आउनुस् हजुर विचार गराैं नेपाली किसानको अवस्था

 असार २०, २०७५ बुधबार १७:२५:२१ | जयप्रकाश प्रसाद गुप्ता
unn.prixa.net

पोहोर सालको मंसीर-पुष महिनामा पूर्वी नेपालका बजारहरूमा आम किसानले उब्जाउने धानको अधिकतम मूल्य प्रति क्वीन्टल रू. २०५० थियो, मनको  रु. ८१० ।

त्यसै बखत सीमावर्ती भारतीय बजारमा सोही धानको मूल्य प्रति क्वीन्टल रु. २४८० रहेको थियो । 

आजै भारत सरकारले यस वर्षका लागि धानको समर्थन मूल्य भारू १७५० तोकेको छ । यसको नेरू. २८०० हुन आउँछ । 

भारतमा न्यूनतम समर्थन मूल्य तोकिएपछि २५ करोड भारतीय किसानले उब्जाउने धान त्याे मूल्यमा खरिद गर्ने व्यवस्था त्यहाँको सरकारले गर्दछ ।

नेपालमा पनि सरकारले समय-समयमा यसरी नै समर्थन मूल्य तोक्ने गर्दछ । तर, सरकारले किसानको धान खरिद गर्दैन । 

बाध्यतावश किसान खुला बजारमा धान बेच्न बाध्य हुन्छन् । जहाँ गएको वर्ष प्रति क्वीन्टल मूल्य रू. २०५० थियो ।
गएको वर्ष नै भारतको बजारभन्दा नेपाली धानको मूल्य प्रति क्वीन्टल रु. ४३० कम थियो ।

यस वर्ष यदि नेपाली धानको अघिल्लै वर्षको मूल्य रह्यो भने भारतको भन्दा यहाँको धानको मूल्य एक क्वीन्टलमा रु. ७५० कम हुनेछ । 

एकजना नेपाली किसानले यदि ट्याक्टरको एक ट्रली धान सीमावर्ती भारतीय बजारमा पुर्यायो भने कम्तिमा पनि १० टन धान लोड गरिन्छ । १० टन अर्थात, १०० क्वीन्टल धान । 

यदि कुनै नेपाली किसानले १० टन धान लोड गरेर बेच्नका लागि सीमावर्ती भारतीय बजार पुर्याउँछ भने नेपालको तुलनामा उसले नेरू.७५००० बढी पाउँछ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली संसदमा भनेका थिए – ‘पहाडले पानी र जवानीलाई रोक्न सक्दैन । त्यो तल झर्छ झर्छ ।’
 
यो बडो महत्वको प्रतिकात्मक अभिव्यक्ति थियो । भारतका सीमावर्ती नेपाली क्षेत्रका कृषि उपजमा यो हुबहु लागू हुन्छ । 

नेपाल सरकारले धानको भारत निकासीलाई जतिनै रोक्न खोजेपनि बढी मूल्यको किसान चाहनालाई रोक्न सकिन्न् । नेपालका शसस्र प्रहरीले रू. २०००/- घूस लिएर ट्याक्टर जान दिन्छ । यो उस्को राजधर्म हो । गर्छ गर्छ । भारतीय एसएसबीले कुनै रोक टोक गर्दैन । 

यौटा ट्याक्टरको भाडा बढीमा प्रतिदिन रु. ४००० पर्छ । 

यसरी कूल खर्च रु. ६-७००० पर्न जान्छ । एक ट्याक्टर धान सीमावर्ती भारतीय बजारमा पुर्याइँदा किसानलाई खर्च कटाई औसतमा रु. ६८००० बचत वा नाफा हुन्छ । 

बढी लागत र कम नाफामा धान बेच्नका लागि बाध्य किसानको लागि यो ठूलो बचत हो । नाफा हो । यो विषय फगतको गफाडी राष्ट्रियताको गँजेडी गफ भन्दा बढी महत्वपूर्ण छ, किसानका लागि ।

तराईका पर्वते किसान हुन् वा मधेसी सबै यसमा सहमत हुन्छन् । यो सीमावर्ती नेपाली किसानको अर्थशास्त्र हो । 

भर्खरै गएको असार १५ का दिन नेपालमा धान दिवस मनाईयो, रमाईलो भयो । तर, नेपाली कृषि उपजको यस अवस्था र किसानको यस पीडामा कुनै छलफल भएन ।
सिंहदरबारका हुन् वा बिराटनगर अथवा जनकपुरका सरकार हुन् यस विषयमा कुनै सोच बनाएको देखिन्न । 

बर्सेनि भारतबाट चामल आयात गर्न हामी बाध्य छौं । औपचारिक वा अनौपचारिक दुवै तरहबाट । 

नेपालबाट भारततर्फ धान जान दिनु हुँँदैन भन्ने कुरा मागको रूपमा उठिरहेको हुन्छ । यस्ता माग गर्नेहरूलाई कृषि बजारको दारूण अवस्था र कृषि अर्थतन्त्रको बारेमा कुनै ज्ञान छैन भन्दा अन्यथा नहोला । 

मैले माथि उल्लेख गरेको अवस्था विद्यमान रहेसम्म नेपालमा जति नै बढी धानको उपज भएपनि नेपाल धानमा आत्मनिर्भर हुन सक्दैन । सार्थक विचार हुनु जरूरी छ ।

गुप्ताको फेसबुक पेजबाट

अन्तिम अपडेट: बैशाख ६, २०८१

जयप्रकाश प्रसाद गुप्ता

तपाईको प्रतिक्रिया