि गर्नुभएको थियो । तर तिलकले मान्नुभएन । विदेश नजान बुवाले गरेको आग्रह नमानेका तिलकले कामगर्दा अपनाउनुपर्ने सुरक्षामा ध्यान दिएको भए यस्तो हुने थिएन भन्ने लागिरहन्छ उहाँको परिवारलाई ।

घरमा बुवासँगै तिलककी श्रीमती गंगा राई अनि दुई जना छोराछोरी छन् । परिवारको जिम्मेवारी लिने बेला अपाङ्ग भएर बस्नु पर्दा तिलकलाई त्यति बेला काम गर्दा सुरक्षामा ध्यान दिएको भए आज यस्तो अवस्था हुने थिएन भन्ने लाग्छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया